ग्याजेट विशेष

विन्डोज १० को नयाँ अपडेट - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

  नागरिक   2019-11-14

माइक्रोसफ्टले हरेक ६-६ महिनाको अन्तरालमा विन्डोज १० को नयाँ संस्करण रिलिज गर्दै आएको छ । अघिल्लो अपडेट आएको ६ महिना बितिसकेको छ र अब पालो नयाँ अपडेटको रहेको छ । यस अपडेटलाई माइक्रोसफ्टले विन्डोज १० नोभेम्बर अपडेट नाम दिएको छ ।

विन्डोज १० नोभेम्बर अपडेट अर्थात् विन्डोज १० १९०९ संस्करण आजको मितिबाट सबै विन्डोज १० प्रयोगकर्तालाई डाउनलोडका लागि उपलब्ध हुनेछ । यस अपडेटमा पुरानो अपडेटहरूमा जस्तो धेरै फिचरहरू थपिएको छैन । माइक्रोसफ्टका अनुसार यो अपडेटले ल्यापटपहरूको ब्याट्री लाइफ बढाउने छ भने सबै कम्प्युटरहरूको परफरमेन्स पनि बढाउने छ । यस लगायत स-साना दुईचारवटा फिचरहरू पनि थपिएको छ र केही परिवर्तन पनि आएको छ जसको बारेमा यस लेखमा चर्चा गरिएको छ ।

सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

यो नयाँ अपडेटबाट केही ल्यापटपको मोडलहरूको ब्याट्री लाइफमा सुधार आउने कुराको जानकारी माइक्रोसफ्टले दिएको छ । यसै गरेर नयाँ सेड्युलिंग अल्गोरिदमको सहयोगबाट लगभग सबै कम्प्युटरहरूमा स्पिडमा सुधार आउनेछ । कुन कुन प्रोसेसर भएका ल्यापटपहरूमा ब्याट्री लाइफको सुधार आउने हो भन्ने कुराको पूर्ण जानकारी भने माइक्रोसफ्टले प्रदान गरेको छैन ।

सुधारिएको फाइल एक्सप्लोरर सर्च

अब फाइल एक्सप्लोररमा सर्च गर्दा गर्दै पनि ड्रप डाउन मेनुबाट रिजल्टहरू हेर्न मिल्ने भएको छ । स्टार्ट मेनुमा हुने सर्चलाई नै माइक्रोसफ्टले यस स्थानमा ल्याएर जडान गरेको हो जसले गर्दा अब फाइल एक्सप्लोररबाट नै वनड्राइभमा हुने फाइलहरू सर्च गरेर हेर्न मिल्ने भएको छ ।

नोटिफिकेसनमा सुधार

अब प्रयोगकर्ताहरूले विन्डोज १० को नोटिफिकेसनलाई धेरै हदसम्म व्यवस्थापन गर्न सक्ने भएका छन् । नोटिफिकेसनको ब्यानर देखाउने कि नदेखाउने, उक्त नोटिफिकेसनलाई एक्सन सेन्टरमा देखाउने कि नदेखाउने आदि जस्ता कुराहरूलाई प्रत्येक एपको आधारमा मिलाउने सकिने भएको छ । Settings > System > Notifications & Actions pane मा गएर प्रयोगकर्ताले यो सेटिंग परिवर्तन गर्न पाउनेछन् ।

अपडेट कसरी गर्ने ?

अपडेट गर्नका लागि Settings > Update & Security > Windows Update मा जानुपर्ने हुन्छ । Windows Update मा भएको “Check For Updates” मा क्लिक गरेर अपडेटलाई डाउनलोड र इन्स्टल गर्न सकिनेछ । यो अपडेटको साइज निकै सानो छ भने इन्स्टल हुन पनि १० मिनट जति मात्र लाग्छ ।

यदि तपाईं निकै पुरानो विन्डोज १० को संस्करण प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको लागि यो अपडेटको साइज ठूलो हुनेछ र इन्स्टल हुन ३० मिनट वा बढी पनि लाग्न सक्छ ।

 

यसमा तपाईको मत