बजार संक्षेप

पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना गरिने

    2019-07-04

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्शले आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाण्डौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । 
चुलिँदै गइरहेको व्यापार घाटा न्युनिकरण गर्दै आर्थिक कृयाकलापलाई तिब्र गतिमा चलायमान बनाउन निजी क्षेत्रको सक्रियता महत्वपुर्ण हुनेमा दुई मत छैन । यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्तिकरणबाट मात्र सम्भव हुने मुलमन्त्र सहित पाँचौ संस्करणको मेला आयोजना गर्न लागिएको हो । 
नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिने एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताउनु भयो । ″झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।” श्रेष्ठले पत्रकार सम्मेलनमा भन्नु भयो ।
″निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य हो । पछिल्ला चार पटकसम्मको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।” चेम्बर अफ कमर्शका मेला समिति संयोजक राष्ट्र भूषण चाकुबजीले भन्नु भयो ।  

यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

विगत वर्षका मेलामा जस्तै यो मेलामा पनि विभिन्न मुलुकहरुबाट उद्योगी व्यवसायी तथा तिनका छाता संगठनहरुले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । 

″यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन् । मेला को व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ ।” मेलाको व्यवस्थापक इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भन्नु भयो ।

मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार,कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रहरु मा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।


 

यसमा तपाईको मत