ग्याजेट विशेष

यस्तो स्मार्टफोन जसमा न कुनै पोर्ट छ ,न त कुनै बटन

  नागरिक   2019-01-24

मेइजु कम्पनीले हालै मेइजु जिरो स्मार्टफोनको बारेमा जानकारी र तस्विरहरु सार्वजनिक गरेको छ । मेइजु जिरो बटन नहुने, स्पिकरको लागि ग्रिल नहुने र चार्जिंग पोर्ट पनि नहुने पहिलो स्मार्टफोन हो ।

मेइजु जिरोमा बटनहरूको सट्टा स्मार्टफोनको छेउमा क्यपासीटिभ टच सेन्सरहरु राखिएको छ । यी टच सेन्सरहरुबाट नै पावर अन अफ् गर्ने र स्पिकरको आवाज घटाउने बढाउने काम गर्न सकिनेछ । यस्तै प्रविधि गत वर्ष रिलिज भएको एच टि सी यु १२ प्लसले पनि प्रयोग गरेको थियो ।

स्पिकरको प्रतिस्थापनको लागि मेइजुले डिस्प्लेलाई प्रयोग गरेको छ । स्पिकरको सट्टा यस स्मार्टफोनको डिस्प्लेले कम्पन पैदा गर्ने छ र उक्त कम्पनबाट नै आवाज निस्कने छ । यो प्रविधि शार्प र सायोमी कम्पनीले आफ्नो स्मार्टफोनहरुमा केहि वर्ष अगाडि नै प्रयोग गरिसकेका थिए ।

यस स्मार्टफोनमा कुनै पनि प्रकारको चार्जिंग वा यु एस बी पोर्ट छैन । यु एस बी बाट चार्ज गर्नुको सट्टा यस स्मार्टफोनलाई तारहिन तरिकाले मात्र चार्ज गर्न मिल्छ । यु एस बी पोर्टबाट फास्ट चार्ज हुने फिचरको पूर्ति गर्नका लागि मेइजुले १८ वाटको वायरलेस चार्जर पनि स्मार्टफोनमा उपलब्ध गराउने छ ।  
 
यु एस बी पोर्ट जस्तै यो स्मार्टफोनमा हेडफोन ज्याक पनि छैन । त्यसैले वायरलेस ब्लुतुथ हेडफोन मात्र यस स्मार्टफोनमा प्रयोग गर्न मिल्नेछ । अन्य स्मार्टफोनमा जस्तो यो स्मार्टफोनमा डन्गलको प्रयोग गर्न चाहिँ मिल्ने छैन किन कि डन्गल प्रयोग गर्नको लागि पनि यस स्मार्टफोनमा पोर्ट छैन ।

यस लगायत यो स्मार्टफोनमा सिमकार्ड हाल्ने र मेमोरी कार्ड हाल्ने स्लट पनि छैन । साधारण सिमको सट्टा यस स्मार्टफोनले ई सिम अर्थात् इलेक्ट्रोनिक सिम प्रयोग गर्ने छ ।

डिस्प्लेका आधारमा यस स्मार्टफोनमा ५.९९ इन्चको एमोलेड डिस्प्ले राखिएको छ र डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । पछाडी १२+२० मेगापिक्सल गरेर डबल क्यामरा सेटअप छ भने अगाडि २० मेगापिक्सलको उच्चस्तरीय सेल्फी क्यामरा छ । यी सबैलाई चलाउनको लागि फ्ल्याग्शिप गुणस्तरको प्रोसेसर अर्थात् स्न्यापड्रागन ८४५ राखिएको छ । कुनै पनि किसिमको पोर्ट नभएको कारणले गर्दा पनि यो स्मार्टफोन आइ पी ६८ पानी प्रतिरोधी छ ।

 

 

 

यसमा तपाईको मत