ग्याजेट

सामसुंगको स्मार्टफोनमा भएका उत्कृष्ठ क्यामरा फिचरहरु

  नागरिक   2018-07-05


सामसुंगले हरेक वर्ष नयाँ फिचर, डिजाइन र अब्बल क्यामराका साथ आफ्नो फ्ल्यागशिप स्मार्टफोनको सिरिज स्मार्टफोनहरु( S सिरिज) रिलिज गर्छ | यो वर्ष सामसुंगको फ्ल्यागशिप स्मार्टफोन रहेको छ सामसुंग ग्यालेक्सी S9 | गत वर्ष रिलिज भएको S8 को तुलनामा अहिलेको फ्ल्यागशिपमा निखारिएको डिजाइन, राम्रो प्रोसेसर, बढी र्याम र मुख्यतः अभिनव क्यामराहरु समावेश गरिएको छ | यहि क्यामराको चारवटा उत्कृष्ठ फिचरहरुको बारेमा तल चर्चा गरिएको छ :   

 

सुपर स्लो मोसन भिडियो

सामान्य स्लो मोसनको भन्दा पनि अझ धेरै स्लो गरि भिडियो खिच्न मिल्ने फिचरलाई सुपर स्लो मोसन भिडियो भनिएको हो | स्लो मोसन भिडियो स्मार्टफोनमा आएको त अर्धदशक नाघिसक्यो तर सुपर स्लो मोसन चाहिँ पुरानो विधिभन्दा धेरै उन्नत छ | सामान्यतया स्मार्टफोनले स्लो मोसन भिडियोका लागि एक सेकन्डमा १२० फ्रेमहरु खिच्छ, तर नयाँ सुपर स्लोमो अन्तर्गत स्मार्टफोनले एक सेकन्डमै ९६० फ्रेम सम्म खिच्न सक्छ – सामान्यभन्दा ८ गुणा धेरै |

 

सुरुमा सुपर स्लो मो भिडियो २०१७ मा सोनीको एक्सपेरिया एक्सजेडमा समावेश गरिएको थियो | तर सो समयमा यसको खासै चर्चा भएको चाहिँ थिएन | यो बर्ष चाहिँ सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन – ग्यालेक्सी एस ९ र एस् ९ प्लसमा यो फिचर समावेश गरेको छ | अन्य ठूला कम्पनीबाट अब आउने नयाँ स्मार्टफोनहरुमा यो फिचर हुनु लगभग निश्चित छ |

अपर्चर परिवर्तन हुने क्यामरा

क्यामराको अपर्चरले त्यो क्यामराको लेन्स कति ठूलो साइज सम्म खुल्छ भन्ने जनाउछ | जति ठूलो अपर्चर, त्यति नै धेरै त्यो क्यामराको लेन्स खुल्न सक्छ र त्यति नै धेरै त्यसले बाहिरबाट लाइट लिन सक्छ | DSLR र मिररलेस क्यामरामा यो एक साधारण फिचर हो | २०१७ सम्मका सबै स्मार्टफोनहरुमा यस्तो अपर्चर फिक्स हुन्थ्यो तर २०१८मा सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन – ग्यालेक्सी एस् ९ मा पहिलोपटक अपर्चर परिवर्तन हुने क्यामरा समावेश गरेको छ |

सामसुंगको एस् ९ को क्यामराको अपर्चर दुई साइजको छ – थोरै लाइट भएको र अध्यारोको लागि ठूलो F1.5 र लाइट धेरै भएको र दिनको लागि सानो F2.4 | यस स्मार्टफोनले दुई अपर्चर बीच आवश्यकता अनुसार स्विच गर्नसक्छ र प्रयोगकर्ताले मन लागे अनुसार आफैले अपर्चर परिवर्तन पनि गर्न सक्छन | स्मार्टफोन क्यामरामा आएको यस नयाँ र अभिनव प्रविधिले स्मार्टफोनको क्यामरालाई थप उत्कृष्ट बनाएको छ |

AR इमोजी

इमोजी भन्नाले विविध अभिव्यक्ति दिने साना साना कार्टुन अनुहार चित्रहरु हुन् जसको अत्यधिक प्रयोग अहिले मेसेज, फोटो देखि सामाजिक संजालको पोस्टहरुमा भएको हुन्छ | सामान्यतया इमोजीहरु पनि साना फोटो जस्तै हुन्छन – चित्रमा कुनै हलचल हुदैन | कहिँ कतै गिफ इमोजीहरु पनि प्रयोग भएको भेटिन्छ | तर अहिले २०१८मा आएर इमोजीले बेग्लै रुप लिन थालेको छ | AR अर्थात् कृतिम वास्तविकता (Artificial Reality) र क्यामराको प्रयोगबाट मानिसको अनुहारको भाव संग ठ्याक्कै मिल्ने एनिमेटेड इमोजीहरु स्मार्टफोनले खिच्न सक्ने भएका छन् |

पहिले पहिले विभिन्न एपहरुबाट गर्न सकिने यस कुरालाई अहिले आएर स्मार्टफोन निर्माताहरुले फोन मै समावेश गर्न थालेका छन् | आइफोन १० मा देखिएको यस फिचर अहिले सामसुंग ग्यालेक्सी S9 मा पनि राखिएको छ |

मल्टि फ्रेम प्रोसेसिंग

सामान्यतया स्मार्टफोनको क्यामराले एउटा मात्र फोटो खिचेर उक्त फोटोलाई नै प्रोसेस गर्छ | तर मल्टी फ्रेम प्रोसेसिंग प्रविधिबाट क्यामराले एकै पटकमा थुप्रै फोटोहरु खिच्छ जसमा हरेक फोटोमा फरक फरक क्यामराको सेटिंगहरु प्रयोग गरिएको हुन्छ | यसरी खिचेको थुप्रै फोटोहरुलाई स्मार्टफोनको सफ्टवेयरले प्रयोग गरेर सकेसम्म राम्रो फोटो निकाल्न प्रयत्न गर्छ |

सामसुंग ग्यालेक्सी S9 मा भएको मल्टि फ्रेम प्रोसेसिंगले एक पटकमा १२ वटा फोटो खिच्छ – यहि फोटोहरुलाई प्रोसेस गरेर क्यामरा सफ्टवेयरले एउटा सबैभन्दा राम्रो फोटो निकाल्न प्रयास गर्छ | यसरी खिचिएको फोटोलाई प्रोसेस गर्नका लागि ग्यालेक्सी S9ले आफ्नो क्यामरामा रहेको र्याममा लगेर राख्छ | स्मार्टफोन क्यामरा मै र्याम हुने सामसुंग ग्यालेक्सी S9 पहिलो स्मार्टफोन हो | यस र्यामले गर्दा सामसुंग ग्यालेक्सी S9मा मल्टि फ्रेम प्रोसेसिंगको काम अन्यको तुलनामा निकै चाडो हुन्छ |



 

यसमा तपाईको मत