ग्याजेट विशेष

स्लो विन्डोज कम्प्युटरको सफ्टवेयरबाटै समाधान

  नागरिक   2018-12-18

कम्प्युटर चलाउँदा चलाउँदै  स्लो हुनु लगभग सबैले महसुस गरेकै कुरा हो । कम्प्युटर स्लो हुनुमा कारण भने थुप्रै हुनसक्छन् । कसैको हार्डवेयर पुरानो भएको कारणले कम्प्युटर स्लो भएको हुनसक्छ भने कसैको सफ्टवेयर अर्थात् विन्डोजमा आएको समस्याबाट पनि कम्प्युटर स्लो भएको हुनसक्छ । यस लेखबाट तपाईंले आफ्नो कम्प्युटर स्लो भएको खण्डमा कम्प्युटर फास्ट बनाउनका लागि गर्न सक्ने केहि सफ्टवेयर सम्बन्धि जुक्तिहरु दिईएको छ । यी सबै गरेर पनि तपाईंको कम्प्युटर उस्तै स्लो छ भने चाहिँ हार्डवेयर नै परिवर्तन गर्नु पर्ने भएको हुनसक्छ ।

१. भर्चुअल मेमोरी मिलाउने

र्याम थोरै भएको खण्डमा धेरैको कम्प्युटर स्लो हुने गर्दछ । र्याम बढाएर कम्प्युटर फास्ट हुनु लगभग निश्चित नै छ भने पनि एक पटक भर्चुअल मेमोरी बढाएर पनि स्पिडमा परिवर्तन आउछ कि भनेर जाँच गर्नु उचित हुन्छ । र्याम थप्नका लागि  पैसा खर्च गर्नु पर्ने हुन्छ भने भर्चुअल मेमोरी मिलाउनका लागि केहि खर्च गर्नु पनि पर्दैन र यो मिलाउनका लागि आधा मिनट पनि लाग्दैन ।

भर्चुअल मेमोरी मिलाउनका लागि This PC वा My Computer मा Right Click गर्नुहोस् र Properties लाई चयन गर्नुहोस् । Properties मा क्लिक गरिसके पछि नयाँ विन्डो खुल्नेछ । त्यस विन्डोको देब्रे पट्टिको भागमा Advanced System Settings भन्ने विकल्प भेट्नुहुने छ । त्यसमा क्लिक गर्नुहोस् । उक्त अप्सनमा क्लिक गरेपछि फेरी नयाँ विन्डो खुल्नेछ ।

त्यस नयाँ विन्डोको Performance भन्ने ट्याबको Settings मा क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने नयाँ विन्डोको माथिल्लो भागको ठीक बीचमा भएको Advanced मा क्लिक गर्नुहोस् । त्यसपछि पनि खुल्ने नयाँ विन्डोमा Change भन्ने बटन क्लिक गर्नुहोस् ।

नयाँ खुलेको अर्को विन्डोमा सुरु मै भएको “Automatically manage paging file size for all drives” भन्ने विकल्पको छेउमा भएको बक्समा क्लिक गरेर त्यहाँ भएको टिक मार्कलाई हटाउनुहोस् । यसपछि तल “Custom Size” भन्ने अप्सनमा क्लिक गरेर नम्बर हाल्नु पर्ने हुन्छ । Initial Size मा 16 देखि 256 सम्म जति राखे पनि हुन्छ । Maximum Size को विकल्पमा तपाईंको कम्प्युटरमा भएको र्यामको ठीक डबल अंक MB मा हाल्नुपर्ने हुन्छ । उदाहरणका लागि : १ जीबीको र्याम छ भने 2000, २ जीबीको छ भने 4000 र आदि ।

अंक राखेर सकिए पछि Ok मा क्लिक गर्नुहोस् र कम्प्युटरलाई पुन: सुचारु गर्नुहोस् ।


२. मालवेयर र भाइरस निवारण गर्ने

कम्प्युटर स्लो बनाउने एउटा मुख्य कारण हो भाइरस र मालवेयर । भाइरस र मालवेयर कम्प्युटरमा छिरेपछि कम्प्युटरलाई निकै स्लो बनाउने गर्छ । यसबाट बच्नका लागि एन्टीभाइरसको प्रयोग गर्नु पर्ने हुन्छ । तपाईंले तपाईंको कम्प्युटरमा भाइरस पसेको छ कि छैन थाह पाउनका लागि इन्टरनेटबाट निशुल्क पाइने कुनै एउटा एन्टीभाइरस डाउनलोड गरेर आफ्नो कम्प्युटर फुल स्क्यान (Full Scan) गर्नुहोस् । फुल स्क्यान गरेर भेटिएका भाइरसहरुलाई डिलेट गरिदिनुहोस् । निशुल्कमा पाइने केहि उन्नत एन्टीभाइरसहरु Avast, AVG, BitDefender, Malwarebytes आदि हुन् ।

