ग्याजेट विशेष

युएसबी-सी (USB-C) ट्रेन्ड

  नागरिक   2020-02-27

युएसबी (USB) अर्थात् युनिभर्सल सिरियल बस कम्प्युटर र अन्य उपकरणमा प्रयोग हुँदै आएको सबैभन्दा प्रचलित पोर्ट हो | USB पोर्ट उपकरण चार्ज गर्न, डेटा ट्रान्सफर गर्न र कम्प्युटरसँग स्मार्टफोन र अन्य उपकरण जोड्न प्रयोग गरिन्छ | सन् १९९४ मा पहिलोपटक रिलिज भएलगत्तै यसका थुप्रै संस्करण आए | स्मार्टफोन र अन्य साना ग्याजेटका लागि USB को सानो संस्करण अर्थात् माइक्रो USB प्रयोग गर्न थालियो |

कम्प्युटर र ल्यापटपमा हुने ठूलो आकारको USB पोर्टलाई USB-A भनिन्छ | USB-B भन्नाले USB-A को सुधारिएको संस्करण थियो, जुन खासै प्रचलित हुन सकेन |
अहिलेको सबैभन्दा नयाँ र अब्बल USB पोर्टको प्रकार हो USB-C |


के हो USB-C ?


USB को जगतमा भएको अनियमिततालाई हटाउन USB इम्प्लिमेन्टर फोरमद्वारा USB-C अर्थात् USB टाइप C निर्माण गरिएको थियो | अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् |


फाइदा के ?


निकै प्रचलित र काम गरिरहेको पुरानो USB-A र USB-B लाई प्रतिस्थापन गर्न USB-C मा केही ठूलै विशेषता हुनु आवश्यक थियो र आवश्यक पर्नेभन्दा पनि बढी विशेषता यस पोर्टमा छन् :


⦁    रिभर्सिबल


यसमा हेर्नेबित्तिकै USBC हो कि होइन भनेर छुट्याउन सकिने विशेषता छ | USB-C कनेक्टरलाई USB-C पोर्टमा जतापट्टिबाट हाले पनि हुन्छ | अन्य USB मा जस्तो यसमा सही अभिविन्यास मिलाउनुपर्दैन |
उदाहरणका लागि : तपाईंको ल्यापटप र स्मार्टफोन दुवैमा USB-C पोर्ट छ भने USB-C को तारलाई जता-जसरी जोडे पनि हुन्छ, सही-गलत भन्ने हुँदैन |  


⦁    अन्य पोर्टको सट्टामा प्रयोग गर्न मिल्ने

usb-dongle
USB-C पोर्ट पुराना USB मात्र होइन, अन्य निकै धेरै पोर्टको सट्टामा प्रयोग गर्न सकिन्छ | यी पोर्टको सट्टामा USB-C प्रयोग भएको भेटिन्छ :
⦁    चार्ज गर्न र डेटा ट्रान्सफर गर्न  
⦁    हेडफोन ज्याकको सट्टामा प्रयोग
⦁    मनिटर र टिभीमा भिडियोका लागि
⦁    LAN मार्फत नेट चलाउन

 

⦁    धेरै उपकरणको सपोर्ट भएको


आज तपाईंले कम्प्युटरका लागि भनेर किनेका केही एसेस्सरिज मोबाइलमा चल्दैनन् | त्यस्तै मोबाइलका लागि भनेर किनेका एसेस्सरिज कम्प्युटरमा चल्दैनन् | तर USB-C को विकाससँगै यस्तो समस्या हराउँदै जानेछ | दुई भिन्न उपकरणमा पनि एकै किसिमको इन्टरफेस भएपछि कुनै एकका लागि बनेको एसेस्सरिज अरु उपकरणमा पनि प्रयोग गर्न मिल्छ- ड्राइभरले सपोर्ट गरेको खण्डमा | उदाहरणका लागि : USB-C पेनड्राइभ, किबोर्ड, माउस आदि USB-C भएका एन्ड्रोइड स्मार्टफोन र कम्प्युटर दुवैमा चल्छ, कुनै डोंगल र एडप्टर आवश्यक पर्दैन |


