घरेलु उपकरण विशेष

इन्डक्सन कि ग्यास - उचित कुन ?

  नागरिक   2020-04-05

भान्साको लागि खाना पकाउनलाई चुल्हो खरिद गर्दा तपाईंसंग मुख्यतः दुईवटा विकल्प छ – इण्डक्सन र ग्यास । यी दुई चुल्हो एकआपसमा धेरै फरक छन् कि यिनीहरुमा खाना पकाउनका लागि पनि बेग्लै किसिमको भाडाहरु प्रयोग हुन्छ । यसै कारणले राम्रोसंग सोचेर र बुझेरमात्र कुनै एकमा लगानी गर्नु राम्रो हुन्छ । यी दुवैका आफ्ना आफ्नै फाइदा र बेफाइदाहरु छन् जसका बारेमा बिस्तृत जानकारी तल दिईएको छ:

 

इण्डक्सन चुल्हो

इण्डक्सन चुल्होले खाना पकाउने भाडालाई चुम्बकीय इण्डक्सनबाट तातो बनाउछ । अर्को तरिकाले भन्नु पर्दा भाडा आफै चुम्बकीय इण्डक्सनले तात्छ र खानालाई पकाउछ । इण्डक्सनबाट ताप सरुवा हुने भएकाले भाडाको तापको मात्रालाई सजिलैसंग नियन्त्रण गर्न मिल्छ । यस कारणले इण्डक्सन चुल्होलाई विशेष किसिमको भाडाको आवश्यकता पर्छ – खाना पकाउने भाडाको मुनि पट्टिको भाग चुम्बकीय हुनुपर्छ।

 

इण्डक्सनका फाइदाहरु:

  • विद्युत खपतमा कुशल र खाना पकाउन साधारण ग्यासभन्दा चाडो
  • बालबालिका मैत्री – अप्रत्याशित दुर्घटना हुने सम्भावना अति न्यून
  • इण्डक्सन चुल्होले भाडालाई मात्र तातो बनाउछ।अर्थात्,भान्सा कोठाको तापक्रमलाई केही असर गर्दैन।
  • खाना पकाउने भाडाको तापक्रम सजिलैसंग नियन्त्रण गर्न सकिने
  • विद्युतीय खाना पकाउनेभन्दा धेरै सस्तो र सुरक्षित
  • स्थापना गर्न र सफा गर्न धेरै सजिलो

 

इण्डक्सनका बेफाइदाहरु:

  • स्थापना गर्न अन्यभन्दा धेरै महँगो
  • खाना पकाउनका लागि विशेष किसिमको भाडा चाहिने - तपाईंसँग भएको भाडाहरू सबै प्रयोग गर्न मिल्छ भन्ने हुँदैन
  • इण्डक्सन चुल्हो सिसाले बनेको हुने भएकाले फुट्न सक्ने धेरै सम्भावना हुन्छ
  • भाडा तात्नलाई ग्यासभन्दा धेरै समय
  • थुप्रै खानाका परिकारहरु यसबाट पकाउन सकिदैन

 

ग्यास चुल्हो

ग्यास चुल्होमा खाना पकाउने भाडालाई ग्यास बलेर निस्किएको ज्वालाले तातो बनाउछ । यसका लागि छुट्टै ग्यासको सिलिन्डर कि त ग्यास पाइपबाट ग्यासको निरन्तर आपूर्ति हुनुपर्छ । ग्यास चुल्होमा जस्तोसुकै भाडा पनि प्रयोग गर्न सकिन्छ । यो हालसम्मको सबैभन्दा प्रचलित खाना पकाउने विधि हो । यसका विविध फाइदा र बेफाइदाका बारेमा तल चर्चा गरिएको छ:

 

ग्यास चुल्होका फाइदाहरु:

  • ग्यास चुल्हो चालु गर्ना साथ ताप आउन सुरु हुन्छ – इण्डक्सनमा जस्तो पर्खिरहनु पर्दैन
  • सबै जसो खानाका परिकारहरु ग्यास चुल्होबाट पकाउन सकिन्छ
  • ग्यास चुल्होमा बेग्लै भाडाको आवश्यकता पर्दैन​

