अटो विशेष

अहिलेको पुस्ताले ब्रान्डमा विश्वास नभएसम्म पाउरोटीसमेत खरिद गर्दैन : महाप्रबन्धक भट्ट

  नागरिक   2019-12-11

काठमाडौं– दुई तीन दशकअघि कसले गाडी किन्यो ? विशेष चर्चा हुन्थ्यो । गाडी चढ्नेको सान र सौकत बेग्लै थियो । सवारीसाधन आवश्यकताको वस्तुभन्दा विलासिताको वस्तुका रुपमा हेरिन्थ्यो । अहिले समयसँगै मानिसको धारणामा परिवर्तन आएको छ । सवारीसाधन विलासिताको वस्तु रहेन अब । यो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । त्यसैले होला पहिले गाडी किन्दा हुने चर्चाको विषय अहिले परिवर्तन भएको छ । अहिले कसले गाडी किन्यो भन्नुभन्दा कुन ब्रान्डको ? कुन सेगमेन्ट हो ? भनेर सोध्ने गरिन्छ । त्यसैले अब गाडी किन्नुमात्र ठूलो कुरा रहेन । सवारी धनीको व्यक्तित्व उसले खरिद गरेको ब्रान्डसँग जोडिन थालेको छ ।

मुलुक सानो छ, अर्थतन्त्र पनि सानो छ । व्यापारिक कारोबार झनै सानो छ । तर, यहाँका सडकमा विश्वका धनाढ्य व्यक्तिहरुले चढ्ने सवारीसाधन गुडिरहेका छन् । ब्रान्डेड गाडीका सवालमा काठमाडौं सहर विश्वको कुनै पनि विकसित मुलुकको सहरभन्दा धेरै कम देखिँदैन ।

विकसित मुलुकका सहरका सडकमा विश्व प्रसिद्ध ब्रान्डका सवारीसाधन गुडिरहेका छन् । बजार हिस्सा कब्जा गर्न प्रतिस्पर्धा छ सबै कम्पनीको । त्यही पंक्तिमा लोकप्रिय कोरियन कम्पनी हुन्डाईका सवारीसाधन पनि छन् । विश्व बजारमा अहिले ३५ औं स्थानमा रहेको हुन्डाई कम्पनीले क्रमशः अरुको बजार हिस्सा खोसिरहेको छ । पहुँच बढाइरहेको छ र उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ ।

विश्व बजारमा मात्र होइन नेपाली बजारमा पनि हुन्डाई ब्रान्ड लोकप्रिय भइरहेको छ । हुन्डाईको नेपाली बजारमा प्रवेश भएको समय त्यत्ति लामो छैन । केही वर्षअघि हुन्डाईको ‘आई टेन’ र ‘टक्सन’ले नेपाली बजार पिटेको थियो । त्यसपछि पनि क्रमशः हुन्डाईका अन्य गाडी लोकप्रिय बने । अहिले हुन्डाईको ‘आइ टेन’ पछि अहिले ‘क्रेटा’ सर्वाधिक लोकप्रिय बनेको छ । नेपाली बजारमा ‘क्रेटा’ आएको चार वर्ष हाराहारी मात्र भएको छ । अहिलेसम्म पाँच हजारभन्दा बढी गाडी सडकमा गुडिरहेका छन् । उपभोक्ताबीच लोकप्रिय बनेको उदाहरण हो यो ।

नेपालमा हुन्डाई ब्रान्डका सवारीसाधन भित्र्याउने काम व्यापारिक घराना लक्ष्मी ग्रुपले गरेको हो । यसै अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका गाडी आयात र बिक्री वितरण गरिरहेको छ । कम्पनीका महाप्रबन्धक रुपेश शर्मा भट्ट हुन्डाई गाडी लोकप्रिय हुनुको पहिलो कारण ब्रान्डप्रति उपभोक्ताको विश्वास भएको बताउँछन् । ‘अहिलेको पुस्ताले ब्रान्डमा विश्वास नभएसम्म पाउरोटीसमेत खरिद गर्दैन । गाडीको त कुरै छाडौं,’ महाप्रबन्धक भट्टले नागरिकसँग भने, ‘ब्रान्डपछि सवारीसाधनमा भएका विशेषता, ‘रिसेल भ्यालु’, बिक्रीपछिको सेवा, बजारीकरणलगायत थुप्रै विषयले प्रभाव पार्छ ।’  

भट्टका अनुसार कम्पनीले अहिलेको बदलिँदो मागलाई हेरेर त्यसैअनुसारका मोडर्न, स्टाइलिस्, आरामदायी, स्मार्ट टेक्नोलोजी, सुरक्षाका साथै वातावरणमैत्री कार बजारमा ल्याएको छ । दक्षिण एसियाली बजारलाई लक्षित गर्दै बनाइएका कारले नेपाली उपभोक्ताको मन जित्दै आएका छन् ।

