बजार संक्षेप

अन्नपूर्ण आधारशिविरका होटलमा आन्तरिक पाहुनालाई ४० प्रतिशत छुट

  नागरिक   2021-10-03

कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुने संकेत देखिएको छ । कोरोना संक्रमणको त्रासले उत्तिसारो विदेशी पाहुना आउन नसकेपनि स्वदेशीका कारण अहिले पर्यटकीय गन्तव्यमा केही चहलपहल सुरु भएको छ ।

पाहुनाविहीन अवस्थामा लामो समय ढोका लगाएर बसेका स्थानीय व्यवसायी आन्तरिक पाहुना पाउँदा केही हौसिएका पनि छन । पाहुना आकर्षण गर्न ४० प्रतिशतसम्म छुट पनि व्यवसायीले दिएका छन् । पछिल्लो समय अन्नपूर्ण आधारशिविर ९एबिसी० पदमार्गमा आन्तरिक पाहुनाको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । आधारशिविरसम्मै पाहुना पुगेपछि त्यहाँ संचालनमा रहेका सबै होटल खुलेका छन ।

त्यस्तै पदमार्गमा पर्ने माछापुच्छे« आधारशिविर ९एमबिसी०, हिमालयन, देउराली, ब्याम्बो, छोमरोङ लगायतका गन्तव्यका होटल पनि पहिलेकै आकारमा खुलेका छन् । असोज एकदेखि एबिसी पदमार्गका होटल खुलेका थिए । अहिले दिनमा १०–१५ जनाको दरले आन्तरिक पाहुना एबिसीसम्म उक्लिरहेको स्थानीयको भनाई छ ।

छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार स्थानीय पाहुना आउन थालेपछि लामो समय सुस्ताएको पर्यटन क्षेत्रले फेरि आशाको संकेत पलाएको बताए । उनका अनुसार पाहुना आउन थालेपछि एबिसीसम्मको पदमार्ग सरसफाई गरिएको छ । लामो समय हिडडुल नहुँदा र वर्षाको भेलले बिगारेको सडक स्थानीयले मर्मत गरेका छन् । सडक दायाँबायाँको झाडि फ्याकेर सफा पारिएको छ ।

गुरुङका अनुसार अन्नपूर्ण गेष्ट हाउस, अन्नपूर्ण सेन्चुरी, स्नोल्याण्ड र प्याराडाइज गार्डेन गरि चारवटा होटल एबिसीमा छन । त्यहाँ एकरातमा झन्डै २५० जना पाहुना अट्छन् । त्यस्तै फिस्टेल र शंकर गेष्टहाउस, गुरुङ को–अपरेटिभ, माछापुच्छ्रे गेष्टहाउस र गंगापूर्ण भ्यू गरि पाँचवटा होटल एमबिसीमा संचालित छन् । एमबिसीमा पनि एकरातमा झन्डै २५० जना पाहुना अट्छन् । ‘सामान्य अवस्थामा यो बेला निकै नै व्यस्त हुने सिजन हो । तर अहिले सोचेजति नभएपनि आन्तरिक पाहुनाको आगमन बढ्न थालेको छ ।

चाँडबाँड सुरु भएकोले अबका केही दिनपछि आन्तरिक पाहुना थप आउनेमा आशावादी छौं,’उनले भने, ‘आन्तरिक पाहुनाको अग्रिम बुकिङ पनि आएको छ । तिहारसम्मको समयका लागि आन्तरिक पाहुनाले अग्रिम बुकिङ गरेका छन् ।’ स्थानीय व्यवसायीका अनुसार कोरोना अघि यो सिजनमा स्वदेशी र विदेशी गरि दिनमा झन्डै ३ सयको हाराहारीमा पाहुना एबिसी उक्लिन्थे । अहिले त्यसको सानो अंश मात्र आउन थालेको उनीहरुको भनाई छ ।

