अटो विशेष

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

  नागरिक   2019-08-23

काठमाडौं– सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । सुजुकीका तीन प्रकारका नयाँ हाइब्रिड कार नेपाली बजारमा ल्याउन लागिएको हो । 
नेपालमा बुकिङ खुला गरिएका हाइब्रिड प्रविधिका सियाज, इर्टिगा र एसक्रस कार वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । 
नाडा अटो सोमा बिक्री सुरु गर्ने सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले जनाएको छ । प्रदूषणको बारेमा सबैले चिन्ता व्यक्त गरिरहेको बेला कम प्रदूषण गर्ने कार ल्याएको सिजी मोटोकर्पका मार्केटिङ म्यानेजर करुण शाक्यले बताए । ‘हाइब्रिड कार भएकाले माइलेज पनि राम्रो छ,’ शाक्यले भने, ‘धुवाँ कम फाल्ने भएकाले प्रदूषण कम हुन्छ ।’
सियाज कारको सुरु मूल्य ३५ लाख ९९ हजार, इर्टिगाको ३७ लाख ४९ हजार र एसक्रस कारको ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । इन्धन खपत कम गर्ने र वायु प्रदूषण कम गर्ने भएकाले प्रयोगकर्तामाझ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । कारमा प्रयोग गरिएको स्मार्ट हाइब्रिड एक उन्नत प्रविधि हो । यसमा एकीकृत स्टार्टर जेनरेसन तथा उन्नत डुअल ब्याट्री प्रणालीको संयोजन गरिएको छ । 
कारमा दुईवटा ब्याट्री सेट जडान गरिएको छ । प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ, तयो बेला उत्पन्न भएको काइनेटिक इनर्जीले त्यसमा भएको ब्याट्री चार्ज हुन्छ । इन्जिनले ब्याट्री चार्ज गर्न नपर्ने भएकाले कम धुवाँ उत्सर्जन हुने शाक्यले बताए ।
स्मार्ट हाइब्रिडले पेट्रोलको माइलेज बढाउँछ । अनावश्यक ठाउँमा इन्जिन चलाउन पर्दैन । यसको मर्मत खर्च पनि कम रहेको शाक्यले बताए । ‘अरु कार जस्तै नर्मल मूल्यमा कार आउँछ,’ उनले भने, ‘मेन्टिनेन्स खर्च पनि कम आउँछ ।’ 
ट्राफिक जाममा फस्दा गाडी स्टार्ट र बन्द गर्ने समस्या बेहोर्नु पर्दैन । हाइब्रिड इन्जिनको सहयोगले कार स्वतः स्टार्ट बन्द हुन्छ भने क्लच थिच्दा आफैं स्टार्ट हुन्छ । कारमा कम इन्धन खपत गर्ने ब्याट्री जडान गरिएको छ । ग्रिनहाउस प्रभाव घटाउने भएकाले ग्लोबल वार्मिङ कम गर्न पनि सघाउ पुग्नेछ । कारमा आरामदायी ड्राइभिङ अनुभव हुने उनको दाबी छ । 
 

यसमा तपाईको मत