‘हुन्डाईका कार पाँच वर्षदेखि विश्वभर चर्चित ब्रान्डमध्ये ३५ औं स्थान लिन सफल छ भने आन्तरिक बजारमा हुन्डाई पाँचौ स्थानमा छ,’ महाप्रबन्धक भट्टले भने । उनका अनुसार ब्रान्डको उचाइ राखिराख्न कम्पनीले बढीभन्दा बढी ग्राहकसम्म पुग्ने प्रयास गरेको छ । अहिले कम्पनीले देशभर ३० भन्दा बढी नेटवर्कको विस्तार गरिसकेको छ । काठमाडौंमा मात्रै बिक्रीपछिको सेवा दिन पाँचवटा सर्भिस सेन्टर स्थापना गरिएको छ । यस्ता सर्भिस सेन्टर विश्वस्तरीय छन् । देशभरका १३ स्थानमा कम्पनीको डिलरसिप छन् । पार्टपूर्जाको सहज उपलब्धता ब्रान्डसँगै जोडिएर आउने उनको भनाइ छ ।

‘होन्डाई ब्रान्डमा विश्वास गर्नेको संख्या निकै बढ्दै गएको छ,’ उनले भने, ‘देशभर पार्टपूर्जाको सरल उपलब्धता, नेटवर्क, सोरुम, रिसेल भ्यालु र उपभोक्ताको बुझाइका कारण ब्रान्डको उचाइ थपिँदै गएको छ ।’ भट्टले हुन्डाई कार बिक्री अन्य कम्पनीको भन्दा माथि रहेको जानकारी दिँदै मुुलुकको अटो बजारको ४० प्रतिशत हिस्सा हुन्डाईले ओगट्नुमा ग्राहकको ब्रान्डप्रतिको सन्तुष्टिलाई देखाउने बताए । अहिले कम्पनीले नेपाल ल्याएका सानोदेखि ठूलो गाडीको माग बढ्दै गएको छ । पछिल्लो समय हुन्डाईको क्रेटा प्रायः ग्राहकको रोजाइ बन्ने गरेको छ ।

‘उत्कृष्ट मूल्य र आर्कषक डिजायनलगायत सुविधाका कारण २०१६ मा नेपाल भित्रिएको क्रेटा हालसम्म पाँच हजारभन्दा बढी बिक्री भएको छ,’ उनले भने । उनका अनुसार इन्जिन, सिसी, आरपिएम शक्ति, टर्क उत्पादन गर्ने क्षमता, ग्राउन्ड क्लियरेन्स, फराकिलो भित्रि भागलगायत विशेषताले क्रेटाप्रति आकर्षण बढेको हो ।

हुन्डाईका आई टेन र क्रेटाले मात्र होइन अन्य उत्पादन पनि नेपाली बजारमा लोकप्रिय बनेका छन् । भट्टका अनुसार हालै सार्वजनिक हुन्डाई भेन्युले पनि उपभोक्ताबाट राम्रो ‘रेस्पोन्स’ पाइरहेको छ । कम्पनीले दसैं तिहारका अवसरमा राखेको योजनामा धेरैले यो कार बुक गराएका छन् । ‘भेन्यु बजेट लक्षित बनेर नेपाल भित्रिएको हो,’ उनले भने, ‘त्यसैले यसले ग्रानाइडलाई पछि पार्दै दोस्रो स्थान लिएको छ ।’

पछिल्लो समय कम्पनीले ल्याएका वातावरणमैत्री गाडीबाट पनि ग्राहकको सन्तुष्टि पाएको छ । ‘नेपाली सडकमा इलेक्ट्रिक कारको उपस्थिति सामान्य मात्रामा भए पनि अबको केही समयमा इलेक्ट्रिक कारको संख्या निकै वृद्धि हुने देखिन्छ,’ भट्टले भने, ‘सरकारले इलेक्ट्रिक सवारीसाधनमा दिएको छुटका कारण नेपाली बजारमा यस्ता कारको बिक्री बढ्ने निश्चित छ ।’ कोना (रेगुलर तथा लङरेन्ज) र सेनाई आयोनिक भर्सनका कारले पछिल्लो समय राम्रो बजार हिस्सा लिइरहेको र उपभोक्ताको ‘रेसपोन्स’ पाएका छन् ।  

