ग्याजेट विशेष

दशैँ - तिहार स्मार्टफोन खरिद गाइड

  नागरिक   2018-10-16

दशैँमा कुन स्मार्टफोन किन्ने दोधारमा हुनुहुन्छ ? यो हो हरेक बजेटलाई समेटेको बृहत दशैं स्मार्टफोन खरिद गाइड :

१. १२ हजार भन्दा कम

यो बजेटको रेन्जमा पाइने स्मार्टफोनहरु कल गर्न, इन्टरनेट चलाउन, साना तिना गेमहरु खेल्न र एपहरु प्रयोगका लागि सेवायोग्य हुन्छ | यो रेन्जमा पर्ने स्मार्टफोनहरुको क्यामरा गुणस्तर, स्पिड, डिजाइन र फिंगरप्रिन्ट स्क्यानर जस्ता फिचरहरुमा कटौती गरिएको हुन्छ | यो मूल्यमा पुराना मोडलका स्मार्टफोनहरु पनि पाइन्छन् तर नयाँ मोडलमा नयाँ संस्कारणको एन्ड्रोइड हुने र नयाँ फिचरहरु हुने पुरानो मोडल भन्दा नयाँ मोडल कै लिनु उचित हुन्छ |

सामसंग J२ कोर

एकदमै साधारण डिजाइन, सानो आकार र एन्ड्रोइडको Go संस्करण भएको यो स्मार्टफोन टाइट बजेटमा हुनेहरुका लागि र पहिलो पटक स्मार्टफोन लिनेहरुका लागि उचित हुनसक्छ | यसमा ५ इन्चको डिस्प्ले, चारवटा कोरभएको प्रोसेसर, १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज राखिएको छ | क्यामरामा ८ मेगपिक्सलको मुख्य क्यामरा र ५ मेगपिक्सलको सेल्फी क्यामरा राखिएको छ | डबल सिम र मेमोरी कार्ड हाल्न मिल्ने यस बजेट स्मार्टफोनमा 4G भने छैन |

नेपाली बजार मूल्य : ११,६९०


राम्रा कुराहरु :

  • सानो आकार, राम्रो डिजाइन
  • राम्रो सेल्फी क्यामरा
  • लामो ब्याट्री लाइफ
  • एन्ड्रोइड Go संस्करण

मुख्य कमजोरीहरु:

  • १ जीबी र्याम र ८ जीबी इन्टरनल निकै थोरै
  • स्लो प्रोसेसर
  • चमक र रेजोलुसन कम भएको डिस्प्ले


हुवावे Y3 २०१८

एन्ड्रोइड ओरियोको Go संस्करण राखिएको यो स्मार्टफोन Y३ को २०१८ मा रिलिज भएको संस्करण हो | यहि नाम गरेको २०१७ को मोडल पनि बजारमा पाइन्छ तर मूल्य समान भएकाले नयाँ संस्करण नै लिनु उचित हुन्छ | ५ इन्च ४८०x८५४ पिक्सल रेजोलुसनको डिस्प्ले प्रयोग गरिएको यस स्मार्टफोनको आकार माथि उल्लेख गरिएको  ग्यालेक्सी J२ कोर संग मिल्दो छ | यसमा पनि १ जीबी र्याम, ८ जीबी इन्टरनल, डबल सिम र मेमोरीकार्ड स्लट राखिएको छ | यो स्मार्टफोन मेडियाटेकको ४ वटा कोर भएको स्लो तर ब्याट्री बचत गर्ने प्रोसेसरमा चल्छ | पछाडी ८ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ भने अगाडी केवल २ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ |

नेपाली बजार मूल्य : ११,४००

राम्रा कुराहरु:

  • एन्ड्रोइड Go संस्करण
  • लामो ब्याट्री लाइफ

मुख्य कमजोरीहरु:

  • १ जीबी र्याम र ८ जीबी इन्टरनल निकै थोरै
  • स्लो प्रोसेसर
  • केवल २ मेगापिक्सलको सेल्फी क्यामरा


२. १२ देखि १८ हजारसम्मको

यो रेन्जमा पर्ने अधिकांस स्मार्टफोनहरुमा माथि उल्लेख गरिएका भन्दा अलि सुधारिएको प्रोसेसर, डिस्प्ले र डिजाइन समावेश गरिएको हुन्छ | येही रेन्जको केहि स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर र डबल क्यामरा जस्ता फिचरहरु पनि राखिएको पाइन्छ | यो रेन्जमा पर्ने यस वर्षका केहि उत्कृष्ट स्मार्टफोनहरु :