३.  स्टार्ट अप प्रोग्राम कम / बन्द गर्ने

task manager start up text

कतिपय प्रोग्रामहरु कम्प्युटर सुरु हुनासाथ आफैं खुल्छन् र चलिरहन्छन् । यसले गर्दा पनि कम्प्युटर निकै स्लो भएको हुन सक्छ । यसरी कम्प्युटरमा आँफै प्रोग्रामहरु खुल्न नदिनका लागि Task Manager खोल्नुहोस् । Task Manager खोल्ने सबैभन्दा सजिलो सटकर्टको Ctril + Shift + Esc एकै पटक दबाउने । Task Manager को ट्याबहरु मध्ये एउटामा Startup भन्ने ट्याब छ । त्यो ट्याब खोलेर अनावश्यक एपहरुसबैको स्टार्ट अप Disable गरिदिनुहोस् । यहाँबाट येसरी डिसएबल गरेका एपहरु कम्प्युटर स्टार्ट हुने बेलामा नखुल्ने मात्र हुन् - आवश्यक परेको बेलामा प्रोग्राम चलाउन सकिन्छ ।  

४. अनावश्यक प्रोग्रामहरु डिलिट गर्ने

प्रयोगमा नआएका र काम नलाग्ने प्रोग्रामहरु डिलिट गर्नु निकै उचित हुन्छ । प्रोग्राम डिलिट गर्नका लागि Control Panel मा जानुहोस् । Control Panel मा सजिलै जानका लागि  सबैभन्दा सजिलो उपाय हो Start मा गएर “Control Panel” लेखेर सर्च गर्नु । कन्ट्रोल प्यानल खोलिसके पछि Programs भन्ने विकल्पमा क्लिक गर्नुहोस् । त्यहाँ Uninstall a program भन्ने अप्सनमा गएपछि आफूलाई प्रयोगमा नआएको र अनावश्यक प्रोग्रामलाई डिलिट गरिदिनुहोस् ।

५. हार्डडिस्कलाई डीफ्र्यागमेन्ट गर्ने र डिस्क क्लिन अप गर्ने

फ्र्यागमेन्ट धेरै भएको हार्डडिस्कले गर्दा पनि कम्प्युटर निकै स्लो भएको हुनसक्छ । हार्डडिस्कलाई डीफ्र्यागमेन्ट र क्लिन अप गर्नका लागि This PC अथवा My Computer खोल्नुहोस् । आफूलाई डीफ्र्यागमेन्ट गर्न मन भएको हार्डडिस्कको पार्टेसनलाई Right Click गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस् ।

यहाँबाट तपाईंले Disk Cleanup मा क्लिक गरेर हार्डडिस्कमा भएको अनावश्यक फाइलहरु अटोमेटिक डिलिट गर्न सक्नुहुनेछ । यहि विन्डोकै माथिल्लो भागको बीचमा रहेको Tools भन्ने ट्याबमा क्लिक गरेर Optimize अप्सनलाई चयन गरेर डिस्कलाई डीफ्र्यागमेन्ट गर्न सक्नुहुनेछ ।

६. एकैपटकमा धेरै प्रोग्रामहरु नचलाउने

यदि तपाईंको हार्डवेयर नै निकै पुरानो भएर कम्प्युटर स्लो भएको हो भने उक्त कम्प्युटरमा धेरैवटा प्रोग्राम एकैपटकमा चलाउनुको सट्टा एकपटकमा एक मात्र प्रोग्राम प्रयोग गरेर कम्प्युटरलाई स्लो हुनबाट बचाउन सकिन्छ ।  इन्टरनेट ब्राउजरमा धेरै ट्याबहरु खुल्ला छ भने पनि कम्प्युटर स्लो हुन्छ । त्यसैले प्रयोगमा नआएका ट्याबहरुलाई बन्द गर्नु उचित हुन्छ ।

 

यसमा तपाईको मत