बजार संक्षेप

भन्सार छलीको चिनी नियन्त्रणमा

  नागरिक   2019-10-14

निजगढ, (रासस)– भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट बरामद गरेको हो ।
भारतसँग खुला सिमाना भएका कारण पनि तस्करहरूले भन्सार छलेर सामान आयात–निर्यात गर्ने गरेका छन् । प्रहरीले बोरा सिलाउने मेसिन एक थान र विभिन्न चिनी उत्पादक कम्पनीको नाम उल्लेखित दुई सय थान खालि बोरासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए । 
भन्सार छली नेपाल ल्याएर लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका–६ बस्ने कलैया उपमहानगरपालिका–२५ का दिनेश तिवारी र रमेश तिवारीले सो परिमाणको चिनी भन्सार छली नेपालमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेकोे जनाएको छ । उक्त घरभित्रबाट मरिच, छोकडा र केराउलगायत सामग्रीसमेत फेला पारेको र आन्तरिक राजस्व कार्यालय सिमरा बारालाई जानकारी गराइएको प्रहरी उपरीक्षक खनालले बताए । 


 

यसमा तपाईको मत