कोनाले एक पटकको फुलचार्जमा तीन सय किलोमिटर माइलेज दिने उनले जानकारी गराए । यो कारको टप स्पिड एक सय ५५ किलोमिटर प्रतिघन्टा छ । यो ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । कम्पनीले महिनामा २० देखि ३० वटासम्म गाडी बिक्री गर्ने लक्ष्य राखेको उनको भनाइ छ । कम्पनीले इलेक्ट्रिक गाडी चार्ज गर्न देशभर विद्युतीय चार्जिङ स्टेसन बनाउन सुरु गरेको पनि उनले जानकारी गराए । हाल काठमाडौंका आठ स्थानमा र पोखराका पाँच ठाँउमा चार्जिङ स्टेसन बनाइएका छन् ।

कम्पनीले बिर्तामोडदेखि धनगढीसम्मको प्रत्येक दुई सय किलोमिटरमा चार्जिङ स्टेसन बनाउँदैछ । हालसम्म विद्युतीय कार एक सय ७० ग्राहकले प्रयोग गरिरहेको महाप्रबन्धक भट्टले बताए । उनका अनुसार बजारको अवस्था हेरेर कम्पनीले आफ्नो प्रवद्र्धन गरिरहेको छ । अहिले ‘वान हुन्डाई वान एक्सपिरियन्स’ को नीतिबाट कम्पनी अगाडि बढिरहेको जानकारी दिँदै भट्टले भने, ‘ब्रान्डप्रतिको विश्वास कायम राख्न कम्पनीले प्रत्येक वर्ष कसरी अगाडि बढ्ने भन्ने नीति तय गर्छ ।’

बिक्री पछिको उच्चस्तरीय सेवा दिन बेलाबेलामा माउ कम्पनी कोरियाबाट प्राविधिकहरु आउने गरेका छन् । हाल ललिलपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको हुन्डाई ट्रेनिङ सेन्टरमा कोरियाबाट आएका दक्ष प्राविधिकको सहयोगमा कम्पनीका नेपाली कर्मचारीहरुले तालिम लिने व्यवस्था गरिएको छ ।

हुन्डाईका सन् २००९ देखिका गाडी अझै राम्रोसँग कुदिरहेको बताउँदै उनले गाडीको लामो जीवनका लागि होन्डाई सबैको रोजाई बन्न पुगेको खुलासा गरे । कम्पनीले गाडीको बिक्रीमा भन्दा ग्राहकको चाहाना र ‘थ्री एस’मा ध्यान दिँदै आएको उनले बताए । सेल्स, सर्भिस र स्पेयर पार्टसमार्फत कम्पनीले ग्राहकको प्रतिक्रिया लिने गरेकोे छ ।

हुन्डाईले अहिलेसम्म पाँचपटक ‘इन्डियन कार अफ दी इयर’को सम्मान पाएको छ । यसको पछाडि ब्रान्डको हात रहेको भट्टको धारणा छ । यो पुरस्कार भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने सबैभन्दा विश्वसनीय र सर्वोत्कृष्ट हो । विशेषतः गाडीको इन्जिनियरिङ, डिजाइन, प्रभावकारिता र ग्राहक सन्तुष्टिलाई आधार बनाएर मूल्यांकन गरी पुरस्कृत गरिन्छ ।

हुन्डाईका सम्पूर्ण गाडीहरुका लागि तीन वर्ष वारेन्टी, चार वर्ष निःशुल्क सर्भिसिङ र एक आर्थिक वर्षको सवारी कर चुक्तासहितको सेवा दिइन्छ । हुन्डाईका कार विश्वका दुई सयभन्दा बढी देशमा उपलब्ध छन् ।

" हुन्डाईले अहिलेसम्म पाँच पटक ‘इन्डियन कार अफ दी इयर’को सम्मान पाएको छ । यसको पछाडि ब्रान्डको हात छ । यो पुरस्कार भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने सबैभन्दा विश्वसनीय र सर्वोत्कृष्ट हो । विशेषतः गाडीको इन्जिनियरिङ, डिजाइन, प्रभावकारिता र ग्राहकको सन्तुष्टिलाई आधार बनाएर मूल्यांकन गरी पुरस्कृत गरिन्छ ।
***
विश्व बजारमा मात्र होइन नेपाली बजारमा पनि हुन्डाई ब्रान्ड लोकप्रिय भइरहेको छ । नेपाली बजारमा हुन्डाई प्रवेश भएको समय त्यति लामो छैन । केही वर्षअघि हुन्डाईको ‘आई टेन’ र ‘टक्सन’ले नेपाली बजार पिटेको थियो । त्यसपछि क्रमशः हुन्डाईका अन्य गाडी लोकप्रिय बने । अहिले हुन्डाईको ‘क्रेटा’ बजारमा सर्वाधिक लोकप्रिय बनेको छ"


 

यसमा तपाईको मत