घरेलु उपकरण विशेष

२०२० मा घरेलु उपकरणका नयाँ ट्रेन्डहरू !

  नागरिक   2020-08-02

प्रविधि र विज्ञानको मंचमा थोरै समयको अन्तरालमा पनि ठूला र महत्वपूर्ण आविष्कारहरु हुने गर्छन् । यी आविष्कारहरु विभिन्न कम्पनीहरुको मार्फत - तिनीहरुको कुनै न कुनै उत्पादनमा समावेश भएर उपभोक्तासम्म आइपुग्छ र उपभोक्ताको जीवन शैलीमा र उपकरणको प्रयोग विधिमा उल्लेखनीय परिवर्तन ल्याउछ । २०२० मा पनि घरेलु उपकरणको जगतमा थुप्रै नयाँ ट्रेन्डहरु आएका छन् जसको बारेमा तल जानकारी दिईएको छ:


IoT जडित उपकरणको प्रयोग

IoT अर्थात् इन्टरनेट अफ थिन्ग्स भन्नाले विधुतीय उपकरणको संजाललाई बुझिन्छ जुन इन्टरनेटमा जडित हुन्छन् र निरन्तर यसमा भएका सेन्सर, हार्डवेयर र सफ्टवेयरको सहायताबाट डाटालाई आदानप्रदान गर्छन । २०१६ मा विश्व बजारमा मान्यता पाएको यस प्रविधिको प्रयोग २०१७ मा मात्रै ३१% ले बढेको थियो। २०२५ सम्ममा ३४ अर्बभन्दा बढी IoT जडित उपकरणहरु बजारमा आइसक्ने कुरामा विशेषज्ञहरु विश्वास गर्छन। IoT जडित उपकरणलाई सजिलै आफ्नै स्मार्टफोनको सहायताबाट नियन्त्रण गर्न र प्रयोग गर्न सकिन्छ । यिनीहरु निरन्तर इन्टरनेटमा जडित हुने भएकाले प्रयोगकर्ता घर मै नभए पनि इन्टरनेटको माध्यमबाट यस्ता उपकरणहरुलाई प्रयोग गर्न सक्छन । गूगल होम, अमेजनको इको, माइक्रोसफ्टको कोर्टाना भएको असिस्टेन्टहरुको प्रयोग अहिले बढिरहेको छ र २०२० मा यो एक सामान्य ट्रेन्ड हुने विश्वास गरिन्छ ।

स्मार्ट ढंगमा निगरानी गर्न मिल्ने उपकरणको विकास

उपभोक्ताहरुको सहजताको लागि एक आपसमा जोडिएको र सजिलै निगरानी गर्न र प्रयोग गर्न मिल्ने उपकरणहरु बजारमा आएका छन् । यस्ता उपकरणहरुबाट तपाईले विभिन्न कामहरुको एक अनुसूची बनाएर, त्यो अनुसूचीलाई तोकिएको समय अनुसार चल्न मिल्ने बनाउन मिल्छ । जस्तै बिहान ठीक चिया कफी खाने समयमा क्युरिगको के-कपले स्वतः पानी तातो बनाएर राखिदिन्छ । यस लगायत, कुनै पनि घरको उपकरणमा केही खराबी आएमा गूगलको नेस्टले प्रयोगकर्तालाई सूचना दिन्छ र फ्रिज वा अन्य उपकरण अनावश्यक चलिरहेको छ भने पनि बन्द गरिदिन्छ । यस प्रविधिको प्रयोगबाट घरको ए.सी. लाई स्वतः तातो कि चिसो बनाउन पनि सकिन्छ । यी सबै कुराहरु मोबाइल फोनको एपबाट कि त सीधै आवाजबाट सुचारु गर्न, बन्द गर्न र निगरानी गर्न मिल्छ । २०२० भित्र मै यस ट्रेन्डले व्यापक ख्याती पाउनु निश्चित छ ।  

 