 

ग्यास चुल्होका बेफाइदाहरु:

  • निरन्तर ग्यासको आपूर्ति गर्नुपर्ने हुन्छ
  • ग्यास लिक र दुर्घटनाको सम्भावना हुन्छ
  • यी चुल्होहरु बाल मैत्री हुदैनन्
  • ज्वालाबाट निस्किएको सबै ताप भाडामा मात्र जान्छ भन्ने हुदैन , त्यसैले खाना पकाउदा भान्सा कोठा तात्ने समस्या हुन्छ  
  • धेरैजसो चुल्हो स्टिलले बनेका हुन्छन् जुन सफा गर्न गाह्रो हुन्छ
  • ग्यास पाइप वा ग्यास चुल्हो फिट गर्न विशेषज्ञको आवश्यकता पर्छ   

 

समग्रमा कुन उचित?

ग्यास र इण्डक्सन दुवैको आफ्ना आफ्नै फाइदा र बेफाइदा छन् । यी दुईमध्ये एउटालाई उचित र अर्कोलाई अनुचित भन्नु मिल्दैन । तपाईंको आफ्नो घर परिवारको आवश्यकता र बजेटको मूल्यांकनबाट मात्र तपाईको लागि कुन उचित भन्ने कुराको उत्तर आउछ।

मूल्यको सन्दर्भमा

ग्यास र चुल्होको प्रयोग मूल्यलाई एक अर्कासँग सिधा दाँजो गर्न मिल्दैन । इन्डक्सन चुल्हो भित्रै बर्नर साइजमा भिन्नता रहेको हुन्छ ।  बजारमा ७ इन्च देखि ११ इन्च सम्मका बर्नरहरू पाइन्छन् । ठूला बर्नर साइजका इन्डक्सन चुल्होहरूले धेरै उर्जा खपत गर्छन र प्रयोग गर्दा लाग्ने खर्च धेरै हुन्छ । धेरै मात्रामा  खानेकुरा पकाउनेहरूका लागि ठूलो बर्नर साइज भएको इन्डक्सन चुल्हो खरिद गर्नु पर्ने हुन्छ जसको प्रयोग खर्च साधारण ग्यास चुल्होभन्दा पनि महँगो हुन जान्छ ।

ठूला बर्नरहरू ३ देखि ४ हजार वाटका हुन्छन भने साना बर्नरहरू १ हजार देखि २ हजार वाटका हुन्छन । २ हजार वाट कै इन्डक्सन पनि दैनिक दुई घण्टा प्रयोग गर्दा ४ युनिट खपत हुन्छ । काठमाडौँमा डेरामा बस्नेहरूले एक युनिटको नेरु १२ तिरिरहेका हुन्छन । यसरी हिसाब गर्दा दैनिक नेरु ४८ खर्च हुन्छ र मासिक १४४० सम्म खर्च हुन सक्छ । तपाईंको ग्यास अहिले कति समय टिकिरहेको छ भन्ने जानकारीसँग यो मूल्यलाई दाँजो गर्न सक्नुहुनेछ । अनि सबैले दिनको २ घण्टा इन्डक्सन चुल्हो प्रयोग गर्छन भन्ने पनि हुँदैन । यसर्थ, इन्डक्सन चुल्हो र ग्यासको प्रयोग खर्च सोझै दाँजो गर्न पनि मिल्दैन ।


कुनै खानेकुराहरू ग्यासमा बनाउनु उचित हुन्छ भने कुनै खाने कुराहरू इन्डक्सन चुल्होमा पकाउन उचित हुन्छ । उदाहरणका लागि एक लिटर पानी तताउनका लागि ग्यासमा ५ मिनट जति लाग्छ तर राम्रो गुणस्तरको इन्डक्सन चुल्होमा एक लिटर पानी २ देखि ३ मिनट मै तात्छ । फ्राई खानाको सन्दर्भमा भने इन्डक्सन भन्दा ग्यास चुल्हो नै उचित हुन्छ ।

