ग्याजेट विशेष

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

  नागरिक   2019-11-10

प्रोसेसर निर्माता कम्पनी एएमडीले संसार कै सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर सार्वजनिक गरेको छ । इन्टेललाई प्रोसेसरको दौडमा पछि पार्दै एएमडीले यो प्रोसेसर सार्वजनिक गरेको हो ।

यस नयाँ प्रोसेसरमा २४ वटा र ३२ वटा कोरहरू रहेकाछन् । २४ वटा कोर र ४८ वटा थ्रेड भएको मोडललाई थ्रेडरिपर ३९६०X नाम दिईएको छ भने ३२ वटा कोर र ६४ वटा थ्रेड भएको प्रोसेसरलाई थ्रेडरिपर ३९७०X नाम दिईएको छ । तुलनाका लागि इन्टेलको कोर i9-9980XE मा केवल १८ वटा कोर र ३६ वटा कोर रहेका छन् । इन्टेलले भन्दा निकै कम मूल्यमा एएमडीले ६ वटा थप कोर र अझै धेरै परफरमेन्स उपभोक्ताका लागि उपलब्ध गराएको छ ।

एएमडीको २४ कोर प्रोसेसर अर्थात् थ्रेडरिपर ३९६०X को मूल्य १४०० अमेरिकी डलर तोकिएको छ जसलाई नेरुमा रुपान्तरण गर्दा १ लाख ६० हजार पर्छ । इन्टेलले आफ्नो १८ वटा मात्र कोर भएको i9-9980XE प्रोसेसेरको मूल्य नै २००० अमेरिकी डलर अर्थात् २ लाख २८ हजार नेरु तोकेको छ । एएमडीले सोही २००० अमेरिकी डलर मूल्यमा उपभोक्तालाई ३२ कोर र ६४ थ्रेड भएको  थ्रेडरिपर ३९७०X प्रोसेसर उपलब्ध गराएको छ ।

थ्रेडरिपर ३९७०X  प्रोसेसर बजारमा डेस्कटपका लागि बनेका अन्य कुनै प्रोसेसरभन्दा ९० प्रतिशतसम्म फास्ट भएको दाबी एएमडीले गरेको छ । भिडियो एडिटिंग जस्ता काममा प्रयोगकर्ताले अन्य कुनै प्रोसेसरभन्दा ५० प्रतिशत बढी परफरमेन्स पाउन सक्ने दाबी एएमडीले गरेको छ ।

इन्टेलले भन्दा थोरै मूल्यमा नै धेरै कोर भएको र संसार कै सबैभन्दा शक्तिशाली प्रोसेसर उपलब्ध गराएर एएमडी प्रतिस्पर्धामा धेरै अगाडी पुगेको छ । एएमडीको यस प्रोसेसरको प्रतिउत्तरमामा अहिलेको सबैभन्दा प्रचलित प्रोसेसर निर्माता इन्टेलले कसरी जवाफ दिने छ भन्ने कुरा हेर्न बाँकी नै छ । एएमडीको दमदार प्रोसेसरको लाइनअपले गर्दा नै इन्टेलले केही साता अगाडी आफ्नो प्रोसेसरको मूल्यलाई घटाएको थियो ।

स्रोत: ZDNet

 

यसमा तपाईको मत