स्टेनलेस् स्टिलबाट बनेका र दाग नलाग्ने फिनिसिङ भएको उपकरणहरु

आजभोलि उपकरण निर्माण कम्पनीहरुले आफ्नो उत्पादनमा दाग नलाग्ने फिनिसिङ समावेश गर्न लागेका छन् । यस्तो फिनिसिङलाई म्याट फिनिस पनि भनिन्छ । यस्तो फिनिसिङ गरिएको सतहमा चाडै दाग लाग्दैन र लागिसकेको हल्का दाग पनि सजिलै मेटिन्छ । यिनीहरुमा औलाका छापहरु पनि लाग्दैन । यदि औलाका छापहरु लागेको खण्डमा पनि भिजेको कपडाको सहायताबाट मेटाउन सकिन्छ, विशेष किसिमको क्लिनरको प्रयोग गरिरहनु जरुरी छैन । यस्ता उपकरणहरु धेरै समयसम्म सफाई बिना पनि राम्रा देखिन्छन्, जसले गर्दा उपकरणहरु सफा गर्न कै लागि भनेर पैसा र समय छुट्टाइरहनु पर्दैन । एल. जी., वर्लपूल र सामसुंगले बजारमा यस्ता दाग नलाग्ने उपकरणहरु उपलब्ध गराउदै आएका छन् र यसैको देखासिखी गर्दै भए पनि अब २०२०का नयाँ उपकरणहरु यस्तै दाग नलाग्ने किसिमका हुनेछन्।

यस लगायत स्टेनलेस् स्टिलबाट बनेका उपकरणहरु पनि धेरै प्रयोगमा आउन थालेका छन् । उपकरण उत्पादकले स्टेनलेस् स्टिल प्रयोग गरेर उपकरणहरुलाई आकर्षक बनाउन तिर लागेका छन् । प्रचलनमा आएको स्टेनलेस् स्टिलमा फिक्का रङ्ग कि त कालो रङ्गको प्रयोग गरिएको हुन्छ। स्टेनलेस् स्टिलका उपकरणहरु प्लास्टिकका उपकरणभन्दा टिकाउ पनि हुन्छन।  यस्ता उपकरणहरु मिनिमल डिजाइनको ट्रेन्डसंगै प्रचलनमा आएका हुन् । एल. जी., वर्लपूल र सामसुंगले बजारमा स्टेनलेस् स्टिलका उपकरणहरु उपलब्ध गराउंदै आएका छन् ।

मिनिमल डिजाइनको प्रयोगमा वृद्धि

मिनिमल डिजाइन अर्थात् अनावश्यक चमक र तडकभडक डिजाइन नभएका उपकरणको प्रयोगमा वृद्धि आएको छ । मानिसहरु भान्सा कोठा, बैठक कोठा र बाथरूमलाई मोर्डन बनाउन र यसमा नयाँ नयाँ फिचर थप्नलाई लाखौमा खर्च गर्छन् तर थप फिचर थपेर घर बेढंगको नहोस् भन्ने चाहन्छन् । घर हेर्दामा साधारण तर भित्रबाट चाँही फिचरयुक्त घर सबैको चाहना भईसकेको छ । यहि ट्रेन्डलाई पछ्याउदै उपकरण उत्पादकहरुले पनि मिनिमल डिजाइन भएको उपकरणहरु बजारमा ल्याएका छन् ।  यस्तो मिनिमल डिजाइन पाउनका लागि उपकरणहरुमा मधुरो रङ्ग लगाइएको र चमक नहुने म्याट फिनिसको प्रयोग गरिएको हुन्छ । फिक्का रङ्ग प्रयोग भएको, सानो साइज भएको, म्याट फिनिसभएको र स्टेनलेस् स्टिल प्रयोग गरिएको उपकरणबाट घरमा मिनिमल डिजाइन उपलब्ध गर्न सकिन्छ ।

समय बचत गर्ने फिचरहरु

मानिसहरु सधैभन्दा धेरै व्यस्त हुदैं गएका छन् र थोरै समय बचाउन पनि मानिसहरुका लागि अति महत्वपूर्ण हुदैं गएको छ । नयाँ उपकरणहरुमा यस्तै समय बचत गर्नका लागि विविध फिचरहरु आउन थालेका छन् । उदाहरणका लागि: वर्लपूलको स्मार्ट अल-इन्-वन वासर र ड्राएरले कपडा धुनुका साथै यसलाई तु: मेसिन भित्रै सुकाईदिन्छ र यो सबै यस कै स्मार्टफोनको एपबाट नियन्त्रण गर्न मिल्छ । यसले कपडा धुने मात्र नभई कपडा सुकाउने झन्झटबाट पनि टाढा राख्छ र धेरै समय बचत गर्छ । यस्तै गरेर, झन् चाडै खाना पकाउन सक्ने इन्डक्सन चुल्होहरु बजारमा आउन थालेको छ । अब २०२०मा यस्तै घरेलु कामहरु चाडो, थोरै समयमा गर्ने उपकरणहरुको प्रयोग बढ्दै जानेछन् जसले मानिसहरुको धेरै समय बचत हुनेछ ।

 

यसमा तपाईको मत