ग्याजेट विशेष

२०१७ मा स्मार्टफोनमा आएका नयाँ परिवर्तनहरु

  नागरिक   2018-04-08

हरेक दिन परिवर्तन हुने समार्टफोनको संसारमा नयाँ वर्षमा के नवीकरण होला भनेर जिज्ञासु हुनु स्वाभाविक हो । नयाँ फिचर बजारमा आउनु भनेको आफ्नो हातमा भएको फोन निरर्थक नै नभए पनि पुरानो भने अवश्य हुन पुग्छ । २०१७ ले हामीलाई कस्ता फिचर र स्मार्टफोन ट्रेन्डहरु दियो भनेर फर्केर हेर्दा हामी तिनका ट्रेन्डसँग अपडेट हुन सक्यौं कि सकेनौं भनेर जानकारी पाउन सक्छौं । तपाईंको फोनलाई पनि नवीकरणको आवश्यकता छ कि ! 

गत वर्ष स्मार्टफोनको संसार बदलिने गरी कुनै पनि आविष्कार नआए पनि स्मार्टफोन उपभोक्ताको अनुभूतिको विकासमा केही सुधारहरु आएका थिए । २०१७ मा केही रोचक ट्रेन्डहरु सुरुवात भए र केही अरु ट्रेन्डहरु चर्चामा आए । यी ट्रेन्डहरु धेरैजसो उपभोक्ताको स्मार्टफोन अनुभूतिको फिचरहरुसँग सम्बन्धित थिए र २०१८ मा बन्ने फोनहरुमा पनि यी फिचरहरु अझै देखापर्ने प्रबल सम्भावना छ ।

 

बढेको स्क्रिन–टु–बडी रेसियो

स्मार्टफोन उत्पादकहरुले आजभोलि चलेको भन्दा ठूलो स्क्रिन–टु–बडी रेसियोलाई जोड दिन थालेका छन् । फोनमा स्क्रिन नभएका भागलाई पनि स्क्रिन बनाएर उही माप भएको फोनमा पनि ठूलो डिस्प्ले दिने चलन २०१७ मा सुरु भएको थियो । स्यामसङ ग्यालेक्सी एस–एटबाट सुरु भएको यो चलन कयौं अरु स्मार्टफोनमा पनि देख्न पाइयो ।

 

इ–सिम

सिमकार्ड राखेर फोन चलाउने पद्धति अब विस्तारै फोनमै आउने इ–सिमको टेक्नोलोजीमा बदलिने सम्भावना छ । इ–सिम टेक्नोलोजी अनुसार फोनमा सुरुमै सिम कार्ड राखेर बजारमा पठाइन्छ र त्यस सिम कार्डलाई हटाउन मिल्दैन । यस टेक्नोलोजीको सुविधाले गर्दा तपाईंले कुन कम्पनीको सिम चलाउने भनेर फोनमा भएको सफ्टवेयर एपबाट सजिलै छान्न सकिन्छ । यस्तो टेक्नोलोजी प्रायः यात्रा गरिरहने उपभोक्ताका लागि निकै आकर्षक हुन्छ किनकि अरु देश जाँदा पनि भौतिक सिम कार्ड नफेरीकनै नयाँ नम्बर लिएर नयाँ फोनको नेटवर्कमा कनेक्ट गर्न मिल्नेछ ।

यस्तो अभ्यास गुगलले २०१७ मा गुगल पिक्सेल २ र पिक्सेल २ एक्स–एलमा सुरु गरेको हो । गुगल जस्तो ठूलो कम्पनीले आफ्नो सबैभन्दा नयाँ फोनमा इ–सिम पनि राख्न मिल्ने व्यवस्था गर्नु भनेको आगामी दिनमा फोन उत्पादक र मोबाइल नेटवर्क कम्पनी दुवैलाई इ–सिम चल्ने व्यवस्थालाई जोड दिने आह्वान हो । सायद २०१८ मा न्यानो सिम र इ–सिम सपोर्ट गर्ने अरु फोन पनि बजारमा देखिन्छन् । यस्तो विशाल परिवर्तनको लागि उचित पूर्वाधार पनि आवश्यक हुने भएकोले इ–सिमको व्यवस्था कार्यान्वयन हुन केही समय भने पक्कै लाग्नेछ । तर, केही समयपछि फोन उत्पादक र मोबाइल नेटवर्क कम्पनीहरुले भौतिक सिम कार्ड हटाउनेछन् र त्यो बेला हामीले अहिले चलाइरहेका फोनहरु निरर्थक बन्नेछन् भनेर तयार हुनु पर्नेछ । 

 

