बजार संक्षेप

अफर स्टलमा अवलोकनकर्ताको भीड

  नागरिक   2020-02-17

काठमाडौं–क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । मेलाको अवसर पारेर विभिन्न प्रविधि कम्पनी, संघ–संस्थाले सेवा लिन चाहनेका लागि विशेष छुट, अफरलगायत घोषणा गरेका थिए ।
शुक्रबारदेखि सुरु भएको नेपालकै ठूलो प्रविधि प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, एसेसरिज, सफ्टवेयर निर्मातालगायत कम्पनीले ग्राहकका लागि छुट तथा अफर दिइरहेका छन् ।
मेलामा एनसेलले आफ्नो स्टलबाट एक रुपैयाँमै सीम उपलब्ध गराइरहेको छ । सीममा ग्राहकले १० मिनेटको निःशुल्क टक टाइम र १० वटा एसएमएस निःशुल्क प्राप्त गर्नेछन् । यस्तै, उक्त सीममार्फत ग्राहकले तीन दिनको लागि दुई जिबी डाटा निःशुल्क पाउनेछन् ।
यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुबिसु, भायनेटलगायत कम्पनीले विभिन्न प्याकेज सार्वजनिक गरेका छन । छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधा राखिएको छ ।
छुट्टै पेभेलियनमा राखिएका मोबाइल, एसेसरिज लगायतका ब्रान्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर दिइरहेका छन् । 
विभिन्न ब्रान्डका मोबाइल कम्पनीले मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट, एक मोबाइल खरिद गर्दा अर्को एउटा सित्तैमा समेत दिइरहेका छन् । 
यस्तै, मेलामा आउने अवलोकनकर्ता साइबर सेक्युरिटीबारे जानकार भए, नभएको अनुसन्धान गर्ने उद्देश्यले सर्भेक्षण पनि गरिएको छ । सर्वेक्षणमा एक हजारभन्दा बढी अवलोकनकर्ताले फाराम भरिसकेका छन् ।
मेलामा नेपालको नविनतम सोच (इन्नोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको आयोजकले जानकारी दिएको छ । एक सय ७४ ओटा स्टल रहेको मेला बुधबारसम्म चल्नेछ । यो वर्ष चार लाखभन्दा धेरै अवलोकनकर्ताले मेला अवलोकन गर्ने विश्वास गरिएको छ । 
 

यसमा तपाईको मत