बजार संक्षेप

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

  नागरिक   2019-09-20

काठमाडौं– नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको जनाएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते ( आज देखि) यी मुलुकमा डाटा रोमिङ सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

टेलिकमले जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने जनाएको छ ।
 साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।
  
केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।

        
 

यसमा तपाईको मत