ग्राफिक्समा सुधार

२०१७ मा फोनको डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट सुरु भएपछि ग्राफिक्समा धेरै सुधार आएको मान्न सकिन्छ । रिफ्रेस रेटले फोनले एउटा तस्बिरलाई कति चाँडो अपडेट गर्न सक्छ भनेर निर्धारण गर्छ । यसको अर्थमा रिफ्रेस रेट बढी हुने हो भने मोबाइलमा खेल खेल्दा मात्र नभई स्क्रोल गर्दा पनि तस्बिरहरु स्पष्ट देखिन्छ । गेमरहरुका लागि यो अमूल्य छ, तर सामान्य उपयोगकर्ताको अनुभूतिमा पनि यसले सुधार ल्याउँछ।

नोभेम्बरमा लन्च भएको रेजर फोन साधारण ६० हर्ज रिफ्रेस रेटबाट सुधार गरेर १२० हर्ज रिफ्रेस रेटको डिस्प्लेलाई प्रयोगमा ल्याउने सबैभन्दा चर्चित फोन हो । यो फोन नेपाली बजारमा अझै आइपुगिसकेको छैन । २०१८ मा सायद गेमप्रेमीलाई उत्साहित गराउने यस्ता फोनका मोडल नेपालमा पनि भित्रिन्छन् । यस फिचर अरु फोनहरुले पनि आफ्नो फोनमा राख्न थाले भने उपभोक्ताको अनुभूतिमा पनि वृद्धि देख्न पाइनेछ । 

 

१८:९ को डिस्प्ले रेसियो

ठूलो चलचित्र पर्दा र टिभी स्क्रिनमा प्रयोग गरिने डिस्प्ले रेसियो १६:९ भएकाले स्मार्टफोनमा पनि यही रेसियोको डिस्प्ले प्रयोग गरिएको थियो । फोनको सानो स्क्रिनमा पनि यही सर्वस्वीकृत डिस्प्ले रेसियो नै अपनाउँदा ठिक मानियो । तर २०१७ मा केही प्रमुख स्मार्टफोनले १८:९ को डिस्प्ले रेसियो प्रयोग गर्न थाले ।

एलजी जी–सिक्स पहिलो फोन थियो जसमा ५.७ इन्चको डिस्प्लेमा १८:९ को रेसियो प्रयोग गरिएको थियो । यसलाई अझ चर्चा दिने स्यामसङको ग्यालेक्सी एस–एट र एस–एट प्लस थिए जसमा १८.५:९ को रेसियो प्रयोग गरिएको थियो । यी फोनपछि स्यामसङ ग्यालेक्सी नोट एट, एलजी भी–थर्टी, वान् प्लस फाइब–टी र अरु कयौं फोनहरुले यही डिस्प्ले रेसियो प्रयोग गरे ।

नयाँ फिचर भएको कारणले गर्दा यसमा केही समस्या छन् । यस नयाँ डिस्प्ले रेसियोका लागि भनेर चलचित्र बजारमा आउन थालिसके तर अझै पनि सर्वस्वीकृत डिस्प्ले रेसियो १६:९ नै छ । त्यसैले धेरै फिल्म र भिडियोहरु कि त स्क्रिनमा मिल्न तन्किनुपर्ने हुन्छ कि त भिडियोलाई बिग्रेको नदेखिन लेटरबक्सिङ प्रयोग गर्नुपर्छ । तर, यदि १८:९ को डिस्प्ले रेसियोले अझै निरन्तरता पायो, र मध्यम श्रेणी र बजेट फोनमा पनि यो डिस्प्ले प्रयोग हुन थाल्यो भने भिडियोहरु स्मार्टफोनका उपभोक्ताका लागि त्यही रेसियोमा बनाइन थाल्नेछन् ।

उपभोक्ताका लागि भने यस समस्या खासै ठूलो नभएको देखिन्छ र १८:९ को डिस्प्ले रेसियोलाई स्मार्टफोनमा स्वागत गरिँदैछ । २०१८ मा मध्यम वर्ग र अझ बजेट फोनमा पनि नयाँ डिस्प्लेको यस ट्रेन्ड आएर अझै चर्चित हुने हाम्रो अपेक्षा छ । स्क्रिन ठूलो भएको सबैलाई मनपर्छ – फोन उत्रै तर अझै विशेष !

 

डुअल लेन्स क्यामरा

स्मार्टफोनमा डुअल लेन्स क्यामरा नयाँ आविष्कार त होइन तर २०१७ मा यो ट्रेन्ड निकै चलनमा आयो । ठूला स्मार्टफोन उत्पादकले बनाएका चर्चित फोनमा दुईवटा लेन्स नभएको फोन कमै भेटिन्छ । २०१७ मा नै फोन क्यामरामा आएको ट्रेन्ड भनेको ‘अप्टिकल जुम’ हो । वान् प्लस फाइभ र एप्पलको आइफोन सेभेन प्लसमा यो फिचर देख्न पाइएको थियो । २०१७ मा डुअल लेन्स क्यामरा चर्चित भयो र सायद २०१८ मा अप्टिकल जुमले उस्तै चर्चा पाउनेछ ।

 

यसमा तपाईको मत