ग्याजेट विशेष

आइफोन ( iPhone ) मा i को अर्थ के ?

  नागरिक   2019-08-19

संसारकै सबैभन्दा ठूलो टेक कम्पनी मध्ये एक रहेको एप्पलले आफ्नो विभिन्न उत्पादनहरूको नाममा बिगतका दुई दशक देखि अंग्रेजी अक्षर i को प्रयोग गर्दै आएको छ। एप्पलले i अक्षर सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा पहिलो पटक प्रयोग गरेको थियो । यही नामकरण विधीलाई प्रयोग गर्दै हालसम्म एप्पलले आइफोन, आइप्याड, आइपड र आइट्युन्स जस्ता उत्पादन र सेवाहरू रिलिज गरेको छ ।

सन् २००७ मा रिलिज भएको एप्पलको पहिलो र एप्पल आफैले निर्माण गरेको स्मार्टफोन अर्थात् आइफोनमा पनि अंग्रेजी अक्षर i को प्रयोग गरिएको छ । नाममा i भएको मध्येमा सबैभन्दा प्रचलित र एप्पलका लागि सबैभन्दा धेरै पैसा कमाउन सफल बनाउने उत्पादन पनि  आइफोन नै हो ।

“ i को मुख्य र मूल अर्थ इन्टरनेट”

एप्पलले सन् १९९८ मा पहिलो आइम्याक रिलिज गर्दा नै एप्पलका तत्कालीन सीईओ स्टेभ जब्सले आइम्याकमा भएको i र mac ( म्याक ) बीचको सम्बन्ध र अर्थलाई खुलाएका थिए । स्टेभ जब्सले सो आइम्याकको प्रस्तुतिको क्रममा i को मुख्य अर्थ नै इन्टरनेट भएको बताएका थिए । आइम्याकको प्रयोगबाट उपभोक्ताले सजिलै र द्रुत गतिमा इन्टरनेटसँग जडित हुनसक्नेछन् भन्ने भनाइ स्टेभ जब्सको रहेको थियो ।

सन् १९९० पछि इन्टरनेटको प्रयोगमा आएको आमूल वृद्धिले गर्दा एप्पल, माइक्रोसफ्ट, याहु आदि जस्ता कम्पनीहरू सबैले इन्टरनेट र इन्टरनेट सम्बन्धित उत्पादनहरू उपलब्ध गराउनमा ध्यानकर्षण गरेका थिए । यही ट्रेन्डलाई पछ्याउने क्रममा र इन्टरनेट र घरेलु कम्प्युटरको दौडमा अगाडी आउनका लागि एप्पलले आइम्याक रिलिज गरेको थियो जसको पहिलो अक्षरको अर्थ नै इन्टरनेट थियो ।

पहिलो आइम्याक रिलिज गर्ने समयमा i को अर्थलाई धेरै i बाट आउने शब्दहरूको प्रयोगबाट देखाइएको थियो । तर सो सूचीमा सबैभन्दा माथिल्लो स्थानमा थियो इन्टरनेट ( internet ) । इन्टरनेट बाहेक आइम्याकको i को अर्थ individual, instruct, inform र inspire रहेको छ ।

उत्पादनमा i राख्ने एप्पलको मोह

एप्पलले आफ्नो उत्पादनहरूमा i राख्ने क्रम २१ औं शताब्दीमा पनि प्रयोग गर्यो । सन् २००१ मा एप्पलले संगीतको लागि समर्पित म्यूजिक उपकरण रिलिज गर्यो जसको नाम थियो आइपड ( iPod ) । आइपड एप्पलको लामो समयको फ्लपहरू पछिको पहिलो हिट उत्पादन रहेको थियो । एप्पललाई डुब्नबाट बचाउने उत्पादन पनि आइपड नै रहेको छ ।

तर नाममा i अक्षर प्रयोग भए पनि आइपडबाट इन्टरनेट चलाउन मिल्दैन थियो । सन् २००७ मा आइफोन ( iPhone ) रिलिज नहुँदासम्म एप्पलको कुनै पनि आइपडमा इन्टरनेट चल्दैन थियो जसले गर्दा एप्पलको उत्पादनमा हुने i अक्षरको अर्थ लगभग हराइसकेको थियो ।

आइफोन र आइप्याडको रिलिज पछि एप्पलको उत्पादनहरूमा i को अर्थ इन्टरनेटमा मात्र सिमित भएन ।  यस समयमा i अक्षरले इन्टरनेटभन्दा पनि एप्पलको ब्राण्ड चिनाउनका लागि सहयोग पुर्यायो । आजपनि कुनै उत्पादनमा अगाडी i अक्षर देख्नासाथ उक्त उत्पादन एप्पलको होला भनेर अनुमान लगाउने गरिन्छ ।

i अक्षरबाट टाढा हुँदै एप्पल

पहिले देखि नै स्थापना भएका उत्पादनहरूमा बाहेक नयाँ उत्पादनहरूमा एप्पलले i अक्षरको प्रयोग गरेको छैन । उदाहरणका लागि एप्पलको नयाँ स्मार्टवाचलाई iWatch ( आइवाच ) नाम दिनुको सट्टा एप्पल वाच नाम दिईएको छ । यसै गरेर एप्पलको टिभीलाई iTV भनिएको छैन - एप्पलको टिभीको नाम “एप्पल टिभी” रहेको छ । आइट्युन्सको प्रतिस्थापनमा आएको संगीत सेवालाई एप्पलले “एप्पल म्यूजिक” नाम दिएको छ । यसबाहेक होमपड, यअरपड, एप्पल अर्केड, एप्पल बुक्स आदि जस्ता उत्पादन र सुविधाहरूमा पनि i अक्षरको प्रयोग गरिएको छैन ।

हालका लागि i अक्षरको प्रयोग गर्ने उत्पादनहरू आइफोन, आइपड, आइप्याड र आइम्याक रहेकाछन् । तर अहिलेको समयमा यी उत्पादनहरूमा i को अर्थ इन्टरनेटमा मात्र सिमित रहेको छैन - अहिले i अक्षरले एप्पलको ब्राण्डलाई चिनाउन सहयोग गरेको छ ।

 

यसमा तपाईको मत