हुवावे Y६ २०१८

अहिले खुबै प्रचलनमा आएको १८:९ अनुपातको डिस्प्ले राखिएको यस बजेट स्मार्टफोन हेर्दामा निकै आकर्षक छ | नेपाली बजारमा हुवावे Y6 Prime का नामले पनि चिनिने यस स्मार्टफोनमा २ जीबी र्याम र पुरानो Snapdragon 425 प्रोसेसर राखिएको छ | मेमोरी कार्ड मार्फत बढाउन मिल्ने १६ GB आन्तरिक स्टोरेज रहेको छ | यो स्मार्टफोन Android 8.0 मा चल्छ | पछाडी मुख्य १३ मेगपिक्सलको क्यामरा छ र अगाडी फ्ल्याश सहित ५ मेगापिक्सलको सेल्फी क्यामरा छ |

नेपाली बजार मूल्य : १५,५००

राम्रा कुराहरु:

  • आकर्षक डिजाइन
  • फूल स्क्रिन १८:९ डिस्प्ले
  • राम्रो क्यामरा
  • फ्रन्ट फ्ल्यास

मुख्य कमजोरीहरु:

  • फिंगरप्रिन्ट स्क्यानर छैन
  • पुरानो र स्लो प्रोसेसर
  • डिस्प्लेमा प्रोटेक्सन छैन
  • मात्र २ जीबी र्याम


ग्यालेक्सी J४

सामसंगले यहि वर्ष निकालेको बजेट स्मार्टफोन हो  ग्यालेक्सी J4 | अलिक महँगो J6 मा भएका प्रोसेसर र अन्य आन्तरिक कुराहरुलाई र सस्तो J2 को डिजाइन मिसाएर बनाइएको यस स्मार्टफोन बजेटमा भएका लागि निकै आकर्षक प्याकेज हो | अहिले प्रचलनमा आएको १८:९ डिस्प्ले  र डबल क्यामरा नभए पनि यस स्मार्टफोनले आधारभूत कुराहरुलाई राम्रोसंग समेटेको छ | मुख्य क्यामरा १३ मेगापिक्सलको छ भने ५ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ | अगाडी राम्रो AMOLED प्रविधि प्रयोग गरिएको डिस्प्ले छ र भित्र फास्ट प्रोसेसर, २ जीबी र्याम र १६ जीबी इन्टरनल स्टोरेज छ | डबल सिम लाग्ने र मेमोरी स्लट भएको यो स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर चाहिँ छैन |

नेपाली बजार मूल्य :१५,४९० ( १६ जीबी इन्टरनल स्टोरेज भएको मोडल)

राम्रा कुराहरु:

  • निकै राम्रो AMOLED प्रविधि प्रयोग गरिएको डिस्प्ले
  • राम्रो ब्याट्री लाइफ
  • फास्ट Exynos 7570 प्रोसेसर
  • फ्रन्ट फ्ल्यास

मुख्य कमजोरीहरु:

  • मात्र २ जीबी र्याम
  • आउटडेटेड डिजाइन
  • डिस्प्लेमा प्रोटेक्सन छैन

 

सायोमी रेड्मी ६  

चिनियाँ कम्पनी सायोमीले निकै लामो समयदेखि थोरै रकममा पनि अब्बल परफरमेन्स, क्यामरा र गुणस्तर भएका स्मार्टफोन बिक्री गर्दै आएको छ | रेड्मी सिरिज सायोमीको निकै प्रचलित बजेट स्मार्टफोन सिरिज हो | निकै ट्रेन्डमा आएको १८:९ अनुपातको ५.४५ इन्चको एचडी डिस्प्ले राखेर बनाइएको यो स्मार्टफोन हेर्दा आकर्षक छ | फोटोमा ब्लर इफ्फेक्ट ल्याउन सक्षम बनाउने डबल १२ मेगापिक्सल र ५ मेगापिक्सलको क्यामरा राखिएको छ | अगाडी ५ मेगापिक्सलको गुणस्तरीय सेल्फी क्यामरा पनि रहेको छ | भित्र फास्ट हेलियो प्रोसेसर, ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज राखिएको छ | डबल सिम र मेमोरी कार्ड लाग्ने यो स्मार्टफोनले 4G पनि सपोर्ट गर्छ |

नेपाली बजार मूल्य: १६,५०० ( ३ जीबी र्याम, ३२ जीबी इन्टरनल स्टोरेज)

राम्रा कुराहरु:

