ग्याजेट विशेष

पोर्ट नै नभएको आइफोन आउँदै !

  नागरिक   2019-12-10

एप्पलको नाम चलेका विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन । एप्पलले सन् २०२१ मा रिलिज हुने आइफोनमा चार्जिंग पोर्टलाई पनि हटाउन सक्ने सम्भावना रहेको छ । एप्पलले आफ्नो चार्जिंग पोर्टलाई युएसबी सी ले प्रतिस्थापन गर्नुको सट्टा चार्जिंग पोर्टलाई नै हटाउने छ र चार्जिंग समबन्धित सम्पूर्ण कामहरू वायरलेस चार्जिंगबाट हुनेछ ।

सन् २०१३ मा आइफोन ५ को लन्चसँगै एप्पलले लाइटिंग पोर्टलाई पहिलो पटक प्रयोग गरेको थियो । त्यसपछिका हरेक आइफोनहरूमा लाइटिंग पोर्ट नै प्रयोग गरिएको छ । प्रयोगकर्ताहरूले आइफोनमा युएसबी सी पोर्टको आश गरेतापनि एप्पलले अहिलेसम्म आइफोनमा युएसबी सी प्रयोग गरेको छैन ।

एप्पलले नै आइफोन ७ को लन्चसँगै हेडफोन ज्याकलाई हटाएको थियो । ठूला र नाम चलेका निर्माताहरू मध्येमा हेडफोन ज्याक हटाउने पहिलो कम्पनी नै एप्पल रहेको थियो ।

सन् २०२१ मा रिलिज हुने आइफोनमा चार्जिंग पोर्ट पनि नभएमा आइफोनमा कुनै पनि प्रकारको पोर्ट बाकीं रहने छैन । प्रयोगकर्ताले गीत सुन्ने देखि चार्ज गर्ने र कम्प्युटरमा आइफोनलाई जडान गर्ने जस्ता सम्पूर्ण कामहरू तारहिन विधिबाट नै गर्नु पर्ने हुन्छ ।

हालै रिलिज भएका आइफोनहरूमा वायरलेस चार्जिंग सपोर्ट राखिएको छ । तर वायरलेस चार्जिंगको दौडमा पनि एप्पल निकै पछि परेको थियो । सन् २०१२ मा नै नोकियाले आफ्नो लुमिया स्मार्टफोनहरूबाट वायरलेस चार्जिंगलाई विश्वबजार अगाडी ल्याएको थियो । एप्पलले आइफोन ७ को लन्चसँग मात्र वायरलेस चार्जिंग ल्याएको हो ।

कुओले अहिलेसम्म दिएका आइफोनका जानकारीहरू धेरै हदसम्म सही हुँदै गएका छन् । उनको यो कुरा पनि सहि नहोला भन्न सकिदैन ।

केही महिना अगाडी चिनियाँ कम्पनी मेईजुले पनि मेईजु जिरो लन्च गर्ने भनेको थियो । जनताबाट पैसा उठाएर निर्माण गर्न खोजिएको उक्त पोर्ट नै नभएको स्मार्टफोनको निर्माण सोचे जति पैसा नउठेका कारणले अन्ततः बन्द गरियो । यसबाट प्रयोगकर्ताहरूले पोर्ट नै नभएको स्मार्टफोन खासै नरुचाउने गरेको भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

स्रोत : द भर्ज

 

यसमा तपाईको मत