बजार संक्षेप

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

    2019-08-23

करुण ढकाल
काठमाडौं-पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । लगानीकर्तामा आत्मविश्वास नहुँदा बजारमा यस्तो अवस्था देखिएको विश्लेषण गरिएको छ । सेयर खरिद गर्न चाहनेले बजार अझै तल झर्ने हो कि भन्ने त्रासका कारण लगानी गर्न सकेका छैनन् । अर्कातिर बेच्न चाहनेले पनि बजार फर्किने पो हो कि भन्ने आशंकाले बेच्न पनि सकिरहेका छैनन् । यसै कारण बजार यो साताभरि नै गतिहीन बन्न पुग्यो र नेप्से एउटै विन्दु आसपास रह्यो । यति बेला लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमा देखिएका छन् । यसले गर्दा कारोबार रकम पनि उत्साहजनक देखिएको छैन ।
साताको अन्तिम दिन बिहीबार पनि बजारमा उल्लेखनीय परिवर्तन देखिएन । यस दिन बजार झिनो अंकले ओरालो लागी बन्द भयो । मध्याह्नतिर केही गतिशील देखिए पनि अन्तिममा बजार ०.९९ अंकले ओरालो लागी १२१३.०६ अंकमा बन्द भयो । १२१४.०५ मा खुलेको बजार दिउँसो १ बजेतिर १२२०.७२ मा पुगेको थियो । त्यसपछि भने नेप्से ओरालो लागेको थियो, जुन बजार बन्द हुने बेलासम्म जारी रह्यो । यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने हरियो देखिएको छ । यो इन्डेक्स ०.२९ अंकले उकालो लागी २६३.७ अंकमा पुगेको छ ।
निर्जीवन बिमा समूहमा उच्च गिरावट
यस दिन कारोबार भएका १२ वटा समूहमध्ये अधिकांशको सूचक ओरालो लागेको छ । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा बढी ओरालो लागेको छ । यो समूहको सूचक ०.८७ प्रतिशत (४२.०१ अंक) ले ओरालो लागी ४७५९.१७ मा आइपुगेको छ । यसैगरी विकास बैंक समूह ५.१६, उत्पादनमूलक समूह ५.११, व्यापार समूह ४.८२, वित्र ३.७६, जलविद्युत् २.८६, बैंकिङ ०.७१ र म्युचुअल फन्ड समूह ०.०१ अंकले ओरालो लागेका छन् । यस दिन होटल्सलगायत चारवटा समूहको सूचक भने हरियो छ । सबैभन्दा बढी होटल्स समूहको सूचक ११.१६ अंकले उकालो लागेको छ । यसैगरी जीवन बिमा समूह ६.३, अन्य समूह २.३ र लघुवित्त समूह १.१७ अंकले माथि उक्लेका छन् ।
खुम्चियो कारोबार रकम
बिहीबार २६ करोड १६ लाख ७० हजार दुई सय तीन रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो अघिल्लो दिनको तुलनामा १०.८ प्रतिशतले कम हो । बुधबार २९ करोड २६ लाख ४१ हजार सात सय १८ रुपैयाँको सेयर किनबेच भएको थियो ।
रकमका आधारमा बिहीबार सबैभन्दा बढी एनआइसी एसिया बैंकको कारोबार भएको छ । यो बैंकको एक करोड ९१ लाख ४० हजार आठ सय ११ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका हिसाबले दोस्रोदेखि पाँचौंसम्मको स्थानमा क्रमशः प्रभु बैंक, कृषि विकास बैंक, देव विकास बैंक (प्रमोटर) र नेपाल बैंक छन् । उच्च कारोबार हुने १० कम्पनीमा नेपाल इन्भेस्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, रसुवागढी हाइड्रोपावर, शिवम सिमेन्ट र नेपाल बंगलादेश बैंक पनि परेका छन् ।
समूहगत आधारमा हेर्दा यस दिन सबैभन्दा बढी बैंकिङ समूहको कारोबार भएको छ । यो समूहको १३ करोड ३१ लाखभन्दा बढीको सेयर किनबेच भएको छ । यो कुल कारोबार रकमको झन्डै ५१ प्रतिशत हो । यसैगरी विकास बैंक समूहको ६ करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ ।  
यस दिन सबैभन्दा बढी कमाउनेमा सबैको लघुवित्तका लगानीकर्ता परेका छन् । नेप्सेमा सूचीकरणपछि बिहीबार नै यसको कारोबार खुलेको हो । नेप्सेले तोकिदिएको न्यूनतम मूल्यमा १८ रुपैयाँ (५.९६ प्रतिशत) ले वृद्धि भई यसको सेयर मूल्य ३ सय २० रुपैयाँ पुगेको छ । यसैगरी सिभिल लघुवित्त, दिव्येश्वरी हाइड्रोपावर र रिडी हाइड्रोपावरको सेयर मूल्य पनि चार प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यस दिन सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा सिर्जना फाइनान्स परेको छ । यो कम्पनीको मूल्य ४.७४ प्रतिशतले ओरालो लागि दुई सय ६१ रुपैयाँमा आइपुगेको छ । यसैगरी विशाल बजार कम्पनी, नेपाल इन्सुरेन्स र लक्ष्मी भ्यालु फन्ड १ को सेयर मूल्य पनि तीन प्रतिशतभन्दा बढीले झरेको छ ।
६१ कम्पनीको मूल्य बढ्दा ८४ वटाको घट्यो
यस दिन कारोबार भएका एक सय ७२ कम्पनीमध्ये ६१ वटाको मूल्य बढेको छ भने ८४ वटाको ओरालो लागेको छ । २७ वटा कम्पनीको क्लोजिङ मूल्यमा कुनै परिवर्तन आएन । बिहीबारको एडी रेसियो ०.७ छ । यसले बजारको बियरिस अवस्थाबारे संकेत गरेको छ । यस दिन बजारले ग्रेभस्टोन डोजी नामको रातो महिनबत्ती बनाएको छ । गिर्दो प्रवृत्तिको अन्त्यमा बन्ने यस्तो महिनबत्तीले बजारको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गर्छ । तर आगामी दिनको कारोबार नहेरी यो पूर्ण निश्चित भने हुँदैन । आरएसआई ३०.१ मा छ । यसले बजार ओभर सोल्ड जोनमा रहेको संकेत गर्छ । सेयर बजारको प्राविधिक पक्षका अध्येताहरुले आरएसआई ओभर सोल्ड जोनमा हुँदा बजारमा प्रवेशका लागि उपयुक्त अवस्था भनी व्याख्या गर्छन् ।
 

यसमा तपाईको मत