बजार संक्षेप

ब्रान्ड नेपालमा थामिनसक्नु भीड

  नागरिक   2019-12-29

काठमाडौं– रेडियो नागरिक ९६.५ ले आयोजना गरेको यस वर्षको ‘ब्रान्ड नेपाल गो लोकल २०१९’ अवलोकनकर्ताको उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ । रेडियो नागरिकले गत वर्ष डिसेम्बर २१ मा पहिलोचोटि यो मेला आयोजना गरेको थियो । 
शनिबार ठमेलस्थित छायाँ सेन्टरमा आयोजित दोस्रो ‘ब्रान्ड नेपाल गो लोकल २०१९’ मा नेपालमै उत्पादित विभिन्न उत्पादनको स्टल थिए । मेलामा १० हजारभन्दा बढीको सहभागिता रहेको आयोजक रेडियो नागरिकले जानकारी गराएको छ । 
उक्त कार्यक्रमबारे जानकारी गराउने क्रममा मेला संयोजक प्रेषा श्रेष्ठले गत वर्षभन्दा यो वर्षको कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको बताइन् । ‘नेपाली उत्पादनको ब्रान्ड प्रवर्धन तथा बजार विस्तार गर्न मेलाले महत्वपूर्ण भूमिका खलेको छ,’ उनले भनिन्, ‘बढ्दै गएको नेपाली ब्रान्डको प्रभावकारितालाई ध्यानमा राख्दै तिनको प्रवद्र्धनका लागि वर्षमा एकचोटि मेला आयोजना गरिएको हो ।’ 
विभिन्न प्रकारका नेपाली उत्पादनलाई एकै छानामुनि उपलब्ध गराउन मेला कोशेढुंगा साबित भएको उनको भनाइ छ । 
घरेलु उद्योगका उत्पादनलाई माथि उकास्न मेला सफल भएको उनको दाबी छ । १० हजारभन्दा धेरैको सहभागिता रहेको उक्त मेलाले स्वदेशी उद्योग र उद्यमीलाई सहयोग पुग्ने अपेक्षा आयोजकको छ । बजारमा आएका नयाँ उत्पादनका व्यवसायी मेलामा आफ्नो ब्रान्ड स्थापित गराउन सफल भएका छन् । स्वदेशीमात्र नभएर सयौं विदेशीले मेला अवलोकन गरेका छन् । 
मेलामा जुलाई, आमो, बेस्ट म्याड हनी, वन्डरफुल कुकिङ, मुस्कान इन्टरप्राइज, सभा नेपाल, बारा स्टुडियो, विसरम, लक्की नेपाल, सुमाखी ह्यान्डक्राफ्ट, मेली, लुगावेयर, इनर्जी हाउस काठमाडौं, ब्याज नेपाल, पिन्चेस आर्ट केयर, आइएम द गार्डनर, क्रियटिभ टच पसल, किरा स्टोर, एकादेशमा, कला काठमाडौं स्टुडियो, सार्काटिक, द फ्याटिङ टिम, सिबारी नेपाल, जोबा निटवेयर, कालिस्टो डिजाइन, सप्लाई सपोर्ट, वाउ पपकर्न, स्कुल अफ बेकिङ पेस्ट्री टेक्नोलोजी, नुगा, कोल्पा, होस्टे–हैंसे, क्रियटिभ टच पसल, गिफ्ट फ्रम नेपाल, बिज नेपाल, डिप–इन डुनट्स, कल्पा प्रोड्क्टस, जोवा लगायतको सहभागिता थियो ।
हिरो एक्सपल्स २०० को प्रस्तुति रहेको मेलाको सह–प्रायोजक एस प्रेसो सुजुकी कार थियो । फुड पार्टनरको रुपमा डल्ले रहेको आयोजकले जनाएको छ । पिएलओ लुब्रिकेन्टको सहयोग रहेको मेलामा वल्र्डलिंकले इन्टरनेट साझेदारको भूमिका खेलेको छ ।   
मेलाको आकर्षणमा काठमाडौं सर्कस र नेपाल हिपहप फाउन्डेसनको मनोरञ्जनात्मक प्रस्तुति तथा लाइभ म्युजिक थिए । हिपहप फाउन्डेसनका १२ जना कलाकारले बिट बक्स म्युजिकको साथमा बिबोइङ हिपहपसहित फ्री–स्टाइल डान्स प्रस्तुत गरेका थिए । काठमाडौं सर्कसले आङ नै सिरिंग पार्ने प्रस्तुति दिएको थियो । मेलामा ह्यान्डिक्राफ्ट, लत्ताकपडा, फुड, सजावट सामग्री, उपहार, नेपाली कपडा, अचार, कफी, सजाउने मूर्ति, मैनबत्ती, माला, झोला, ह्यान्ड ब्याग, नर्सरीका सामाग्री, जुत्ता, लुागा लगायतले स्टल सजिएका थिए ।
