घर निर्माण विशेष

पर्यटक आथित्यको नयाँ स्वरूप

  नागरिक   2018-04-09

विश्वकै पर्यटन र आथित्य सत्कार व्यवस्थापनको सन्दर्भमा हेर्दा अनलाईन बुक गर्न मिल्ने बेड एंड ब्रेकफास्ट सेवाहरु ट्रेन्ड बढ्दो छ। आफ्नै घरका कोठाहरुलाई या पुरै घरलाई पर्यटक/ यात्रुका लागि आवास स्थल र आथित्य सत्कार स्थल बनाएर, यसलाई नै एउटा राम्रो आयस्रोतको बाटो बनाउने ट्रेन्ड नेपालमा पनि भित्रिएको छ । विश्वभरि प्रचलित यस ट्रेन्ड पारंपरिक शैलीमा कोठा भाडामा दिने प्रचलनको राम्रो विकल्प बनेको छ।

यस्ता ट्रेन्डहरुमा नेपालमा सबैभन्दा प्रचलित ट्रेन्ड भने Airbnb, हेरिटेज होम्स र होमस्टे रहेका छ। यस लगायत विभिन्न अन्य सेवाहरु पनि विश्वव्यापी रुपमा प्रख्यात छन् तर नेपालको मात्र सन्दर्भमा हेर्दा यी तीननै सबैभन्दा बढी प्रचलनमा आएको छ ।

 

होमस्टे

होमस्टे नेपालमा सबैभन्दा प्रचलित बेड एंड ब्रेकफास्ट सेवा हो । नेपालको सन्दर्भमा होमस्टे भन्नाले बिदेशी वा स्वदेशी पर्यटकलाई स्थानीयवासीले नै आतिथ्य सत्कार र आवास दिने प्रचलनलाई भनिन्छ ।  यस अन्तर्गत अतिथि घरधनीको घरमा घरकै एक सदस्य जस्तै गरी बस्छन् । नेपालमा विकट र टाढा स्थानहरुमा घुम्ने, ट्रेकिङ र हाइकिंग गर्ने पर्यटकलाई बस्न र खानको समस्यालाई हटाउनका लागि सुरुमा यसको प्रचलन नेपालमा ल्याईएको हो ।

नेपालमा मुख्यतः होमस्टे गाउँ र होटेल-लज नभएको स्थानमा बढी प्रचलित छ । सन् २०११ को आधिकारिक तथ्याङ्क अनुसार नेपालमा सो समयमा प्रति दिन पर्यटकका लागि ८२२ ओटा बेडको कमि भएको थियो । उक्त समस्याको समाधान स्वरूप होमस्टेको लागि पहल गरिएको थियो । सिरुबारी र घलेगाउँबाट सुरु भएर नेपालभरि फैलिएको होमस्टे अहिले बिदेशी र स्वदेशी पर्यटकका लागि बस्ने र खानेको राम्रो रोजाई बनेको छ । यसले हजारौं परिवारलाइ रोजगारको बाटो दिएको छ भने पर्यटकहरु पनि दूर-विकट क्षेत्रमा गएर अल्मलिनु परेको छैन । समग्रमा भन्नु पर्दा नेपालमा, विशेष गरी गाउँमा, होमस्टे निकै प्रचलित छ ।

 

होमस्टेको सहरी संस्करण

सहरी प्रभावबाट टाढा रहेको स्थान र होटल लजको व्यवस्था नभएको ठाउँमा मात्र होमस्टे प्रचलित रहेको भने होइन । होमस्टे एक कि अर्को रुपमा सहरमा पनि प्रशस्तै उपलब्ध छन् । नेपालको सन्दर्भमा सहरमा धेरै भेटिने होमस्टेको स्वरूप हुन् : हेरिटेज होम र Airbnb । सहरको होटेल-लजको बसाइ र कोलाहल नरुचाउने र आथित्य सत्कारको बेग्लै अनुभूति लिन खोज्नेका लागि हेरिटेज होम र Airbnb उपयुक्त छ ।

 

हेरिटेज होम

पुराना घरहरुलाई त्यस्को असली मौलिकता कायम रहिरहने गरी रेट्रोफिटिंग र रिमोडलिङ गरेर सो घरका कोठाहरुबाट बेड एंड ब्रेकफास्ट सेवा दिने ट्रेन्ड पनि विश्वभर प्रसिद्ध छ । नेपालमा पनि यसको व्यावसायिक रुपान्तरण फस्टाउदो क्रममा छ । काठमाडौँ उपत्यकामा भएका विभिन्न पुराना घरहरुलाई आवश्यकता अनुसार मर्मत सम्भार गरेर र थुप्रै नयाँ सुविधाहरु थपेर हेरिटेज होम संचालन भईरहेको छ । यसले इतिहास र नेपाली मौलिकता बोकेको पुराना संरचना र घरहरु पनि पुन: प्रयोगमा ल्याउन मिलेको छ भने यसको सहायताबाट नै एउटा राम्रो व्यवसाय र  रोजगारको अवसर सिर्जना भएको छ ।