  • राम्रो डिस्प्ले : ७२०p १८:९ अनुपातको
  • डबल क्यामरा
  • फास्ट प्रोसेसर
  • फास्ट फिंगरप्रिन्ट स्क्यानर

मुख्य कमजोरीहरु:

  • औसत ब्याट्री लाइफ
  • डिस्प्लेमा प्रोटेक्सन छैन

भिभो Y७१

भिभो Y७१ ठूलो डिस्प्ले मन पराउने हरुका लागि उचित हुन्छ किन कि यस स्मार्टफोनमा ठूलो ६ इन्चको १८:९ अनुपातको फुलस्क्रिन डिस्प्ले राखिएको छ | उक्त डिस्प्लेको रेजोलुसन एचडी मै सिमित छ | भित्र ३ जीबी र्याम, कमजोर भएपनि राम्रो ब्याट्री लाइफ दिने Snapdragon 425 प्रोसेसर र १६/३२ जीबी इन्टरनल स्टोरेज राखिएको छ | यो स्मार्टफोन  एन्ड्रोइड ८.१ ओरियोमा चल्छ | पछाडी १३ मेगपिक्सलको अटोफोकस भएको क्यामरा छ भने अगाडी ५ मेगापिक्सलको राम्रो गुणस्तरको सेल्फी क्यामरा छ | डबल सिम र मेमोरी कार्ड लाग्ने यो स्मार्टफोनले 4G पनि सपोर्ट गर्छ |

नेपाली बजार मूल्य : १७,८००

राम्रा कुराहरु:

  • राम्रो एल्मुनियमको बनोट
  • राम्रो सेल्फी क्यामरा
  • राम्रो ब्याट्री लाइफ
  • ३ जीबी र्याम र पर्याप्त इन्टरनल स्टोरेज

मुख्य कमजोरीहरु:

  • चाडै तात्ने
  • औसत मुख्य क्यामरा
  • डिस्प्लेमा प्रोटेक्सन छैन

 

३. १८ देखि ३० हजारसम्मको

यो रेन्जमा आइसके पछि लगभग सबै स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर हुन्छन, 4G सपोर्ट गर्छन, अधिकतममा डबल क्यामरा हुन्छन् र सम्झौता नगरिएको परफरमेन्स हुन्छ | यो रेन्ज नै सम्भवत नेपाली बजारको सबैभन्दा बढी प्रचलित रेन्ज हो | यो रेन्जका स्मार्टफोनहरुमा विविधता र विकल्पहरु थुप्रै छन् | सबै ठूला र साना स्मार्टफोन निर्माताले यो रेन्जका स्मार्टफोनमा नयाँ र अभिनव फिचरहरु ल्याउदै छन् र यसबाट प्रयोगकर्तालाई नै फाइदा भइरहेको छ | यसर्थ सम्झौता नगरिएको र निकै राम्रो स्मार्टफोन प्रयोगको अनुभूति यो रेन्जमा आउने अधिकतम् स्मार्टफोनबाट लिन मिल्छ |

सायोमी मि A2 लाइट

सायोमी रेड्मी ६ प्रो का नामले पनि चिनिने यो स्मार्टफोन गुगलको एन्ड्रोइड वान प्रोग्राम अन्तर्गत पर्दछ | यसर्थ यो स्मार्टफोनमा स्टक एन्ड्रोइडको संस्करण छ भने अपडेट पनि निकै चाडो पाउछ | झट्ट हेर्दा आइफोन X जस्तो देखिने भए पनि यो स्मार्टफोन आकर्षक छ | आगाडी ५.८ इन्चको नच सहितको फुल एचडी डिस्प्ले छ | पछाडीको भाग एल्मुनियमले बनेको छ जसमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ र दुईवटा क्यामरा छन् - १२ मेगापिक्सलको मुख्य र ५ मेगापिक्सलको सहायक सेन्सर | अगाडी ५ मेगापिक्सलको सेल्फी क्यामरा छ | पुरानो तर ब्याट्री बचत गर्ने Snapdragon 625 को प्रयोग भएको छ र ३२/३ जीबी र ६४/४ जीबीमा उपलब्ध छ |

नेपाली बजार मूल्य : २१,००० ( ३ जीबी र्याम, ३२ जीबी स्टोरेज )

राम्रा कुराहरु:

  • आकर्षक डिजाइन
  • लामो ब्याट्री लाइफ
  • राम्रो गुणस्तरको क्यामरा

कमजोरीहरु:

  • पुरानो माइक्रो युएसबीको प्रयोग
  • 4K भिडियो खिच्दैन, यहि प्रोसेसर भएको अन्य स्मार्टफोनबाट खिच्न मिल्छ  


