अटो विशेष

नेपाली बजारका लागि पहिलो जीप : जीप कम्पास

  नागरिक   2018-08-04

ढिलै भएपनि नेपालमा पहिलो पटक जीपका गाडीहरु आधिकारिक रुपमा आउने भएको छ । विश्वव्यापी चर्चा पाएको एसयुभी निर्माता जीपले निकै लामो समय देखि अन्य देशहरुमा आफ्नो विविध एसयुभी लाइनअपको बिक्रि गर्दै आइरहेको छ । नेपालका लागि रिलिज हुने सबैभन्दा पहिलो जीपको एसयुभी हो जीप कम्पास । नेपालको भौगोलिक अवस्था र जीपले निर्माण गर्ने गाडीको बीचमा सहि तालमेल मिल्ने भएकाले नेपालमा जीपको उपस्थितिबाट एसयुभी गाडीका फ्यानहरु मोहित हुने निश्चित छ ।  

जीप कम्पास एक मध्यम साइज भएको फिचर युक्त र शक्तिशाली एसयुभी हो । सन् २००७ बाट नै सुरु भएको यस एसयुभी लाइनअपमा हुदै आएको क्रमागत सुधारका सहायताले गर्दा आज जीप कम्पास एक उल्लेखनीय एसयुभी विकल्प बन्न पुगेको छ । सन् २०१८ मा रिलिज भएको नयाँ जिप कम्पासको मोडलमा सन् २०१७ कै मोडलको तुलनामा पनि धेरै परिवर्तनहरु देखिएका छन् ।

पारिवारिक एसयुभीको बजारलाई लक्षित गरेर रिलिज गरिएको यस एसयुभीले नेपालमा पहिल्यैबाट स्थापित र प्रचलित महिन्द्रा, ह्युन्ड़े,किया, फोर्ड, रेनाल्ट आदि कम्पनीका एसयुभीसंग प्रतिस्पर्धा गर्नेछ । जीप कम्पास अहिले भारतमा पनि उत्पादन हुन्छ र नेपाल भित्रने मोडल पनि भारत मै निर्मित मोडलरु हुन् | हालै जीप कम्पासका तीनवटा मोडलहरु रहेका छन् - कम्पास स्पोर्ट, कम्पास लोंगीट्युड र कम्पास लिमिटेड | यी मोडलहरुमा अत्यधिक कुराहरु समान छन् भने भिन्नता चाहिँ ट्रान्समिसन, साइज र केहि फिचरहरुमा सिमित रहेको छ |

 

बाहिरी डिजाइन

जीप कम्पासको सबैभन्दा बलियो पक्ष नै यसको डिजाइन हो । जीपको ट्रेडमार्क डिजाइन सात-स्लट ग्रिललाई आधुनिक तरिकाबाट प्रस्तुत गरिएको छ । यहि सात-स्लट ग्रिलसंग डिजाइन मिलाएर राखिएको फ्रन्ट हेडलाइटले जीप कम्पासको अगाडीको भागलाई शोभा दिएको छ ।

 

सु-सज्जित बनावट

छतको तल्लो भागमा रहेको चम्किलो क्रोम धर्को सुरुचिपूर्ण एसयुभीको पछिल्लो भागको सिसासम्म फैलिएको छ । यस एसयुभी डिजाइनमा समावेश गरिएको हरेक सानो सानो खोच र डिटेलको सहि अनुपात मिलाइएको छ ।समग्रमा भन्दा एक झलकबाट नै कम्पासलाई लक्जरी एसयुभी मान्ने आखाहरु धेरै हुनेछन् ।

 