हालको कुल लागतको आधारमा:

प्राय नेपालमा सबैको घरमा अहिले ग्यास चुल्हो नै छ । नेपालमा भोजन पकाउने शैली र तरिकाहरु पनि ग्यास चुल्हो कै लागि विकास हुदै आएको छ । सबैको घरमा ग्यास चुल्होमा चल्ने भाँडाकुँडा पर्याप्त मात्रामा उपलब्ध हुन्छन । यसर्थ, ग्यास चुल्होबाट इण्डक्सन चुल्हो तर्फ परिवर्तन हुन जो कसैलाई पनि महँगो पर्न जान्छ । धेरै जसो भइरहेका भाँडाकुँडा काम लाग्दैनन् र खाना पकाउने अलि बेग्लै काइदाको आवश्यकता पर्न सक्छ । अतस् अहिलेको लागि चाहिँ बजेटलाई ध्यानमा राख्दा ग्यास चुल्हो नै उचित हुन्छ । निकट भविष्यमा इण्डक्सन तर्फ परिवर्तन गर्ने सोचमा हुनुहुन्न भने ग्यास चुल्हो कै प्रयोग गर्नुमा पनि केहि बेफाइदा छैन ।

 

सहजताको बारेमा सोच्दा:

सम्भार गर्न र प्रयोग गर्न त सजिलो इण्डक्सन चुल्हो नै हुन्छ । तर नेपाली बजारमा यी अलिक महँगो नै छ र बिग्रिएमा मर्मत गर्न पनि सजिलो छैन । बेला बेलामा बत्ति गइरहने समस्या त बेग्लै छ । अर्को पाटोमा हेर्दा ग्यास चुल्हो प्रचलित छ । यसका ग्यास सिलिन्डरहरु चोक चोकको पसलमा पाइन्छन् । बत्ति होस् नहोस् ग्यास चुल्होबाट सजिलै जे मन लाग्छ त्यहि बनाउन सकिन्छ । अब, तपाईलाई सम्भार गर्न सहज हुने इण्डक्सन र प्रयोग गर्न सहज हुने ग्यास चुल्हो मध्ये कुन चाहिँ उचित लाग्छ, यो त तपाईको आफ्नै रोजाईको बिषय हो ।   

 

भविष्यको बारेमा सोच्दा :

इण्डक्सन चुल्हो नै भविष्य हो र क्रमागत रुपले ग्यास चुल्होको प्रतिस्थापनमा इण्डक्सन चुल्हो नै आउने छ । इण्डक्सन चुल्हो सफा हुन्छ , सहज हुन्छ र सुरक्षित हुन्छ । नेपालमा वर्षौ देखि दैनिक लोडसेडिङ हुदै आइरहेको थियो जसले गर्दा मानिसहरुलाई इण्डक्सन चुल्हो खरिद गर्न निरुत्साहित पारेको थियो । तर हालै नेपाल सरकारले घरेलु प्रयोजनका लागि कुनै लोडसेडिङ नहुने घोषणा गरेको छ । यसले मानिसहरुलाई इण्डक्सन चुल्हो खरिद गर्न प्रोत्साहन दिलाउन सक्छ र इण्डक्सन चुल्हो नेपालमा पनि प्रचलनमा आउन सक्छ । ग्यासमा परनिर्भरता चाहिँ इण्डक्सन चुल्होको व्यापक प्रयोगबाट हट्न सक्छ ।

अतस् भविष्यको बारेमा सोच्दा चाहिँ इण्डक्सन चुल्होलाई धेरै उपयुक्त मान्न सकिन्छ । नयाँ घर बनाउदै हुनुहुन्छ वा परिर्वतनको सोचमा हुनुहुन्छ भने घरमा इण्डक्सन र ग्यास चुल्हो दुवै राख्नु ठीक हुन्छ ।

यसमा तपाईको मत