बजार संक्षेप

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

  नागरिक   2020-02-17

काठमाडौं– मेगा बैंक नेपालले दोहा बैंकबाट सवा दुई अर्ब रुपैयाँ व्यावसायिक ऋण ल्याउने भएको छ । 
उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहबीच व्यावसायिक ऋण नेपाल भित्र्याउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिलगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्र्याउने जनाएको छ । कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट व्यावसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकले दोहाबाट रकम ल्याउने प्रक्रिया थालेको जनाएको छ । 
नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभावको समस्यालाई समेत मध्यनजर राख्दै उक्त रकम नेपाल ल्याउन लागेको बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यावसायिक लगानीकर्तालाई राहत मिल्ने बैंकको विश्वास छ । 
हाल मेगाले एक सय ११ शाखा, २९ एक्सटेन्सन काउन्टर, एक सय १४ एटिएम, ७९ शाखारहित एकाइ र २५ सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सेवा दिइरहेको छ । 

यसमा तपाईको मत