ग्याजेट विशेष

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

  नागरिक   2019-10-17

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ । यहि वर्षको डिसेम्बर १६ बाट विन्डोज फोन प्रयोगकर्ताले एप्स स्टोरबाट कुनै पनि एप डाउनलोड गर्न र अपडेट गर्न सक्ने छैनन् । विन्डोज मोबाइल १० का प्रयोगकर्ताले भने अझै केही समयसम्म स्टोरबाट एपहरू डाउनलोड गर्न सक्नेछन् । यदी तपाईं अझै पनि विन्डोज फोन ८.१ प्रयोग गर्दै हुनुहुन्छ भने नि:शुल्क विन्डोज मोबाइल १० मा अपडेट गर्न सक्नु हुनेछ ।

माइक्रोसफ्टका अनुसार हालै प्रयोगमा आएका कुनै पनि विन्डोज फोन / विन्डोज मोबाइलले सन् २०१९ डिसेम्बर १० पछि कुनै पनि किसिमको सफ्टवेयर सपोर्ट पाउनेछैन । विन्डोज टेन मोबाइलका लागि माइक्रोसफ्टले सन् २०१७ को अक्टोबरमा भर्सन १७०९ रिलिज गरेको थियो जुन नै फिचर अपडेटमा आधारमा विन्डोज मोबाइलका लागि अन्तिम अपडेट थियो ।

यसबाट कुनै पनि समयमा रिलिज भएका पुराना र नयाँ विन्डोज मोबाइल १० र विन्डोज फोन ८.१ चलेका स्मार्टफोनहरु प्रभावित हुनेछन् । यससंगै माइक्रोसफ्टले विन्डोज फोन अथवा विन्डोज प्रयोगकर्तालाई यो वर्षको अन्तिम भित्रमा iOS वा एन्ड्रोइड स्मार्टफोनमा “स्विच” गर्न आग्रह गरेको छ ।

नेपाली बजारमा विन्डोज फोनलाई मुख्यतः “लुमिया” भनेर चिनिने गर्दछ । तपाईं पनि नोकिया लुमिया वा माइक्रोसफ्ट लुमियाको प्रयोगकर्ता हो भने एन्ड्रोइड वा आइफोनमा स्विच गर्ने बेला आएको छ ।

विन्डोज फोनलाई लन्च हुने बेलामा आइफोन र एन्ड्रोइडको प्रतिस्पर्धी मानिएको थियो । फिनल्याण्डको निकै प्रचलित कम्पनी नोकियाले विन्डोज फोन मात्र रिलिज गर्ने भएपछि विन्डोज फोनको चर्चा बढ्दै गएको थियो । तर विन्डोज फोन र लुमियाले बजारमा सोचे जस्तो ख्याती कमाउन सकेन । जसको मुख्य कारण थियो विन्डोज फोनमा भएको एप ग्याप अर्थात् एन्ड्रोइड र आइफोनमा उपलब्ध भएका अधिकांस एपहरु विन्डोज फोनमा उपलब्ध थिएन । माइक्रोसफ्टको उच्च पहल पछि पनि विन्डोज फोन र पछि नाम परिवर्तन गरि विन्डोज मोबाइल १० ले बजार लिन सकेन र अन्ततः माइक्रोसफ्टको विन्डोज फोनको अन्त्य हुने निश्चित भयो ।

 

यसमा तपाईको मत