बजार संक्षेप

उद्यम चलाउन महिलालाई अवसर

  नागरिक   2019-10-20

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । बिहीबार राजधानीको त्रिपुरेश्वरमा सुरु महिला उद्यमीद्वारा उत्पादित वस्तुको तीनदिने प्रदर्शनी तथा बिक्री कार्यक्रमको उद्घाटनमा बोल्दै मन्त्री थापाले महिला र पुरुषलाई समान सहभागिताको अधिकार भए पनि अझै महिलाहरु घरबाट बाहिर निस्कन नसकेको कारण उनीहरुलाई व्यावसायिक रुपमा अगाडि ल्याउन आवश्यक रहेको धारणा राखिन् । ‘राज्यका उच्च अंगहरुमा महिलाको सहभागिता भइसक्दा पनि पुरुष सरह महिलाहरु उद्योग–व्यवसायको क्षेत्रमा सहभागी हुन सकेका छैनन्,’ उनले भनिन्, ‘महिलाको आर्थिक विकासको लागि सामाजिक अवधारणा र पुराना मान्यतालाई त्याग्नै पर्छ ।’
अहिलेको सरकारले महिलालाई उद्यमी बनाउन, महिलामा व्यावसायिकताको विकास गराउन जोड दिएको जनाउँदै उनले महिलामा आर्थिक सशक्तीकरण गराउन उद्योग, व्यवसायले बल पुग्नेमा जोड दिइन् । महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने हाम्रो समाजको नजर अझै परिवर्तन नभएको भन्दै उनले पितृसत्तात्मक सोच र चिन्तनले समाजमा जरो गाडेर बसेको कारण महिला अवसरबाट वञ्चित भएको धारणा राखिन् । 
छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा हरेक अभिभावकले परिवर्तन ल्याउन आवश्यक रहेको भन्दी मन्त्री थापामगरले महिलामाथिका विभेद अन्त्य गराउन महिला पनि अगाडि बढ्नुपर्नेमा जोड दिइन् । महिलालाई आर्थिक रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले थपिन्, ‘जारी प्रदर्शनीले महिलाको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउनुका साथै महिलालाई स्वरोजगार बन्न मद्दत गर्नेछ ।’
उद्योग अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेकाले महिलालाई उद्योगसँग जोडेर पारिवारिक अर्थतन्त्र सुधार गर्दैै बलियो समाजको विकासमा जोड दिन आवश्यक रहेको उनले बताइन् । ‘एउटा आमा व्यावसायिक बन्नु भनेको परिवार व्यावसायिक बन्नु हो । समाज व्यवसायी बन्नु भनेको देश व्यावसायिकतामा जानु हो,’ उनले भनिन्, ‘महिलालाई उद्यमी, व्यवसायी बनाउन सरकार सकारात्मक छ । महिला उद्यमको क्षेत्रलाई सरकारले सहयोग पुर्याउँछ ।’ 
कृर्षि, पर्यटन,व्यवसाय, फर्म सञ्चालनको क्षेत्रमा महिला सहभागिता बढ्दै गएको जनाउँदै उनले अन्य आयका क्षेत्रमा पनि समान सहभागिता र विकासमा जोड दिँदै जानुपर्ने बताइन् । 
बिजनेस एन्ड प्रोफेसनल वुमन एसोसियसन काठमाडौं, वुमन एसोसियसन फर ट्रेनिङ एन्ड सर्भिस तथा वुमन इम्पावरमेन्ट ग्रुपको सयुक्त आयोजनामा सुरु भएको उक्त प्रदर्शनी विगतमा जस्तै दसैं र तिहारको अवसर पारेर आयोजना गरेको आएको आयोजकले जनाएको छ । 
प्रदर्शनीबाट महिलालाई उद्यमशीलतामा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको कार्यक्रमकी संयोजक चन्दा मल्लको भनाइ छ । महिलामा भएको सीपलाई विकास गराउने तथा सञ्जालको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको मल्लले जानकारी गराइन् । प्रदर्शनीमा साना–ठूला गरेर ७५ स्टल छन् । 
खानाका परिकारसहित कपडा, तिहारको समान, अचार, ह्यान्डिक्राफ्टका सामग्री, मैनबत्ती, किताब तथा दैनिक उपभोग्य वस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । मेला आइतबार सम्पन्न हुनेछ ।

यसमा तपाईको मत