नोकिया ६.१

गत वर्ष रिलिज भएर निकै चर्चा पाएको नोकिया ६ को नयाँ संस्करण हो नोकिया ६.१ । यसलाई नोकिया ६ २०१८ का नामले पनि चिनिन्छ । गत वर्षकै डिजाइनमा आधारित भएर बनाइएको नोकिया ६.१ मा नयाँ र शक्तिशाली Snapdragon 630 प्रोसेसर र सुधारिएको १६ मेगपिक्सलको क्यामरा राखिएको छ । नोकियाका अन्य स्मार्टफोन जस्तै यसमा पनि एन्ड्रोइड वान प्रोग्राम भएकाले भविष्यमा आउने नयाँ संस्करण चाँडै पाउनेछ । अगाडी फुल एचडी डिस्प्ले र पछाडी फास्ट फिंगरप्रिन्ट स्क्यानर छ | सेल्फीमा ८ मेगापिक्सलको क्यामरा छ | यो स्मार्टफोन ३२/३ जीबी र ६४/४ जीबी संस्करणमा उपलब्ध छ |

नेपाली बजार मूल्य: २६,००० (३ जीबी र्याम, ३२ जीबी स्टोरेज)

राम्रा कुराहरु:

  • राम्रो क्यामरा र डिस्प्ले
  • लामो ब्याट्री लाइफ
  • बलियो डिजाइन
  • युएसबी सि र फास्ट चार्ज

कमजोरीहरु:

  • डबल क्यामरा छैन
  • फुलबडी डिस्प्ले होइन
  • आउटडेटेड डिजाइन

ग्यालेक्सी J६  

सामसंग ग्यालेक्सी J६ आकर्षक र सबै आधारभूत कुराहरु समेटेको मिडरेन्ज प्याकेज हो | अगाडी ५.६ इन्चको फुल बडी र उच्चस्तरीय एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ तर रेजोलुसन भने एचडीमा मात्र सिमित छ | त्यही डिस्प्लेको माथि फ्ल्याश सहितको ८ मेगपिक्सलको सेल्फी क्यामरा छ | भित्र सामसंगको फास्ट प्रोसेसर र ३ कि ४ जीबी र्याम छ | पछाडीको प्लास्टिकले बनेको छ जसमा फास्ट फिंगरप्रिन्ट स्क्यानर छ र राम्रो गुणस्तरको एउटा १३ मेगपिक्सलको क्यामरा |

नेपाली बजार मूल्य: २४,००० ( ३ जीबी र्याम, ३२ जीबी स्टोरेज)

राम्रो कुराहरु:

  • राम्रो गुणस्तरको डिस्प्ले
  • निकै राम्रो ब्याट्री लाइफ
  • फास्ट

मुख्य कमजोरीहरु :

  • केवल ७२०p डिस्प्ले
  • माइक्रो युएसबीको प्रयोग र फास्ट चार्ज छैन
  • प्लास्टिकको बडी

४. ३० देखि ४५ हजारसम्मको

यस रेन्जका स्मार्टफोनहरु माथिको रेन्जमा उल्लेख गरिएका स्मार्टफोन भन्दा खासै फरक हुदैनन् - तर यो रेन्जको स्मार्टफोनमा केहि बढी मात्रमा मेमोरी, स्टोरेज, अलि सुधारिएको क्यामरा र अलि फास्ट प्रोसेसर हुन्छन् |

सायोमी मि ए २

सायोमीको निकै प्रचलित मी ए१ को नयाँ संस्करण मी ए२ मा निकै धेरै सुधार गरिएको छ । पुरानो मोडल जस्तै यो नयाँ संस्करण पनि गुगलको एन्ड्रोइड वान प्रोग्राम अन्तर्गत पर्छ । यसर्थ यो स्मार्टफोनले निकै चाँडो सफ्टवेयर अपडेट पाउने छ । पुरानो मोडलको तुलनामा नयाँ र शक्तिशाली Snapdragon 660 प्रोसेसर, निकै सुधार गरिएको डबल १२ र ३२ मेगपिक्सलको क्यामरा र १८ः९ अनुपातको फुल एचडी डिस्प्ले राखिएको छ तर हेडफोन ज्याक र मेमोरी कार्ड स्लट भने हटाइएको छ ।

नेपाली बजार मूल्य: नेरु ३१,०००

राम्रा कुराहरु:

  • निकै राम्रो डिजाइन
  • उच्चस्तरीय सेल्फी क्यामरा - २० मेगापिक्सलको
  • लेटेस्ट एन्ड्रोइड अपडेट पाउने
  • फास्ट प्रोसेसर

