अटो विशेष

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

  नागरिक   2020-04-06

अन्य सवारी साधनहरु जस्तै मोटरसाइकललाई पनि केहि समयको निरन्तर प्रयोग पछि सम्भारको आवश्यकता पर्छ जसमा धेरै रकम खर्च हुन जान्छ। तर विशेष ध्यान दिएर मोटरसाइकलको प्रयोग गर्दा तपाईले निर्मल यात्राको अनुभव पाउनु सँगै सम्भार खर्च पनि बचाउन सक्नुहुन्छ । यसरी विशेष ध्यान दिएर चलाएका मोटरसाइकलको सेकेन्ड ह्यान्ड मूल्य पनि धेरै हुन्छ । यस्तै मोटरसाइकलको उचित सम्भार गर्ने टिप्सहरु तल दिईएको छ ।

  • नियमित तेल परिवर्तन

मोटरसाइकलमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको नै नियमित इन्जिनको तेल परिवर्तन गर्नु हो । हरेक ५ हजार देखि १० हजार किलोमिटर चलाईसके पछि मोटरसाइकलको इन्जिनको तेल परिवर्तन गर्नु उचित हुन्छ । इन्जिनमा पर्याप्त मात्रामा तेल हुनु आवश्यक छ । तेल थोरै भएमा इन्जिन नै खराब हुने समस्या देखिन्छ भने धेरै भएमा हावा सफा गर्ने एअर क्लिनरमा तेल पस्न सक्छ। नयाँ मोटरसाइकलका इन्जिनहरु तेल खपतमा कुशल हुन्छन भने पुराना मोडलका र धेरै लामो समयसम्म प्रयोग भएका मोटरसाइकलहरुको तेल खपत बढी हुन्छ । अन्यभन्दा अलिक महँगो भएता पनि सिन्थेटिक तेलको प्रयोग गर्नु उचित हुन्छ ।

खाल्डाहरुमा मोटरसाइकल चलाउदा यसको पार्टपुर्जालाई केहि असर नहोस् भन्ने कुरा सुनिश्चित गर्नका लागि फर्क् तेलको प्रयोग भएको हुन्छ। थोरै प्रयोग हुने र सहरी भागमा प्रयोग हुने मोटरसाइकलको फर्क् तेल २ वर्षमा परिवर्तन गर्दा हुन्छ भने कच्चा बाटोमा प्रयोग हुने र धेरै प्रयोग हुने मोटरसाइकलको फर्क् तेल १ वर्ष मै परिवर्तन गर्नु राम्रो हुन्छ । 

  • ब्रेक प्याडको सम्भार

लामो समयको नियमित प्रयोग पछि ब्रेक प्याड पातलो हुदै जान्छ । हरेक १० हजार देखि १५ हजार किलोमिटरको प्रयोग पछि मोटरसाइकलको ब्रेक प्याडको चेकजाच गराउनु राम्रो हुन्छ । ब्रेक प्याड २ मिमि भन्दा पातलो हुनु हुदैन, सोभन्दा पातलो भएमा परिवर्तन गरिहाल्नु पर्छ । कच्चा बाटो र उकालो ओरालो धेरै हुने बाटोमा प्रयोग गरिएको मोटरसाइकलको ब्रेक प्याड चाडो पातलो भएर जान्छ ।

  • टायरको नियमित निगरानी

टायरको चेकजांच गर्दा यसमा हावाको प्रेसर र पकडको कुरामा विशेष ध्यान दिनुपर्छ । हावा धेरै भरिएको टायरको सडक पकड राम्रो हुदैन भने हावा कम भरिएको टायरलाई नियन्त्रण गर्न अलिक गाह्रो हुन्छ, टायर चाडै फाट्दै जान्छ र तेल खपत पनि बढी हुन्छ । कच्चा बाटोमा धेरै प्रयोग गरिएको मोटरसाइकलको टायर चाडै फाटेर जान्छ । पकड राम्रो नभएको, फाटेको, काटिएको टायर भने परिवर्तन गरिहाल्नु उचित हुन्छ । टायरमा प्रेसरको चेकजांच एक-एक महिनाको अन्तरालमा गर्नु पर्छ। चिसोसँगै टायरमा हावाको प्रेसर घट्ने भएकाले  गर्मी ठाउँबाट चिसो ठाउँ तर्फ जादै हुनुहुन्छ भने पनि टायरको प्रेसरको जाच गर्नु उचित हुन्छ।