सानो आकारमा विदेशी पाहुनाको पनि सोधपुछ रहेको उनले सुनाए । ‘यो बेला हामीलाई आराम गर्ने फुर्सद हुँदैनथ्यो । किनभने पदमार्गमा विदेशी र स्वदेशी पाहुनाका कारण हामीलाई सेवा दिँदैमा भ्याई नभ्याई हुन्थ्यो,’ उनले भने, ‘तर, कोरोनाले गर्दा झन्डै डेढवर्षदेखि पदमार्ग सुनसान छ । पोहोर केही समय खुलेपनि पछि पुनः सुनसान बन्यो ।’ लामो समयदेखि पाहुनाविहीन अवस्थामा ढोका थुनेका व्यवसायी आन्तरिक पाहुनालाई स्वागत गर्न पाउँदा हौसिएको उनलेब बताए । पदमार्गको छोमरोङदेखि एबिसीसम्म झन्डै ६५ होटल रहेका छन् । पदमार्गका स्थानीय व्यवसायीले आन्तरिक पाहुनालाई आकर्षण गर्न केही सस्तोमा प्याकेज पनि ल्याएका छन् ।

कोरोना अघिको सामान्य अवस्थाको भन्दा झन्डै ४० प्रतिशत सस्तो पर्नेगरि प्याकेज ल्याएको पनि उनले बताए । उनका अनुसार आन्तरिक पाहुना लक्षित गरेर छोमरोङदेखि एबिसीसम्मको चारवटा प्याकेज बनाइएको छ । पदमार्गको पर्ने छोमरोङमा प्रतिव्यक्ति ११ सय, बाम्बो र दोभानमा १४ सय, हिमालय–देउरालीमा १५ सय र एमबिसी–एबिसीमा १७ सय रुपैयाँको प्याकेज आन्तरिक पाहुनाका लागि तोकिएको छ । यो प्याकेजमा बिहानको नास्ता, बेलुकीको खाना र कोठाको मूल्य समावेश गरिएको छ । त्यसबाहेक वाईफाई, तातोपानी पनि निःशुल्क पाउनेछन् । अरुबेला यो शुल्क २५ सय रुपैयाँ हाराहारीमा पर्दथ्यो । ‘आन्तरिक पाहुनालाई एबिसीसम्म उकाल्न सकियो भने सबै व्यवसायीलाई लाभ पुग्छ भनेर छुट सहितको प्याकेज ल्याएका हौ ।

आन्तरिक पाहुना थप आकर्षित गर्न सकिने अपेक्षा छ,’ उनले भने । त्यसबाहेक व्यवसायीले बढी मूल्य असुल्न नपाउन भनेर ठाउँ अनुसार बिहानको खानाको मूल्य पनि तोकिएको छ । एबिसीमा होटल संचालन गरिरहेका जेबी गुरुङ पनि आन्तरिक पाहुना आउन थालेको भन्दै हौसिएको बताउँछन् । एबिसीमा अन्नपूर्ण सेन्चुरी होटल चलाएका उनले कोरोनाको पहिलो लहर कमजोर भएको बेला आन्तरिक पाहुना आएपनि दोश्रो पछि रोकिएकोमा अब आउनेमा आशावादी भएको बताए । ‘असोज १ देखि होटल खुलेका छन् ।

आन्तरिक पाहुना केही आकारमा आउन थाले, यसले हामीलाई हौसला मिलेको छ,’ उनले भने, ‘लामो समय बन्द रहेको व्यवसाय पहिलेकै आकारमा फर्किनेमा आशावादी छौं ।’ छोमरोङ पर्यटन व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहेका अर्का व्यवसायी जगनराज गुरुङ पनि पदमार्ग क्षेत्र थोरै भएपनि चलायमान बनेको बताउँछन् । पाहुना आउने आशमा आधारशिविरसम्मको पदमार्ग मर्मत र सरसफाई गरेको पनि उनले बताए । ‘धेरथोर पाहुना आउन थालेका छन् । अब बिदा पर्ने हुँदा अझै आन्तरिक पाहुना आउने सम्भावना छ,’ उनले भने, ‘त्यही अनुसार तयारी पनि गरेका छौ ।’ उनले यो पटक भने पाहुना ढुक्क भएर आउने देखेका छन् । कोरोना विरुद्धको खोप पाहुना र व्यवसायी सबैले लगाएकोले पनि पाहुना आउनेमा आफूहरु आशावादी भएको उनले सुनाए ।

यसमा तपाईको मत