बजार संक्षेप

‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु

  नागरिक   2020-02-16

काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको उक्त प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको रोबोटमार्फत दीप प्रज्ज्वलन गरेर मन्त्री बाँस्कोटाले उद्घाटन गरेको हुन् । फागुन ७ गतेसम्म चल्ने मेलामा स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्ट र आइडिया प्रदर्शन गरेका छन् ।
२६औं संस्करणको इन्फोटेक नेपाली इन्नोभेसनका लागि एक्सपोजर इभेन्ट हुने क्यान महासंघका अध्यक्ष नवराज कुँवरको भनाइ छ । प्रदर्शनीलाई विगतको जस्तै प्रविधिका क्षेत्रमा आएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने प्लेटफार्मको रुपमा हेरिएको उनले बताए । 
मेलामा एक सय ७४ स्टलको सहभागिता रहेको उनले बताए । ‘सूचना–प्रविधिसम्बन्धी जानकारी दिन र यस क्षेत्रको प्रवद्र्धनका लागि प्रदर्शनी कोसेढुंगा साबित हुनेछ,’ उद्घाटन सत्रमा अध्यक्ष कुँवरले भने । 
त्यस्तै, क्यान महासंघका महासचिव नारायण थापाले यसपटकको इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्रान्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटसहित बिक्री गर्ने बताए । अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभी र हार्ड डिस्क जस्ता उत्पादन पनि प्रदर्शनीमा छन् । त्यसैगरी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल पनि मेलामा रहेको उनले जानकारी गराए ।
मेलामा सूचना तथा सञ्चार क्षेत्रका विज्ञ तथा जनशक्तिले समेत सहभागी जनाउने छन् । नयाँ सफ्टवेयर तथा सूचना–प्रविधिसम्बन्धी सामग्र प्रदर्शनीमा रहेको उनको भनाइ छ । 
इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इनोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि हुनेछ । 
प्रर्दशनीमा प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीले ५० प्रतिशत छुट पाउने आयोजकले जनाएको छ । सामुदायिक तथा सरकारी विद्यालय र कलेजका विद्यार्थी, सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । 
एसपटकको प्रर्दशनीलाई पेपरलेस बनाएको जनाउँदै आयोजकले प्रभु पेबाटै टिकट किन्न सक्ने तथा प्रदर्शनीस्थलमा पनि कि–ओस्क मेसिनबाट टिकट लिन सकिने जनाएको छ ।
प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसन, एसोसियसन अफ इन्जिनियरिङ कलेजले सहयोग गरेका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय संस्था असोसियो र विट्साको पनि यसको आयोजनामा सहयोग रहेको छ । 
 

यसमा तपाईको मत