पुराना र इतिहास बोकेका दरबार क्षेत्रको छेउ छाउमा बनाइने हेरिटेज होमले अतिथिहरुलाई नेपालको ऐतिहासिक र सांस्कृतिक स्वाद चखाउन सफल भएका छन् । प्राचिन नेपालको मूर्तिकलाको उत्कृष्टता झल्किने टुंडालले अडाएको कौसीमा बसेर दरबार क्षेत्र वरपरका मानिसहरुको दैनिक जीवनहरु हेर्न साह्रै सुखद: र चाख लाग्दो हुने कुरा हेरिटेज होममा बसेका विदेशी पर्यटकहरु बताउछन् । कोजी नेपाल, न्यु च्छेन् पाटन दरबार क्षेत्र वरीपरी संचालन भएका हेरिटेज होमहरु हुन् । पाटनको क्वाल्कु र स्वोठा गल्लिमा थुप्रै पुराना घरहरुलाई रेट्रोफिटिंग र रेमोडल गरेर हेरिटेज होमहरु संचालन भईरहेको छ ।

 

Airbnb:

विश्वकै सन्दर्भमा हेर्दा चाहिँ Airbnb सबैभन्दा प्रचलित बेड एंड ब्रेकफास्ट सेवा हो । यो नेपाल सहित अन्य १९० वटा देशमा उपलब्ध छ । Airbnb एक प्रख्यात र सबैभन्दा बढी प्रयोग गरिने इन्टरनेट / अनलाइन बेड एंड ब्रेकफास्ट सेवा हो जसबाट घरधनीहरु ले यात्रुहरुलाई आफ्नो घरको कोठा दिनगन्तिको हिसाबमा भाडामा दिन सक्छन । यसलाई नै होमस्टेको प्रतक्ष्य सहरी संस्करण मान्न सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि घरधनी र प्रयोगकर्ताले Airbnbको वेबसाइट वा एपमार्फत अकाउन्ट दर्ता गर्नुपर्ने हुन्छ । घरधनी र प्रयोगकर्ता दुवैले नै आफ्नो परिचय स्पष्ट रुपमा खुलाएको हुनुपर्छ । कोठा भाडामा राख्ने घरधनीले सो कोठाको सही ठेगाना, तस्बिर र प्रति रातको मूल्यको बारेमा जानकारी राख्नुपर्छ । प्रयोगकर्ताले Airbnbको वेबसाइट वा एपमार्फत आफूलाई मन परेको कोठा बुक गर्न सक्नेछन ।

यो होटल र लजभन्दा धेरै सस्तो पर्ने र पर्याप्त कोठाहरु वर्षको जुन सुकै समयमा पनि उपलब्ध हुने भएकाले पर्यटक, यात्रु र व्यापारका लागि हिड्ने मानिसहरुको पहिलो रोजाई बनेको छ । घर परिवार संगै गएर बस्न पाइने र त्यहाँको संस्कृति र चालचलन बुझ्न पाइने भएकाले पनि पर्यटकहरु होटलभन्दा पनि Airbnb कै कोठामा बस्न रुचाउछन् । यो सेवा मुख्यतः थोरै बजेटमा यात्रा गर्ने पर्यटकलाई  ध्यानमा राखी बनाइएको हो तर यसको पूर्ण फाईदा भने व्यापार व्यवसायका लागि यात्रा गर्ने मानिसहरु ले उठाइ रहेका छन् ।

नेपालमा पनि यो धेरै प्रचलित छ । काठमाडौँ, पोखरा र अन्य पर्यटकीय क्षेत्रमा यो निकै प्रचलित बनेको छ । मानिसहरुले आफ्नो घरको कोठालाई  चिटिक्क पारेर, स्वदेशी तथा बिदेशी पर्यटकलाई निम्तो स्वरुप सो कोठालाई  Airbnbमा भाडामा राख्ने क्रम बढ्दो छ । Airbnbकै वेबसाइटमा गएर “Kathmandu” लेखेर खोज्ने हो भने पनि ३००+ भाडामा राखिएका कोठाहरु भेटिन्छ । सो वेबसाइट कै अनुसार ६००० जनाभन्दा बढीले काठमाडौँका लागि समिक्षा लेखेका छन् र औसत रेटिंग चाहिँ ४.७/५.० रहेको छ । यसबाट नै Airbnb काठमाडौँमा प्रचलित मात्र नभई पर्यटकहरुबाट रुचाइएको छ भन्ने कुरा थाह पाउन सकिन्छ ।

यो घरधनीहरुका लागि पनि राम्रो आयस्रोतको बाटो बनेको छ । सामान्यत एउटा कोठा पारंपरिक ढंगमा भाडामा दिदा मासिक ५-७ हजार उठ्ने गर्छ । तर सोहि कोठालाई  स्याहार सम्भार गरेर Airbnb र होमस्टे जस्ता सेवाबाट न्युनतम मासिक २०-२५ हजार सजिलै कमाउन सकिन्छ ।

यसमा तपाईको मत