ग्याजेट विशेष

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

  नागरिक   2020-02-25

 


तपाईंले आजभन्दा केहि वर्ष अगाडी खरिद गरेको ल्यापटप वा कम्प्युटरमा अवश्य पनि हार्ड डिस्क नै थियो । हार्ड डिस्क निकै पहिले देखि प्रयोग हुँदै आएको डिजिटल भण्डारणको लागि प्रयोग गरिएको उपकरण हो । यिनीहरु धेरै साइजमा उपलब्ध हुन्छन र खरिद गर्न पनि तुलनात्मक रुपले सस्ता हुन्छन । तर कम्प्युटर र ल्यापटपको जगतमा प्रोसेसरको स्पिडमा र र्यामको साइजमा भएको फड्कोले चाहिँ हार्ड डिस्कलाइ पछि पारिदियो । नयाँ प्रोसेसर भएको ल्यापटप वा कम्प्युटरमा पनि हार्ड डिस्कको प्रयोग गरिएको खण्डमा सोचे जस्तो राम्रो परफरमेन्स पाउन सकिदैन ।  

पुराना कम्प्युटर वा ल्यापटपलाई फास्ट चल्ने बनाउनका लागि एसएसडीको प्रयोग गर्न सकिन्छ । एसएसडीहरु साधारण हार्ड डिस्कको तुलनामा १० गुणाभन्दा बढी फास्ट हुन्छन । महँगा एसएसडीहरु हार्ड डिस्कभन्दा ३० गुणासम्म पनि फास्ट हुनेगर्दछन् । ल्यापटप वा कम्प्युटरमा भइरहेको हार्ड डिस्क हटाएर उक्त हार्ड डिस्कको सट्टामा एसएसडी हाल्नु पर्ने हुन्छ । एसएसडी प्रयोग गर्नुका फाइदाहरु यस्ता छन्:

१. कम्प्युटर चाडो खुल्ने

हार्ड डिस्क भएको कम्प्युटरलाइ खुल्न जति समय लाग्छ, एसएसडी भएको कम्प्युटर खुल्नलाई त्योभन्दा ३ गुणासम्म कम समय लाग्छ । उदाहरणका लागि: ५४०० आरपीएम ( अर्थात् साधारण) हार्डडिस्कमा ३० सेकेन्ड लागेर खुल्ने कम्प्युटर, एसएसडी राख्नासाथ १० सेकेन्डभन्दा कममा खुल्न सुरुगर्छ ।


२. धेरै प्रोग्रामहरु एकैपटक चलाउन सजिलो बनाउने

एसएसडीको प्रयोगबाट धेरै एप र प्रोग्रामहरु चलाउन सजिलो हुन्छ । एउटा प्रोग्राम चलाउदा चलाउदै अर्कोमा स्विच गरेर चलाउने काम पनि द्रुत हुन्छ । एसएसडी भएको ल्यापटप वा कम्प्युटरमा  एन्टीभाइरस सफ्टवेयरको स्क्यान पनि निकै चाडो हुन्छ ।

३. प्रोग्रामहरु चाडो खुल्ने

हार्डडिस्क भएको कम्प्युटरमा फोटोशप खुल्न एक मिनटसम्म लाग्न सक्छ, तर त्यहि कम्प्युटरमा एसएसडी राखेपछि उक्त प्रोग्राम १०-१५ सेकेन्ड मै खुल्छ र चलाउन तैयार हुन्छ । यसरी नै एसएसडी भएको कम्प्युटर वा ल्यापटपमा सम्पूर्ण प्रोग्रामहरु चाडैं खुल्छन् र चलाउने समयमा पनि राम्रोसँग ह्यांग नभई चल्छन ।

४. गेमिंगमा सुधार

ठूला गेमहरु इन्स्टल हुन घण्टासम्म लाग्न सक्छ । तर एसएसडीको प्रयोग पछि त्यहि गेम पनि केहि मिनट मै इन्स्टल हुन्छ । प्रोग्रामहरु चाडै खुलेजस्तै एसएसडीको प्रयोगबाट गेमहरु पनि चाडैं खुल्न सुरु गर्छन र खेल्ने बेलामा पनि राम्रोसंग चलिरहन्छन् ।

५. सुरक्षित

एसएसडीहरु हार्डडिस्कको तुलनामा निकै सुरक्षित हुन्छन । हार्ड डिस्कहरु मुख्यतः खस्ने बित्तिकै बिग्रने गर्छन तर एसएसडी भने खसेर खासै बिग्रदैन । एसएसडीमा म्याग्नेटिक ( चुम्बकीय ) प्लेटहरु नहुने भएकाले पनि यिनीहरुमा इलेक्ट्रोम्याग्नेटिक झट्काबाट डेटा हराउने वा बिग्रने डर हुदैन, जुन हार्डडिस्कमा हुन्छ ।

६. शान्त र नतात्ने

एसएसडीमा घुम्ने पुर्जाहरु हुँदैनन । यसर्थ प्रयोगको बेलामा आवाज आउदैन र प्रयोगको समयमा हार्ड डिक्सको जस्तो ताप निकाल्दैन ।


बेफाइदा  के ?

एसएसडी प्रयोगका फाइदा नै फाइदा छन् । प्रयोगको समयमा एसएसडी हार्ड डिस्कभन्दा सधै अब्बल नै ठहरिनेछ । तर पनि एसएसडी खरिद गर्दा यी दुइ कुरा भने जानीरहनु पर्ने हुन्छ :

१. एसएसडी महँगा हुन्छन्

एसएसडी हार्ड डिस्कको तुलनामा निकै महँगा हुन्छन । उदाहरणका लागि : नेरु ६ हजारमा १ टेराबाइट अर्थात् हजार जीबीको हार्डडिस्क खरिद गर्न सकिन्छ । तर उक्त मूल्यमा केवल २४० जीबीको मात्र एसएसडी खरिद गर्न सकिन्छ - जुन साइज कतिपय प्रयोगकर्ताका लागि निकै कम हो ।

साइज र परफरमेन्सको सहि तालमेल मिलाउनलाइ कम्प्युटरमा एसएसडी र हार्डडिस्क दुवै राख्नु उचित हुन्छ - विन्डोज र प्रोग्रामहरु एसएसडीमा राख्ने भने गेम, भिडियो, संगीत र आदि फाइलहरु चाहिँ हार्ड डिस्कमा राख्ने ।

२. एसएसडी मात्र फास्ट भएर कम्प्युटर फास्ट हुँदैन    

एसएसडीले कम्प्युटर फास्ट चल्ने त बनाउछ तर कम्प्युटर फास्ट चल्ने बनाउनलाइ एसएसडी मात्र इन्स्टल गरेर पनि हुँदैन । यदि तपाईंको कम्प्युटरमा निकै पुरानो प्रोसेसर छ - उदाहरणका लागि पेन्टियम ४, कोर टु डुवो, एएमडी फिनम आदि जस्ता प्रोसेसर - छन् भने तपाईंले एसएसडी हाल्नुको कुनै अर्थ नै छैन । यस्तो अवस्थामा कम्प्युटर स्लो हुनुमा  हार्ड डिस्कको दोष नभएर प्रोसेसरको दोष हो ।

यदि टास्क म्यानेजरमा १००% डिस्क युजेज प्राय देख्ने गर्नु भएको छ भने चाहिँ तपाईंले एसएसडी प्रयोग गर्नु उचित ठहरिन्छ ।

 

यसमा तपाईको मत