मुख्य कमजोरीहरु :

  • हेडफोन ज्याक छैन
  • मेमोरी कार्ड लाग्दैन

सायोमी पोकोफोन

पोकोफोनले फ्याल्ग्शिप तहको परफरमेन्स त्यो पनि मिडरेन्जमा उपलब्ध गराएको छ | वनप्लस, सामसंग र पिक्सलका फ्ल्याग्शिपमा प्रयोग हुने र अहिलेको सबैभन्दा शक्तिशालि प्रोसेसर मध्ये एक Snapdragon 845 को प्रयोग यस स्मार्टफोनमा गरिएको छ | यससंगै ६ वा ८ जीबी र्याम, ४००० mAH को निकै ठूलो ब्याट्री,डबल क्यामरा, २० मेगपिक्सल फ्रन्ट क्यामरा र गुणस्तरीय ६ इन्चको फुल एचडी फुल बडी डिस्प्ले पनि छ | मिडरेन्जको मूल्यमा फ्ल्याग्शिप तहको परफरमेन्स खोज्ने र गेम खेल्न रुचाउनेहरुका लागि यो सम्भवत यो रेन्ज कै सबैभन्दा उत्कृष्ट स्मार्टफोन हो | तर प्लास्टिकले बनेको भएकाले यो स्मार्टफोन हेर्दामा अलि कम आकर्षक छ |

राम्रा कुराहरु:

  • निकै फास्ट प्रोसेसर, गेमिंगका लागि उत्कृष्ट
  • ६ वा ८ जीबी र्याम, ६४ / १२८/२५६ जीबी स्टोरेज
  • युएसबी सि र फास्ट चार्ज
  • राम्रो ब्याट्री लाइफ

मुख्य कमजोरी :

  • प्लास्टिक डिजाइन


हुवावे नोभा 3i

हुवावेले यस वर्ष निकै अब्बल र गुणस्तरीय मिडरेन्ज फ्ल्याग्शिपको रिलिज गरेको छ जसमध्ये हुवावे नोभा ३i पनि एक हो | चम्किलो सिसाले बनेको यो स्मार्टफोन हेर्दा निकै आकर्षक छ | अगाडी ६.३ इन्चको फुलएचडी डिस्प्ले छ जसको माथि नच छ | उक्त नचमा दुई वटा सेल्फी क्यामरा छन् - २४ मेगापिक्सल र २ मेगापिक्सलको जसले ब्लर इफ्फेक्टमा सहायता पुर्याउने छ | पछाडीको भाग सिसाले बनेको छ जसमा निकै फास्ट फिंगरप्रिन्ट स्क्यानर छ र दुईवटा १६ मेगापिक्सल र २ मेगापिक्सलको क्यामरा राखिएको छ | उक्त क्यामराले दिनमा राम्रो तस्विर खिच्छ भने रातीमा अलि कम्जोर छ | हुवावेको नया Kirin 710 प्रोसेसर प्रयोग भएकाले यो स्मार्टफोन फास्ट पनि छ र ब्याट्री पनि निकै धेरै टिक्छ |

नेपाली बजार मूल्य: ३८,९०० ( ४ जीबी र्याम, १२८ जीबी स्टोरेज)

राम्रो कुराहरु:

  • आकर्षक डिजाइन
  • निकै राम्रो ब्याट्री लाइफ
  • डबल सेल्फी क्यामरा
  • फास्ट प्रोसेसर
  • १२८ जीबी इन्टरनल स्टोरेज

मुख्य कमजोरीहरु:

  • माइक्रो युएसबीको प्रयोग जसमा फास्ट चार्ज छैन
  • 4K भिडियो खिच्दैन
  • औसत क्यामरा गुणस्तर

सामसंग ए ६ (२०१८)