  • कुलेंटको परिवर्तन  

मोटरसाइकलको इन्जिनलाई अत्यधिक तापबाट बचाउनका लागि प्रयोग कुलेंटको प्रयोग हुन्छ । कुलेंट भन्नाले पानी र फ्रीज प्रतिरोधी ( एन्टी फ्रिज) को ५०/५० को मिश्रणलाई बुझिन्छ । पानीले मात्र इन्जिनको तापलाई राम्रोसँग फैलाउन र हटाउन नसक्ने भएकाले नै कुलेंटको प्रयोग गरिन्छ । मोटरसाइकलको इन्जिनलाई राम्रो अवस्थामा राख्नका निम्ति हरेक  दुइ वर्षको अन्तरालमा कुलेंट परिवर्तन गर्नु पर्छ । नियमित कुलेंटको परिवर्तन  नगरेमा मोटरसाइकलको इन्जिन मोटरसाइकल कै तापको कारणले खराब हुनसक्छ ।

  • मोटरसाइकल चेन

मोटरसाइकल चलाउदा नियमित रुपमा प्रयोग हुने चेनमा चाडै खिया र फोहर जम्ने गर्छ । त्यसैले समय-समयमा यसको सफाई गरिरहनु पर्छ। चेनमा चाहिए जति तेल लागेको हुनुपर्छ। मोटरसाइकलको चेन पनि अन्य पार्टहरु परिवर्तन गरे जस्तै लगभग २० हजार किलोमिटरको प्रयोगपछि परिवर्तन गर्नुपर्छ। चेनमा ठीक चाप हुनु पनि अत्यावश्यक छ। खुकुलो भएको चेनले यात्राको समयमा दुर्घटना निम्त्याउन सक्छ। चेनको प्रतिस्थापनका लागि मोटरसाइकल मर्मत केन्द्रमै जान परे पनि यसको सफाई र सम्भार भने आफैले एक साधारण ब्रस र तेलबाट गर्न सकिन्छ ।

  • ब्याट्रीको चेकजांच

मोटरसाइकलमा ब्याट्रीको प्रयोग इन्जिन स्टार्ट गर्न देखि हेडलाइट बाल्न, हर्न बजाउनका लागि प्रयोग हुन्छ ।  मोटरसाइकल ब्याट्रीको प्रयोग आयु लगभग २ वर्ष जति मात्र हुन्छ । ब्याट्रीले राम्रोसँग काम गरिरहेको छैन भने परिवर्तन गरिहाल्नु उचित हुन्छ । हरेक ६ हजार किलोमिटर देखि १२ हजार किलोमिटरको प्रयोग पछि मोटरसाइकलको स्पार्क प्लग चेकजाच गर्नुपर्छ। चिसो मौसममा ब्याट्रीको क्षमता चाडै सकिने गर्दछ, त्यसैले ब्याट्रीलाई जाडो मौसममा विशेष ध्यान दिनुपर्छ ।

  • चेसिसको सफाई

मोटरसाइकलको सम्भार आन्तरिक रुपमा मात्र सिमित हुदैन, बाह्य रुपमा पनि सम्भार गर्नुपर्छ । चेसिसको नियमित सफाई गर्नाले, ठक्करबाट बचाउनाले र स्क्य्राच हुन नदिनाले मोटरसाइकल हेर्दामा राम्रो देखिनुको साथसाथै सेकेन्ड ह्यान्ड पुन: बिक्रि मूल्य पनि धेरै भएर आउछ । यस लगायत मोटरसाइकलको फिल्टर पनि हरेक १० हजार किलोमिटरको प्रयोग पछि परिवर्तन गर्नुपर्छ।   

यसमा तपाईको मत