बजार संक्षेप

अस्ट्रेलियासँग हवाई सम्झौता

  नागरिक   2019-10-02

काठमाडौं– नेपालले अस्ट्रेलियासँग सिधा हवाई उडानसम्बन्धी सम्झौता गरेको छ । योसँगै नेपालले हवाई उडान सम्झौता गरेका मुलुकको संख्या ४० पुगेको छ ।
उक्त सम्झौता अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा भएको हो । मन्ट्रियल क्यानडाली सहर हो । दुई देशबीचको सम्झौताबाट नेपाली जहाजले अस्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका छन् । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं सूचना अधिकारी सुरेश आचार्यले मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा समझदारीपत्रमा आफू र अस्ट्रेलियन संघीय पूर्वाधार, यातायात, सहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेको आचार्यले उल्लेख गरेका छन् ।
‘आइकाओको प्रधान कार्यालय मन्ट्रियलमा मंगलबार नेपाल र अस्ट्रेलिया  सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सम्झौता अनुसार दुवै पक्षका वायुसेवा कम्पनीले जुनसुकै प्रकारको वायुयानबाट हप्तामा सात उडान भर्न सक्नेछन् ।
नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न पाउनेछन्  भने अन्य विमानस्थलमा असीमित उडान गर्न सक्ने समझदारी भएको हो । 
अस्ट्रेलियन एयरलाइन्सले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात उडान गर्न पाउने जनाइएको छ भने पोखरा, भैरहवालगायत अन्य विमानस्थलमा सातामा २८ उडान गर्न सक्नेछन् । 
दुईपक्षीय समझदारीअनुसार दुई मुलुकका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने जनाइएको छ । 
विज्ञप्ति अनुसार दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई बिन्दु उपयोग गर्दै मध्यवर्ती बिन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने छन् । 
शनिबार मात्रै नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग हवाई सम्झौता गरेको थियो । 
 

यसमा तपाईको मत