सामसंगको प्रचलित मिडरेन्ज स्मार्टफोनको लाइनअपको ग्यालेक्सी ए सिरिज  | फ्ल्याग्शिप गुणस्तरको डिजाइन र मिडरेन्ज तहको अन्य कुराहरु मिलेर बन्ने यो सिरिज निकै धेरैको रोजाइ बनेको छ | यस वर्ष ए सिरिजको नयाँ सदस्यको ए ६ र ए ६+ | ए ६ र ए ६+ दुवैको डिजाइन एकै किसिमको छ तर ए ६+ आकारमा अलि ठूलो छ र दुईवटा क्यामरा छ | ए६ र ए ६+ दुवैमा १८.५:९  अनुपातको एमोलेड डिस्प्ले राखिएको छ | ए६ मा उक्त डिस्प्लेको साइज ५.६ इन्च र रेजोलुसन ७२०p छ भने ए६+ मा डिस्प्ले साइज ६ इन्चको र रेजोलुसन फुल एचडी १०८०p रहेको छ |
ए६ मा सामसंगको आफै प्रोसेसर राखिएको छ भने ए६+ मा Snapdragon 450 राखिएको छ - दुवै प्रोसेसर खासै फास्ट भने छैनन् तर ब्याट्री चाहिँ निकै धेरै बचत गर्छन् |ए६ मा १६ मेगपिक्सलको मुख्य क्यामरा छ र ए ६+ मा १६ मेगपिक्सल र ५ मेगापिक्सल गरी दुईवटा क्यामरा छन् | ए ६ मा १६ मेगापिक्सल  सेल्फी क्यामरा छ भने ए ६+ मा २४ मेगापिक्सलको |

नेपाली बजार मूल्य: ग्यालेक्सी ए६ - ३३,५००
           ग्यालेक्सी ए६+ - ३७,९००

राम्रा कुराहरु:

 

  • निकै राम्रो एल्मुनियमको  डिजाइन
  • लामो ब्याट्री लाइफ
  • उत्कृष्ट सेल्फी क्यामरा

मुख्य कमजोरीहरु:

  • ए६ मा निकै कम्जोर डिस्प्ले
  • ए६ र ए६+ दुवैमा कमजोर प्रोसेसर
  • दुवैले फास्ट चार्ज सपोर्ट गर्दैन
  • ए ६ मा माइक्रो युएसबी राखिएको छ

५. ४५ देखि ६० हजारसम्मको

यो मूल्यको दायरामा पाइने स्मार्टफोनहरु फ्ल्यागशिप तहका हुन्छन | यिनीहरु कि त निर्माताको एक वर्ष पुरानो फ्ल्याग्शिप हुन् कि त फ्ल्याग्शिप भन्दा एक तह मुनिको | डिजाइन, स्पिड, क्यामरा, ब्याट्री र अन्य फिचरहरुमा कम नै सम्झौता गरिएको हुन्छ |  

सामसंग ए ८ स्टार

सामसंगको फ्ल्याग्शिप कै डिजाइनमा आधारित भएर बनाइएको स्मार्टफोन हो ए८ स्टार | यो स्मार्टफोन अगाडी र पछाडी दुवै तिर ग्लासले बनेको छ र साइडमा एल्मुनियमको फ्रेम छ | यस स्मार्टफोनमा ६.३ इन्चको फुलएचडी एमोलेड डिस्प्ले छ | भित्र शक्तिशाली Snapdragon 660 प्रोसेसर, ६/८ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज राखिएको छ | ग्लासले बनेको पछाडीको भागमा फास्ट फिंगरप्रिन्ट स्क्यानर छ र त्यही ग्लास कै माथिल्लो भागमा दुई वटा २४ र १६ मेगापिक्सलको क्यामराहरु छन् | अगाडी निकै राम्रो २४ मेगापिक्सलको क्यामरा छ |

नेपाली बजार मूल्य: ५७,०००

राम्रा कुराहरु:

  • फ्ल्याग्शिप गुणस्तरको डिजाइन
  • निकै राम्रो सेल्फी क्यामरा
  • फास्ट प्रोसेसर
  • राम्रो एमोलेड डिस्प्ले

मुख्य कमजोरीहरु:

  • निकै महँगो
  • पानी प्रतिरोधी होइन

हुवावे नोभा ३

हुवावे नोभा ३i को अब्बल संस्करण हो नोभा ३ | उपल्लो मिडरेन्जमा पर्ने यो स्मार्टफोनमा हुवावेको हालको सबैभन्दा राम्रो प्रोसेसर Kirin 970 छ  जसले गर्दा यो स्मार्टफोन गेमिंगका लागि पनि निकै राम्रो छ | अगाडी ६.३ इन्चको फुल एचडी फुलबडी डिस्प्ले, डिस्प्लेको माथि पट्टि नच र नचमा २४ मेगापिक्सल र २ मेगापिक्सल गरि दुईवटा सेल्फी क्यामरा रहेका छन् | पछाडी पनि १६ मेगापिक्सल र २४ मेगापिक्सल गरेर दुईवटा क्यामरा छन् | ४ जीबी र ६ जीबी र्यामका मोडलमा उपलब्ध यो स्मार्टफोनमा १२८ जीबी इन्टरनल स्टोरेज राखिएको छ |

