अटो विशेष

के हो स्मार्ट लाइसेन्स कार्ड?

  नागरिक   2018-04-18

के हो स्मार्ट लाइसेन्स कार्ड?

स्मार्ट लाइसेन्स एक पकेट साइज चालक अनुमति प्रमाण पत्रको कार्ड हो जसमा इन्टेग्रेटेड सर्किट जडित हुन्छ। यस कार्डमा भएको इलेक्ट्रोनिक चिपले सवारी चालकको सम्पूर्ण परिचय, हस्ताक्षर र अन्य जानकारीहरु धारण गरेको हुन्छ। चालक सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न, चालक परिचय पत्र सक्कली हो होइन पत्ता लगाउन, तिर्न बाकि भएको शुल्कको जानकारी पाउन जस्ता विविध कार्यहरु सहजताका साथ गर्नका लागि यस कार्डलाई स्क्यान मात्र गरिदिए पुग्छ।

फाइदा के के छन् ?

यो कार्डले कार्ड- बाहक अर्थात् सवारी चालक र कार्ड वितरक अर्थात् सम्बन्धित सरकारी निकाय दुवैलाई फाइदा हुन्छ। यो कार्डको परिचालन संगै नक्कली लाइसेन्सको बिगबिगी पूर्ण रुपले ठप्प हुन्छ। गोपनीयताको तर्फबाट हेर्दा चाहिँ स्मार्ट लाइसेन्स धेरै सुरक्षित हो । तपाईको नाममा अरु कसैले नक्कली लाइसेन्स बनाउन सक्ने छैनन्। यी कार्डहरु पोलीकार्बोनेट प्लास्टिकबाट बनेका हुनाले धेरै टिकाउ र भरपर्दो पनि हुन्छन। पुरानो हातले लेखेको र कागजले बनेको लाइसेन्समा जस्तो च्यातिने र पानीले भिजेर प्रयोग गर्न नमिल्ने डर यो कार्डमा हुदैन ।

विश्व भर प्रयोग हुने चालक प्रमाणपत्र

स्मार्ट चालक अनुमति पत्र विश्व भरि नै प्रयोग हुन्छ। सन् १९८७ मा टर्कीले पहिलो पटक ट्राफिक नियन्त्रणका लागि स्मार्ट लाइसेन्स कार्ड संचालानमा ल्याएको थियो। यस लगतै १९९५ मा अर्जेन्टिनामा स्मार्ट लाइसेन्स प्रयोग गरिएको थियो । सन् १९९९ मा भारतको गुजरातमा देश कै पहिलो पटक स्मार्ट लाइसेन्स प्रयोगमा आएको थियो।

नेपालमा स्मार्ट लाइसेन्स

नेपालमा पनि स्मार्ट लाइसेन्स २०१५ डिसेम्बर १ बाट सुचारु भएको थियो। नेपालमा अत्याधिक मात्रामा नक्कली लाइसेन्सको प्रयोग बढे पछि यसको न्यूनीकरणको लागि नेपाल सरकारले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको हो। अब निकालिने सम्पूर्ण ड्राइभिंग लाइसेन्सहरु स्मार्ट लाइसेन्स हुनेछन् र हालका लाइसेन्स बाहकहरुलाई भने नवीकरणको समयमा स्मार्ट लाइसेन्स दिईने छ।

कसरी लिने स्मार्ट लाइसेन्स

नयाँ लाइसेन्स निकाल्नका लागि तपाईले सर्वप्रथम त सम्बन्धित फारम भर्नु पर्ने हुन्छ। फारम अनलाइन कि त कार्यालय नजिकै खरिद गरेर आफै भर्न मिल्छ। फारममा रु १०को हुलाक टिकट टास्नुपर्छ। अनलाइन फारम भर्नलाई नेपाल यातायात व्यवस्था ववभागको वेबसाइटमा जानु पर्छ। साथै स्वास्थ्य परीक्षणको रसिद काटेर टोकन लिनु पर्छ।

स्मार्ट लाइसेन्स लिनका लागि आवश्यक पर्ने कागजातहरु:

१. निवेदन फारम पत्र

२. नागरिकताको सक्कल र प्रतिलिपि

३. एउटा पासपोर्ट साइज फोटो

४. यस प्रक्रियामा काटिएको सबै रसिदहरु

५. ४ पांग्रेको लागि ड्राइभिंग स्कूलबाट प्रशिक्षण लिएको प्रमाण पत्र

आवश्यक कागजात जम्मा गरेर फारम भरिसके पछि कार्यलयमा सक्कल नागरिकता देखाएर आफ्नो फोटो खिचाउनु पर्छ । साथै स्वास्थ्य परिक्षणको रसिद देखाएर सम्बन्धित व्यक्ति बाट स्वास्थ्य परिक्षण गराउनु पर्ने हुन्छ । रु २०० तिरेर रसिद काटेपछि लिखित सो दिनको भोलिपल्ट हुनेछ । लिखितमा पास भएको सामान्यतया भोलिपल्ट नै ट्रायल हुनेछ ।

ट्रायल पास भएपछि स्मार्टकार्डको राजस्व बुझाउनु पर्ने छ। राजस्व तिरेको केहि दिन मै स्मार्ट लाइसेन्स आउनुपर्ने भएता पनि मानिसहरुले ६(७ महिनासम्म प्रतिक्षा गर्नु पर्ने समस्या छ । यहि समस्यालाई हटाउनका लागि सरकारले एक हप्ता भित्र नै स्मार्ट लाइसेन्स प्रदान गर्ने प्रतिवद्धता राखेको छ ।

 

स्मार्टकार्डको लागि दस्तुर यस प्रकार रहेको छ:

वर्ग 

दस्तुर

        मोटरसाइकल , स्कुटर           

     रु १५००/-   

साना सवारी

    रु २०००/-  

मझौला सवारी

   रु २५००/-

ठूला सवारी

  रु ३०००/-

 

यसमा तपाईको मत