कभर स्टोरी

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

  नागरिक   2019-12-08

रिपेश दाहाल 
हेटौंडा, (रासस)- केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । गत वर्ष विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी यहाँ आएकी थिइन् । देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यस क्षेत्रमा पर्यटकको आगमन बढेको ठानिएको छ । 
देशकै सबैभन्दा ठूलो गढीको रुपमा रहेको मकवानपुरगढी जान पक्की र फराकिलो सडक छ जुन पर्यटकलाई आकर्षण गर्ने कारण हुन् । सेन राजाहरूले २०९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रुपमा रहेको यो गढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा चिनिन थालेको छ । 
चिसो मौसम सुरु भएसँगै ऐतिहासिक मकवानपुरगढी दरबार घुम्ने र अध्ययन गर्नेहरूको संख्या ह्वात्तै बढेको हो । सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तुप लगायतका धार्मिक स्थलहरू, रमणीय वातावरण, यातायातको सहज व्यवस्था, वनभोज खान पर्याप्त स्थान तथा शान्त वातावरणका कारण आन्तरिक तथा बाह्य पर्यटकहरू समेतको रोजाइमा मकवानपुर गढी पर्न थालेको छ । 
एघारौं शताब्दीमा नेपालका पहिलो सेनवंशी राजा तुला सेनले निर्माण गरेको तथा बिक्रम सम्वत १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले स्थापना गरेर २०९ वर्षसम्म राजधानी बनाएको गढी दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । गढीमा मकवानपुर, ललितपुर, काठमाडौं, सिन्धुली, चितवन तथा प्रदेश २ का विभिन्न जिल्लाका आगन्तुक मात्र हैन विदेशी पर्यटक समेत आउन थालेका छन् । विगतमा इतिहासमा रुचि भएका केही व्यक्तिको सामान्य खालको आवतजावत मात्र रहने मकवानपुरगढी दरबार क्षेत्रमा आजभोलि आन्तरिक पर्यटकको भीड थामी नसक्नु भएको बताउँछन् मकवानपुरगढी वडा नं २ की सदस्य तथा स्थानीय खाजाघर सञ्चालिका सावित्री विश्वकर्मा । उनका अनुसार अचेल गढी दरबार हेर्न र वनभोज गर्न आउनेको संख्या दैनिक एक हजारभन्दा माथि छ । 
पक्की र स्तरीय सडक मार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी घुम्न आउने संख्या बढेको हुन सक्ने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं बताउँछन् । उनका अनुसार हेटौंडा बजारबाट १७ किलोमिटर उत्तर पूर्वतर्फ कान्तिराजपथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्छ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिंगन कटेपछि मकवानपुरगढी गाउँपालिका पुगिन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटक पुग्ने गरे पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुराँसले ढपक्कै हुने ढुंगेगढी समेत पर्यटकले भरिन थालेका छन् । 
प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुंगेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिनले बताए । विगतमा भग्नावशेषमा परिणत भएको मन्दिर अहिले पुनःनिर्माणपछि आकर्षक बनेको छ । प्रदेश सरकारको करिब ४० लाख रुपैयाँको लगानी र गाउँपालिकाको थप लगानीमा मन्दिरको पुनःनिर्माण गरिएको गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिए । 
मकवानपुरगढी दरबार प्रदेशको महŒवपूर्ण निधि भएकाले यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारको साथ र सहयोग रहने बताउँछन्, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल । उनका अनुसार प्रदेशका सबै गढीहरूको संरक्षण र प्रचारप्रसार गर्नु जरुरी छ । 
मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेन वंशीय राजखलक तुला सेनले विक्रम सम्वत १००० मा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण भेटिँदैन । पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै साफल्य अमात्यले २०२७ सालमा तयार पारेको प्रतिवेदनमा एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको उल्लेख छ । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखमा पाइएकोलाई आधार मान्दा सेनहरू पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । 
सेनहरूको वंशावली अनुसार विक्रम सम्वत १५०० तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ । 

यसमा तपाईको मत