बजार संक्षेप

माघ पहिलो साता नेपाल बिल्डटेक एक्स्पो

  नागरिक   2019-09-29

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा माघ पहिलो साता नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएका निर्माण क्षेत्रका उपकरण र प्रविधि प्रदर्शन गर्न मेला आयोजना गरिएको हो । 
मेला नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० हुनेछ । 
महासंघका अध्यक्ष रवि सिंहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय बजारमा आएका निर्माण क्षेत्रका उपकरण र प्रविधि प्रदर्शनीमा राखिने बताए । निर्माण क्षेत्रमा रुचि राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी र निर्माण व्यवसायीका लागि एक्स्पो कुम्भ मेला हुने अपेक्षा हामीले लिएका छौं,’ अध्यक्ष सिंहले भने, ‘विश्व बजारमा आएका नयाँनयाँ निर्माण उपकरणबारे अवगत गराउन समेत एक्स्पो उपयुक्त मञ्च हुनेछ ।’
एक्स्पोमार्फत सरोकारवालाबीचको द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धसहित व्यापार, लगानीको वातावरण र व्यापारिक सम्बन्ध समेत अझ प्रगाढ बन्ने महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले बताए । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव गोपाल सिग्देलले एक्स्पो सम्पन्न गर्न आवश्यक पर्ने सबै खालको सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । इन्नो रेग ग्रुपका प्रोजेक्ट डाइरेक्टर महेश ठाकुरले एक्स्पोको महत्वमाथि चर्चा गर्दै एक्स्पोमा सहभागी भएर निर्माण व्यवसायमा संलग्न जो कोही लाभान्वित हुने जानकारी दिए । एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित एक सय ६० भन्दा बढी प्रदर्शनी कक्ष रहने महासंघले जनाएको छ । 
तीनदिने एक्स्पो १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । एक्स्पो सँगसँगै महासंघको २१औं साधारण सभा पनि हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साधारणसभामा नेपाली निर्माण जगतमा देखिएका समस्या र समाधानका उपायमा व्यवसायीबीच घनिभूत छलफल भई काठमाडौं घोषणापत्र जारी गर्ने महासंघले जनाएको छ । 
सोही अवसरमा एक्स्पो आयोजनासम्बन्धी सम्झौतापत्रमा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र इन्नो रेग ग्रुप अफ कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशप्रसाद दशमानाले हस्ताक्षर गरेका छन् ।
 

यसमा तपाईको मत