बजार संक्षेप

भ्रमण वर्ष सचिवालय र टर्किस एयरलाइन्सबीच सम्झौता

  नागरिक   2019-12-22

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० सचिवालयले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्दन गर्न टर्किस एयरलाइन्सँग सहकार्य गरेको छ । नेपालमा युरोपलगायत मुलुकबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सचिवालयले अन्तर्राष्ट्रिय हवाई ‘कनेक्सन’मा ठूलो योगदान गर्दै आएको टर्किस एयरलाइन्ससँग सम्झौता गरेको हो ।
शुक्रबार सम्पन्न उक्त सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयरलाइन्सका देशीय निर्देशक अब्दुल्हा टंसर केसेसीले आठबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा संयोजक वैद्यले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि हवाई सम्पर्क सञ्जालको ठूलो भूमिका हुने बताउँदै नेपाल उडान केही महँगो भए पनि टर्किस एयरलाइन्सले निरन्तर हवाई उडान गरेर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिरहेको उल्लेख गरे ।
उनले नेपालमा पर्यटकीय पूर्वाधारका रूपमा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र नयाँ अन्तराष्ट्रिय विमानस्थल पनि तीव्र गतिमा निर्माण भइरहेकाले नेपाल उडान गर्ने वायुसेवा प्रदायक कम्पनीलाई अझ सहज हुने विश्वास व्यक्त गरे ।
एयरलाइन्सका देशीय निर्देशक केसेसीले आफ्नो कम्पनीले निरन्तर हवाई सेवासँगै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको बताए । उनले आगामी दिनमा पर्यटन क्षेत्रमा सहयोग गर्न आफ्ना अन्य गन्तव्यमार्फत पनि प्रचारप्रसार गर्ने जानकारी समेत दिए । 
सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रूपमा टर्किस एयरलाइन्स रहने तथा संयुक्त अधिराज्य (बेलायत), युरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गरिनेछ । त्यसैगरी, अमेरिका तथा युरोपका देशहरुमा हुने ट्राभल्स एन्ड टुर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्त रूपमा प्रचार प्रसार गर्ने, विदेशी पत्रकारलाई नेपाल भ्रमण वर्षको समाचार संकलन गर्न आउने निश्चित पत्रकारका लागि हवाई भाडा बेहोरिदिने जस्ता सम्झौता भएका छन् ।

यसमा तपाईको मत