मध्यम वर्गीय साइज

साइजको सन्दर्भमा जिप कम्पास जीपले निर्माण गर्ने एसयुभीहरुको मध्यम वर्गमा पर्छ । जीप रेनेगेडको लम्बाई ४.२ मिटर रहेको भने जीप चेरोकीको ४.६ मिटर । ४.४ मिटर लम्बाईसंगै जिप कम्पास यी दुईको ठीक बीचमा पर्छ । नेपालमा कम्पासका लागि सम्भावित प्रतिस्पर्धी  किया स्पोर्टेज र फोल्क्सवागन टिगुवान को लम्बाई पनि जीप कम्पाससंग मिल्दो छ ।

 

उच्च ग्राउण्ड क्लियरेन्स

जीप कम्पासको ग्राउण्ड क्लियरेन्स मोडल अनुसार २०० मिमि देखि २१५ मिमि सम्म रहेको छ । जीप कम्पासका मोडलहरुमा सबैभन्दा थोरै रहेको २०० मिमिको ग्राउण्ड क्लियरेन्स पनि अफ् रोडमा चलाउनका लागि प्रयाप्त छ ।

 

भित्रि डिजाइन

 

आरामदायी ड्राइभिङ अनुभूति

बाहिरबाट हेर्दा जीप कम्पास जति प्रीमियम देखिन्छ भित्रबाट पनि यो एसयुभी उत्तिकै आकर्षक छ । अगाडी ग्राउण्डबाट ७१२ मिमि उचाइमा रहेको दुई वटा फोल्डिंग सिट रहेको छ । यसर्थ चालकले कम्पास चलाउदा आरामदायी अनुभव पाउनेछन् । पछाडी तीन जना यात्रु बस्न मिल्ने चौडा सिट राखिएको छ जसको बीचमा फोल्ड गर्न मिल्ने कप होल्डर पनि छ । गाडी भरिमा कुल ८ वटा कप होल्डर राखिएका छन् ।

 यहि दायराको अन्य एसयुभीसंग तुलना गर्दा चालकका लागि कम्पासमा अलिक बढी हेडरूम र लेगरूम छ जसबाट चालकलाई कम्पासमा चढ्न, चलाउन र ओर्लन निकै सजिलो हुनेछ । यात्रुका लागि पनि प्रयाप्त मात्रामा लेगरूम र हेडरूम उपलब्ध छ ।

 

फिचरयुक्त ड्यासबोर्ड

 ड्यासबोर्डमा ठूलो फिचर युक्त टच स्क्रिन राखिएको छ । उक्त टच स्क्रिनमा चलाउन सजिलो हुने मेनुहरु राखिएको छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो पनि सपोर्ट गर्छ । कतिपय महत्वपूर्ण कार्यहरुलाई टच स्क्रिनमा नराखी छुट्टै बटन प्रदान गरिएको छ जुन सराहनीय कुरा हो । यसले टच स्क्रिनलाई भद्रगोल देखिनबाट टाढा राख्छ र प्रयोग गर्न पनि सजिलो हुन्छ । टच स्क्रिनको छेउमा भएको युएसभी पोर्टको नजिकै मोबाइल फोन राख्ने सानो खल्ती छ ।

स्टेरिंग व्हिलको अघिल्लो भागमा भने १६ वटा बटनहरु राखिएको छ जसको आ-आफ्नै कामहरु रहेका छन् । स्टेरिंग व्हिलको पछिलो भागमा पनि ६ वटा बटन राखिएको छ । यी बटनहरुबाट संगीत, फोन, मेनु आदि जस्ता कुराहरु नियन्त्रण गर्न मिल्छ ।

 

प्रबलित छत

गाडीको छतलाई बलियो बनाउनका लागि रूफ पिलरको प्रयोग गरिएको छ तर यसले चालकको दृश्यतालाई भने असर गर्छ अर्थात् केहि ब्लाइन्ड स्पटहरु सिर्जना हुन्छ । यसर्थ अन्य एसयुभीको तुलनामा कम्पासको दृश्यता अलिक कम रहेको छ । तापनि उच्च गुणस्तरको सामग्री प्रयोग गरेर बनाइएको कम्पासको भित्रि भाग आकर्षक र सेवायोग्य रहेको छ |

