बजार संक्षेप

साताभरीमा ३३ बिन्दुको गिरावट

  नागरिक   2019-09-15

करुण ढकाल
काठमाडौं- पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । सम्बन्धित सरकारी निकायले लगानीकर्तालाई आश्वस्त गराउन नसक्दा बजार फर्किन नसकेको हो । सेयर बजार विस्तारका लागि आवश्यक मानिएको बैंकलाई कारोबार अनुमति दिने प्रक्रिया संसदीय समितिमा पुगेर अड्किएको छ भने पुँजीगत लाभकर गणनाबारेको अन्योल पनि अझै टुंगो लाग्न सकेको छैन । 
लगानीकर्ताले सेयर बजारलाई देशव्यापी रुपमा विस्तार गर्न बैंकलाई सेयर कारोबारका लािग अनुमति दिनुपर्ने माग लामो समयदेखि उठाउँदै आएका थिए । लगानीकर्ताको निरन्तरको दबालले नेपाल स्टक एक्सचेन्जले लाइसेन्स वितरण प्रक्रिया थालिसकेको अवस्थामा अध्ययनको बहानामा प्रतिनिधिसभाको अर्थ समितिले अनुमति दिने प्रक्रिया रोक्न लगाएको छ । एकाएक यस्तो अवस्था आएपछि बैंकलाई लाइसेन्स नदिने खेल भएको आशंका लगानीकर्ताले गरेका छन् । ‘अर्थ समिति सेयर ब्रोकरको प्रभावमा परेको आशंका उब्जेको छ,’ एक लगानीकर्ताले भने । 
अर्थ समितिले समितिकी सदस्य एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीको अध्यक्षतामा उपसमिति बनाएर बैंकलाई लाइसेन्स दिँदा पर्ने प्रभावबारे अध्ययन गर्ने जिम्मा दिएको छ । सांसद झाँक्रीले उपसमितिको संयोजक बन्नुपहिले नै बैंकलाई लाइसेन्स दिन नहुने विचार सार्वजनिक गर्दै आएकी थिइन् । बैंकलाई लाइसेन्स दिँदा इन्साइडर ट्रोडिङ बढ्ने तर्क उनको थियो । पहिले नै बैंकलाई लाइसेन्स दिन नहुने पक्षमा अभिव्यक्ति दिँदै आएकी झाँक्री नै अध्ययन उपसमितिको संयोजक बन्दा आफूहरु झनै आशंकित बनेको ती लगानीकर्ताले बताए । 
लगानीकर्ताले पुँजीबजारप्रति सरकारको नीतिमै शंकाको नजरले हेर्दा यसले बजारलाई प्रभावित बनाएको विश्लेषण गरिएको छ । फलस्वरुप गत साता कारोबार भएको पाँचै दिन नेप्से ओरालो लाग्यो । साताको पहिलो दिन ११९०.०७ मा खुलेको पुँजीबजार अन्तिम कारोबार दिन बिहीबार ११५७. ८८ मा बन्द भएको छ । नेप्सेले साताभरमा ३२.१९ बिन्दु गुमाएको छ । साताका दुई दिन उच्च गतिमा घटेको नेप्से मंगलबार र बुधबार केही सम्हालिएको देखिए पनि अन्तिम दिन फेरि अलि फराकिलो अन्तरले घटेको छ । आइतबार र सोमबार नेप्से क्रमशः १३ र १० बिन्दुले ओरालो लागेको थियो । मंगलबार र बुधबार भने क्रमशः दुई र तीन बिन्दु गुमाएको नेप्से बिहीबार झन्डै ६ बिन्दुले खस्कियो । 
खुम्चियो कारोबार रकम
बजार घटेसँगै अघिल्लो साताको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । गत साता जम्मा एक अर्ब ५७ करोड २३ लाख ९३ हजार चार सय ६८ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यो अघिल्लो साताको तुलनामा १९ प्रतिशत कम हो । अघिल्लो साता एक अर्ब ९४ करोड २१ लाख ४१ हजार आठ सय एक रुपैयाँको कारोबार भएको थियो । 
गत साता सुरुका दिन कारोबार रकममा तीव्र गिरावट देखिएको थियो । आइतबार ३१ करोड ७३ लाखको सेयर किनबेच भएकोमा सोमबार २९ करोड ९२ लाखमा सीमित हुन पुग्यो । मंगलबार अझै घटेर २३ करोड ७९ लखा ५९ हजारमा सीमित हुन पुग्यो । यो चालू आर्थिक वर्ष सुरु भएयताकै सबैभन्दा न्यून कारोबार हो । साताको पछिल्लो दुई दिन भने कारोबार रकममा सुधार देखिएको छ । बुधबार ३४ करोड १७ लाखको कारोबार भएकोमा बिहीबार बढेर ३७ करोड ६१ लाख ८४ हजार नाघेको छ । सेयर भाउ निकै घटेको अवस्थामा दीर्घकालीन लगानीकर्ताले खरिद बढाउँदा साताका पछिल्ला दिनमा कारोबार रकममा केही वृद्धि देखिएको ब्रोकरहरुले बताएका छन् ।
अघिल्लो साताको तुलनामा गत साता खरिदबिक्री भएको सेयर कित्ता संख्या पनि ओरालो लागेको छ । गत साता एक सय ७० कम्पनीका ६६ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भए । अघिल्लो साता एक सय ६९ कम्पनीका ७० लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएका थिए ।
बजारमा विक्रेता हाबी 
साप्ताहिक चार्टमा गत साता झन्डै क्लोजिङ मारुबोजु प्रकृतिको लामो शरीर भएको रातो महिनबत्ती बनेको छ । यसले बजारमा विक्रेता हावी भएको संकेत गर्छ । क्रेताले मागेकै मूल्यमा विक्रेताले सेयर बेचेर बाहिरिएको संकेत यस्तो महिलबत्तीले दिन्छ । साथै यसले आगामी दिनमा बजार अझै झर्न सक्ने संकेत समेत गर्छ तर यो पूर्ण निश्चित भने हुँदैन । दैनिक चार्टमा भने अघिल्ला दुई दिन लामालामा बियरिस महिनबत्ती बनेकोमा पछिल्ला दिनमा महिनबत्तीको शरीरको आकार घटेको छ । यसले बजारमा झिनो भए पनि आशाको संकेत गरेको छ । 
साताको अन्तिममा आरएसआई २५.६ विन्दुमा छ । यसले बजार ओभर सोल्ड जोनमा रहेको संकेत गर्छ । यस्तो अवस्थालाई बजारमा प्रवेश गर्ने उपयुक्त समयका रुपमा प्राविधिक विश्लेषकहरु अथ्र्याउँछन् । फिबोनासी टुलको ७८ प्रतिशत रिट्रेसमेन्ट लेभलको नजिकै नेप्से आइपुगेको छ । यति बेला नेप्से बोलिङ्गर ब्यान्डको तल्लो रेखाको नजिकै माथिपट्टि गतिशील देखिएको छ । 
 

यसमा तपाईको मत