⦁    विश्वकै सबैभन्दा फास्ट इन्टरफेस थन्डरबोल्ट ३ मा पनि USB-C कै प्रयोग


अहिलेको सबैभन्दा फास्ट इन्टरफेस थन्डरबोल्ट ३ हो र यो पोर्टले पनि USB-C कै प्रयोग गर्छ | यो इन्टरफेसबाट उच्च स्पिडमा डेटा र चार्ज ट्रान्सफर गर्न सकिन्छ | इन्टेलले एप्पलसँगको सहकार्यमा पहिलो र दोस्रो संस्करणको थन्डरबोल्ट बनाएको थियो | थन्डरबोल्ट ३ भने इन्टेलले मात्र निर्माण गरेको थियो जसमा USB-C कै पोर्ट प्रयोग हुन्छ | यसर्थ USBC समावेश गरिएको ल्यापटप वा कम्प्युटरमा थन्डरबोल्ट ३ पनि समावेश गर्न मिल्छ | थन्डरबोल्ट ३ का केही फाइदा :
⦁    एकै पोर्टबाट दुईवटा 4K डिस्प्ले प्रयोग गर्न मिल्ने
⦁    ४० Gbps सम्मको डेटा ट्रान्सफर स्पिड
⦁    १० Gbps सम्मको इन्टरनेट स्पिड
⦁    स्लिम ल्यापटपमा पनि बाहिरी ग्राफिक्स कार्ड जोड्न मिल्ने
⦁    १०० वाटसम्मको चार्ज ट्रान्सफर गर्न सक्ने

 

भविष्यको पोर्ट


लगभग सबै कम्प्युटर, ल्यापटप र स्मार्टफोन निर्माताले आफ्ना उत्पादनमा USB-C प्रयोग गरिसकेका छन् | नयाँ आएका अधिकतम ल्यापटपमा USB-C को न्यूनतम एउटा पोर्ट समावेश गरिएकै हुन्छ | एप्पलका नयाँ म्याकबुकमा त सबै USB-C मात्र छन्, अरु कुनै पोर्ट छैन | डेल, एचपी, लेनोभो, एसस् आदि कम्पनीले पनि USB-C मात्र भएका ल्यापटप बजारमा ल्याएका छन् | माइक्रोसफ्टको नयाँ सरफेस गो मा पनि USB-C मात्र प्रयोग गरिएको छ | स्मार्टफोन जगतमा USB-C प्रयोग नगर्ने कम्पनी एप्पलमात्र हो, अन्य सबै कम्पनीले स्मार्टफोनमा USB-C कै प्रयोग गरेका छन् | स्मार्टफोन, ट्याब्लेट र ल्यापटपमा मात्र नभएर गेमिंग कन्सोलमा पनि यो पोर्ट प्रयोग भएको छ | निन्तेन्डोले आफ्नो हाइब्रिड कन्सोल निन्तेन्डो स्विचमा USB-C प्रयोग गरेको छ | आजभोलि आउने नयाँ कार र गाडीको ड्यासबोर्डमा पनि USB-C पोर्टहरु राखिएका हुन्छन् | अन्य साना एसेस्सरिजहरु, जस्तै : पावर बैंक, वालप्लग चार्जर, एक्सटर्नल हार्ड ड्राइभ, स्मार्टवाच आदिमा पनि यही पोर्ट प्रयोग भएको भेटिन्छ | यो ट्रेन्ड हेर्दा र USB-C का फिचर हेर्दा यसलाई भविष्यको पोर्ट मान्न सकिन्छ |
तपाईं कुनै नयाँ स्मार्टफोन, ल्यापटप, डेस्कटप, ट्याब्लेट वा कुनै पनि एसेस्सरी खरिद गर्ने सोचमा हुनुहुन्छ भने पक्कै पनि USBC पोर्ट भएको किन्नुहोस् ताकी भविष्यमा लामो समयसम्म सजिलै प्रयोग गर्न सकियोस् |

यसमा तपाईको मत