 

इन्जिन, पावर र ड्राइभिङ्ग

 

शक्तिशाली इन्जिन

जीप कम्पासले आफ्नो आकर्षक चेसिस भित्र अन् रोड र अफ् रोड दुवैमा चलाउनलाई प्रचुर हुने पावर र तागत भएको इन्जिन राखेको छ | जीप कम्पास १.४ लिटरको मल्टीएअर पेट्रोल इन्जिन र २.० लिटरको मल्टीजेट डिजेल इन्जिन गरी दुई इन्जिन मोडलमा उपलब्ध छ र दुवै इन्जिनले लगभग १७० HP को पावर पैदा गर्छ |

जीप कम्पासका स्पोर्ट र लोंगीट्युड मोडलमा ६ स्पिडको म्यानुअल ट्रान्समिसन राखिएको छ | जीप कम्पासको लिमिटेड पेट्रोल इन्जिन मोडलमा भने ७ स्पिडको डिडिसिटि ट्रान्समिसन गिअर बक्स राखिएको छ | डिडिसिटि ट्रान्समिसन एक ट्वीन क्लच अटोमेटिक ट्रान्समिसनको किसिम हो जसले  निर्मल र आरामदायी यात्राको अनुभूति दिलाउने छ |

 

औसत माइलेज

जीपका अनुसार पेट्रोल इन्जिनको माइलेज १४ किलोमिटर प्रति लिटर हुने छ भने डिजेल इन्जिनको माइलेज १७ किलोमिटर प्रति लिटर हुनेछ | यो माइलेज अन्य एसयुभीको तुलनामा औसत नै हो | यहि दायराको एसयुभीले नै कम्पासले भन्दा बढी माइलेज दिन्छ तर यहि नै शक्तिशाली इन्जिनका लागि गर्नु पर्ने सम्झौता हो | सबै कम्पासका मोडलमा ६० लिटरको फ्युल ट्यांकी राखिएको छ जुन यस प्रकारको एसयुभीका लागि सामान्य हो |

 

उपलब्ध मोडलहरु र अन्य फिचरहरु  

 

जीपले कम्पासका तीन मोडलहरुमा पनि दुईको पेट्रोल र डिजेल गरेर कुल ५ वटा भिन्न कन्फिगरेसन उपलब्ध गराउने छ | ४x४ अर्थात् फोर व्हिल ड्राइभ भने कम्पासको सबैभन्दा अब्बल मोडल अर्थात् जीप कम्पास लिमिटेडमा मात्र उपलब्ध छ | कम्पास लोंगीट्युडको भने पेट्रोल मोडल उपलब्ध छैन |

तर हरेक जीप कम्पासका मोडलहरुमा सुरक्षाका र आरामका लागि आवश्यक पर्ने फिचरहरु उपलब्ध गराइएको छ | यी फिचरहरु हुन् :

  • गिअर शिफ्ट इन्डिकेटर
  • रिमोट किलेस इन्ट्री
  • ध्वनिक विन्डशिल्ड
  • एक टच मै खोल्न र बन्द गर्न मिल्ने झ्याल
  • चालक एअरब्याग
  • विद्युतीय पार्किंग ब्रेक
  • सक्रिय पार्किंग सिग्नल
  • एबिएस र टिसिएस
  • हिल स्टार्ट एसिस्ट
  • सबै मौसममा प्रयोग गर्न मिल्ने टायर  

 

जीप कम्पासको अब्बल मोडल कम्पास लिमिटेड र कम्पास लोंगीट्युडमा माथि उल्लेखित सबै फिचरहरुसंगै अन्य थुप्रै आराम र सुरक्षा सम्बन्धि फिचरहरु राखिएको छ | कुनै फिचरहरु भने वैकल्पिक रहेका छन् |

 

स्रोत: जीप 

प्रायोजित : एम.ए.डब्लु इन्टरप्राइजेज

यसमा तपाईको मत