नेपाली बजार मूल्य : ६०,०००

राम्रा कुराहरु:

  • आकर्षक चम्किलो सिसाको डिजाइन
  • १२८ जीबी इन्टरनल स्टोरेज  
  • लामो ब्याट्री लाइफ र फास्ट चार्ज सपोर्ट

मुख्य कमजोरीहरु:

  • मूल्य अनुसारको क्यामरा गुणस्तर नभएको
  • पानी प्रतिरोधी छैन

वनप्लस ५ | ५T

वनप्लस कम्पनीले आफ्नो परिचय “फ्ल्याग्शिप किलर” बाट दिने गरको छ | यसर्थ थोरै मूल्यमा फ्ल्याग्शिप गुणस्तरको परफरमेन्स र फिचरहरु | हालै आएर उक्त “फ्ल्याग्शिप किलर” को हकदार सायोमीको पोकोफोन भएपनि वनप्लस आफ्नो स्थानमा निकै राम्रो छ | वनप्लस ५ र ५T गत वर्ष ६ महिनाको अन्तरालमा निस्किएका स्मार्टफोनहरु हुन् | यिनीहरु दुवैमा एक वर्ष पुरानो तर निकै फास्ट Snapdragon 835 प्रोसेसर राखिएको छ | वनप्लस ५ मा साधारण १६:९ अनुपातको ५.५ इन्च डिस्प्ले छ भने ५T मा १९:८ अनुपातको फुलबडी ६ इन्च डिस्प्ले | दुवै मोडल ८ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध छन् | दुवै स्मार्टफोनमा पछाडी डबल क्यामरा छ तर वनप्लस ५मा भएको जुम लेन्सको सट्टा वनप्लस ५T मा दुवै वाइड एन्गल लेन्स राखिएको छ | रिलिजको लगभग दुई वर्ष हुन लाग्दा पनि यो मूल्यको दायरामा वनप्लस अझै पनि धेरैका लागि राम्रो रोजाइ बन्छ |

नेपाली बजार मूल्य: ५०,०००

राम्रो कुराहरु:

  • फास्ट प्रोसेसर
  • ८ जीबी र्याम र  १२८ जीबी इन्टरनल स्टोरेज
  • निकै राम्रो एमोलेड डिस्प्ले
  • एन्ड्रोइडको अपडेटमा द्रुत
  • निकै फास्ट चार्ज हुने

मुख्य कमजोरी:

  • पानी प्रतिरोधी होइन
  • मेमोरी कार्ड लाग्दैन
  • डिजाइन मौलिक छैन


६. ६० हजारभन्दा माथि

यस मूल्यभन्दा माथि पाइने अधिकांस स्मार्टफोनहरु फ्ल्याग्शिप नै हुन् | सामसंग, हुवावे र एप्पलका कुनै कुनै अब्बल स्मार्टफोनहरुलाई  ९० हजारभन्दा पनि माथि पर्छ |

वनप्लस ६

यस वर्ष वनप्लसको रिलिजको वनप्लस ६ | सुधारिएको डिजाइन, नच भएको ६.२ इन्चको  निकै राम्रो एमोलेड डिस्प्ले, फास्ट Snapdragon 845 र पानी प्रतिरोध गर्न गर्ने क्षमता नै यस स्मार्टफोनका मुख्य नयाँ फिचर हुन् | यस वर्षको वनप्लसको पछाडी ग्लासले बनेको छ र त्यही ग्लासको बीच भागमा डबल २० मेगापिक्सल र १६ मेगापिक्सलको क्यामरा र फास्ट फिंगरप्रिन्ट स्क्यानर छ भने अगाडी १६ मेगापिक्सलको सेल्फी क्यामरा छ |

नेपाली बजार मूल्य: ७४,०००

राम्रो कुराहरु:

  • निकै फास्ट चार्ज हुने र राम्रो ब्याट्री लाइफ
  • राम्रो मुख्य क्यामरा
  • उच्चस्तरीय प्रोसेसर र डिजाइन

मुख्य कमजोरी:

