ग्याजेट विशेष

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

  नागरिक   2019-12-07

अहिलेको सबैभन्दा द्रुतगतिमा ख्याति कमाउँदै गरेको सामाजिक संजाल टिकटकले मोटा, तेस्रो लिंगी र अशक्त प्रयोगकर्ताहरूको टिकटक क्लिपलाई लुकाउने गरेको भेटिएको छ । टिकटकले नै त्यस्ता भिडियोहरूलाई टिकटकमा भाइरल हुनबाट रोक लगाउने गरेको भेटिएको छ ।

त्यस्ता क्लिपहरू रोक लगाउनुको कारण पनि वेबसाइट नेट्जपोलिटिक डट अर्गले खुलाएको छ । उक्त साइटका अनुसार प्रयोगकर्ताहरूले टिकटकमा कुनै पनि प्रकारको साइबर उत्पीडन खेप्नु नपरोस् भनेर नै यस्तो नीतिलाई टिकटकले कार्यन्वयन गरेको हो ।

अशक्त र मोटा प्रयोगकर्ताहरूको भिडियोहरू लुकाउनुको पछाडी जुन कारण भएपनि प्रयोगकर्तालाई  भेदभाव गरेको भन्दै टिकटकले अहिले चौतर्फी आलोचना सुन्नु परेको छ ।

टिकटकमा को भाइरल हुने र को नहुने भन्ने सबै कुरा टिकटकको अल्गोरिदममा भर परेको हुन्छ । उक्त अल्गोरिदमलाई नै मोटा र अशक्त प्रयोगकर्ताका भिडियोहरू लुकाउने प्रकारको बनाएपछि त्यस्ता प्रयोगकर्ताहरू कहिले पनि भाइरल हुन र आफ्नो पहुँच बढाउन सक्ने छैनन् ।

कतिपय भिडियोहरू जुन देशबाट अपलोड गरिएको हो सोही देशमा मात्र देखाउने गरिएको भेटिएको छ । यसै गरेर अशक्त प्रयोगकर्ताको अकाउन्टबाट अपलोड भएका भिडियोहरूलाई अन्य प्रयोगकर्ताहरूको “For You” सेक्सनमा नदेखिने बनाइएको छ । यस्तो विधिलाई अटो आर अर्थात् “Auto R” नाम दिईएको छ । कसैको भिडियोमा यो अटो आरको ट्याग लागेको खण्डमा सो भिडियोलाई टिकटकमा भाइरल हुनबाट रोक लगाउने गरेको भेटिएको छ ।

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ । “ सामाजिक संजालमा हुने साइबर उत्पीडनलाई रोक्नका लागि यो विधी केहीबेरको लागि मात्र लागू गरिएको हो” - टिकटकका एक नाम नखुलेको प्रवक्ताले द भर्जलाई भनेका छन् ।

स्रोत : द भर्ज

 

 

यसमा तपाईको मत