मेलाले नेपाली उत्पादनको बजार विस्तारमा सहयोग पुर्याउने आयोजकको विश्वास छ । मेलामा सहभागी व्यवसायीले आफ्ना सामग्रीमा ५० प्रतिशतसम्म छुट दिएका थिए । 
मेलामा बालबालिका र अवलोकनकर्ताका लागि मनोरञ्जनका विभिन्न खेल समावेश गरिएको थियो । खेलकुद कार्यक्रमका सहभागीलाई मेलामा सहभागिता जनाएका कम्पनीहरुले उपहार दिएका थिए । मेलामा विदेशी समेतको सहभागिता रहेकाले यसबाट अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली ब्रान्डको प्रचारप्रसारमा टेवा पुगेको छ । कार्यक्रमबाट  निकै उत्साहित भएको प्रतिक्रिया सहभागी व्यवसायीको छ । नेपाली उत्पादन विदेशी ब्रान्डभन्दा कमजोर नरहेको मेलाले प्रस्ट पारेको छ ।
मेलाले आफ्नो उत्पादनको सही मूल्यांकन गराउने मौका दिएका सहभागी व्यवसायीमध्येका आइएम द गार्डनरका सुपरभाइजर सूर्यदेव चौधरीले बताए । ‘गत वर्षको मेलामा पनि सहभागिताबाट मेरो उत्पादनले राम्रो अवसर पाएको थियो,’ उनले भने, ‘यो वर्ष अत्यधिक सहभागितासँगै बजारबाट पनि राम्रो माग आउन थालिसकेको  छ ।’ 
आफ्नो उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकको चाहना पूरा गर्न सफल भएको उनको भनाइ छ । 
पछिल्लो समय कोठा सजावटमा व्यापक प्रयोग हुँदै आएका सामग्रीमध्ये नर्सरीजन्य एन्थुरिएम, क्याक्टस, बोन्साई, सुकुलेन्स, मनि प्लान्ट, स्नेक प्लान्ट, पिस लिली, क्यालोथिया लगायतमा ग्राहकको निकै आकर्षण रहेको उनले बताए । १२ सय ५० देखि २८ सय रुपैयाँसम्मका प्लान्टलाई मेलामा सहभागी गराएको उनले जानकारी गराए । विदेशबाट आयातितभन्दा स्वदेशमै उत्पादित वस्तुमा ग्राहकको उल्लेख्य आकर्षण देखिएको उनले अनुभव सुनाए ।
मेलामा आएका जाउलाखेलका रोहित अवस्थीले नेपाली ब्रान्डका विभिन्न सामान एकै छानामुनि पाइएको जानकारी गराए । ‘आफूले खोजे जस्तै नेपाली उत्पादन किन्न पाउने भएकाले परिवारै लिएर आएको हुँ,’ उनले भने, ‘बिदाको दिन भएकाले लामो समय मेला अवलोकन गर्न पाएँ । बच्चालाई पनि साथमै ल्याएकाले समय बिताउन विभिन्न खेलमा सहभागी भइरहेको छु ।’
मेलामा सहभागी अचार घरले विभिन्न प्रकारका अचारको स्टल राखेको थियो । अकबरे, लसुन, गुन्द्रुक, भटमास, टिमुर, माछा, कुखुरा, आँप, मेथी, अमला तथा तोरी लगायतका अचारको राम्रो माग रहेको अचार घरले जानकारी गराएको छ । 
संज्ञा सापकोटा र निता प्रधानांगले कार्यक्रम सञ्चालन गरेका थिए । मेलामा सहभागीमध्येबाट विक्रम महर्जन तथा खन्द्रो गुरुङले लक्की ड्रमार्फत होस्टेमा हैंसेको तर्फबाट ११ हजार रुपैयाँ पर्ने नेपाली गलैंचासहित अचार घरको तर्फबाट दुईजनालाई खानाको कुपन पाए । 

यसमा तपाईको मत