  • मेमोरीकार्ड लाग्दैन
  • हेडफोन ज्याक छैन
  • वायरलेस चार्जिंग छैन

सामसंग ग्यालेक्सी  S९ | S९+

यस वर्षको सामसंगको फ्ल्याग्शिप हो S९ र S९+ र यो स्मार्टफोनलाई अहिले उपलब्ध स्मार्टफोन भरिमा सबैभन्दा अब्बल प्याकेज मान्न सकिन्छ  | गत वर्षको मोडल सामसंग ग्यालेक्सी S८ कै डिजाइनमा आधारित भएर केहि सुधार गरिएको छ | S९ मा ५.८ इन्चको क्वाड एचडी एमोलेड डिस्प्ले छ भने S९+ मा ६.२ इन्चको | उक्त एमोलेड डिस्प्लेले HDR १० सपोर्ट गर्छ | दुवै मोडलमा सामसंगको उच्चस्तरीय Exynos 9810 प्रोसेसरको प्रयोग गरिएको छ र ४/६ जीबी र्याम छ | दुवै मोडलमा पछाडी अपर्चर परिवर्तन हुने १२ मेगापिक्सलको क्यामरा राखिएको छ | S९+ मा भने एउटा थप जुम लेन्स पनि छ | अन्य फिचरहरुमा फिंगरप्रिन्ट स्क्यानर,आखा स्क्यान गर्ने आइरिस स्क्यानर, मुटुको धड्कन नाप्ने सेन्सर, बारोमिटर, एसपीवो२ सेन्सर, ९६०फ्रेम प्रति सेकन्डको स्लो मोसन भिडियो र हेडफोन ज्याक पनि छ |

नेपाली बजार मूल्य: S९ - ८७,००० | S९ प्लस : ९९,०००

राम्रो कुराहरु:

  • प्रिमियम पानी प्रतिरोधी डिजाइन
  • सबैभन्दा राम्रो एमोलेड डिस्प्ले
  • डबल स्टेरो स्पिकर
  • सुपर स्लो मोसन क्यामरा - ९६० फ्रेम प्रति सेकेन्ड
  • निकै राम्रो क्यामरा
  • हेडफोन ज्याक, वायरलेस चर्जिंग, आइरिस स्क्यानर, मेमोरी कार्ड स्लट, डबल सिम सबै भएको

मुख्य कमजोरी:

  • पुरानै S८ को जस्तो डिजाइन
  • सुपर स्लो मोसन भिडियो केवल ७२०p मै सिमित
  • अन्यको तुलनामा स्लो चार्ज हुने
  • महँगो


आइफोन

एप्पलका आइफोनहरुलाई सबैभन्दा प्रिमियम स्मार्टफोन मानिन्छ | नेपालमा आइफोनको नयाँ मोडलका बारेमा जानकारी नहुने व्यक्ति निकै कम नै हुन्छन् | विदेशमा रिलिज भएको आइफोन नेपालमा आइपुग्न केहि साता लाग्छ र नेपालमा एप्पल स्टोर नभएको कारणले पनि विदेशको तुलनामा निकै महँगो हुन्छ | यो वर्ष रिलिज भएको आइफोन Xs र Xs  म्याक्स यो लेख लेख्ने समयमा नेपाली बजारमा आइसकेका छैनन् | अहिलेको नयाँ आइफोनमा सुधारिएको क्यामरा, ठूलो ६.५ इन्चको म्याक्स मोडल  र नयाँ र फास्ट प्रोसेसर रहेका छन् | डिजाइन भने पुरानो आइफोन X संग निकै मिल्दो छ | पछाडी डबल १२ मेगापिक्सलको क्यामरा छ जसमध्ये एउटा जुम लेन्स हो | नयाँ आइफोनको पूर्ण जानकारीका लागि यहाँ जानुहोस् :

नेपाली बजार मूल्य: आइफोन Xs : १,४०,००० (अपेक्षित) | आइफोन Xs म्याक्स : १,६५,०००

राम्रो कुराहरु:

  • बलियो डिजाइन, पानी प्रतिरोधी
  • निकै राम्रो एमोलेड डिस्प्ले
  • अहिले स्मार्टफोनमा भएका प्रोसेसर मध्ये सबैभन्दा फास्ट प्रोसेसर भएको
  • स्टेरो स्पिकर

मुख्य कमजोरीहरु:

  • निकै महँगो , एउटा आइफोन Xs म्याक्स किन्ने मूल्यमा ४ वटा सायोमी पोकोफोन, २ वटा वनप्लस ६ र एउटा ग्यालेक्सी S९+ साथै एउटा पोकोफोन आउछ |
  • आइफोनमा पहिल्यै देखि नहुने साधारण  फिचरहरु : मेमोरी कार्ड नलाग्ने, हेडफोन ज्याक नहुने, लिमिटेड अप्रेटिंग सिस्टम
  • नयाँ आइफोनको डिजाइन पनि पुरानो जस्तै छ
  • अति स्लो चार्ज हुने

 

 

यसमा तपाईको मत