बजार संक्षेप

१७औं हस्तकला मेला सम्पन्न

  नागरिक   2019-12-04

काठमाडौं– नेपाल हस्तकला महासंघले आयोजना गरेको १७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्यभिलियन, उत्कृष्ट स्टल र उत्कृष्ट वस्तु उत्पादकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेलाको अवसरमा आयोजना गरिएको दुई विधाका प्रतियोगिता अन्तर्गत विजयी कलाकारलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पुरस्कृत गरेका छन् । 
परम्परागत विधा अन्तर्गत तामा तथा पित्तलका भाँडाकुडा बनाउनेमा प्रकाश ताम्राकारले पहिलो हुँदै ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विशाल ताम्राकारले दोस्रो भएर नगद ३० हजार रुपैयाँ पाए । त्यस्तै, चन्द्रबहादुर ताम्राकारले तेस्रो भएर नगद २० हजार पाएको महासंघले जनाएको छ ।
त्यस्तै, समसामयिक विधाअन्तर्गत फरक क्षमता भएका बीचको चित्रकला प्रतियोगिताका उत्कृष्ट कलाकारलाई पनि पुरस्कृत गरिएको छ । 
उक्त विधाका पहिलो राघब पोख्रेलले नगद ५० हजार, दोस्रो लक्ष्मीभक्त भासिमाले ३० हजार र तेस्रो रश्मी आमात्यले २० हजार रुपैयाँ पुरस्कार पाएका छन् । 
अन्य पुरस्कृतमा उत्कृष्ट प्याभिलियनतर्फ फेयर ट्रेड समूह नेपालले एक लाख, उत्कृष्ट स्टलतर्फ नेपाल हस्तकला उत्पादक संघ काठमाडौंले २५ हजार पुरस्कार पाएको महासंघले जनाएको छ । 
उत्कृष्ट वस्तु उत्पादनतर्फ पनि पहिलो, दोस्रो र तेस्रोलाई नगदसहित पुरस्कृत गरिएको छ । 
पहिलो हुने आरबी ह्यान्डस् क्राफ्टका रामजी सुनारले २० हजार र दोस्रो नेपाली डी कलेक्सनका मीनु बज्राचार्यले १५ हजार पाए । यो पुरस्कार कल्पना क्राफ्टले प्रायोजन गरेको थियो । 
तेस्रो पुरस्कारस्वरुप अल्लो लेडी ब्याग उत्पादक रितु सौगातले १० हजार रुपैयाँ पायो । प्रतियोगितामा दुवै विधाका गरी ३१ जना सहभागी भएका थिए।  

यसमा तपाईको मत