ग्याजेट विशेष

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

  नागरिक   2019-10-15

विश्वव्यापी कम्प्युटर बिक्रिमा अनपेक्षित रूपमा वृद्धि आएको छ र गत वर्षको तुलनामा यस त्रैमासिकमा १.१ प्रतिशत धेरै कम्प्युटरको बिक्रि भएको छ । गार्टनरले प्रकाशन गरेको एक प्रतिवेदनमा यसको बारेमा जानकारी दिईएको छ । 

गत वर्षको तेस्रो त्रैमासिकमा कम्प्युटरको बिक्रि संख्या ६ करोड ७० लाख रहेको थियो भने उक्त बिक्रि संख्या यस वर्ष बढेर ६ करोड ८० लाख पुगेको छ । यसबाट कम्प्युटर बिक्रि १.१ प्रतिशतले बढेको छ । सन् २०११ यता कम्प्युटरको बिक्रि निरन्तर रुपमा घट्दै आएको थियो । उक्त गिरावटको कारण स्मार्टफोनको बढ्दो प्रयोग रहेको थियो । तर गत वर्ष अर्थात् सन् २०१८ मा आएर मात्र कम्प्युटरको बिक्रि संख्यामा पहिलोपटक वृद्धि आएको थियो । 

विन्डोजको १० को रिफ्रेश चक्रको कारणले पनि कम्प्युटरको बिक्रि बढेको कुरा गार्टनरको प्रमुख अनुसन्धानकर्ताले बताएका छन् । यसै गरेर जापानमा मात्रै पनि कम्प्युटर बिक्रिमा ५५ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा ठूलो कम्प्युटरको प्रोसेसर निर्माता इन्टेलको बजारमा भएको प्रोसेसर अभावले पनि कम्प्युटरको बिक्रिलाई असर नगरेका पनि यस वृद्धिलाई अनपेक्षित मानिएको हो । चिन र अमेरिका बीच भइरहेको व्यापारसम्बन्धित मामिलाका कारणले पनि कम्प्युटरको बिक्रिमा गिरावट आउने आशा गरिएको थियो । 

कम्प्युटरको जगतमा कम्प्युटर प्रोसेसरको अर्को निर्माता एएमडीको दमदार प्रस्तुती देखिएको छ । इन्टेलको प्रोसेसरको कमी भएपनि एएमडीको प्रोसेसरमा भने खासै केही कमी आएको थिएन । इन्टेल कै कमजोर बजार उपस्थिती र प्रतिस्पर्धाले गर्दा पनि एएमडीले बजारको केही थप हिस्सा कब्जा गर्न सफल भएको छ ।

यो त्रैमासिकमा चिनिया कम्पनी लिनोभोले सबैभन्दा धेरै कम्प्युटर र ल्यापटपहरू बेच्न सफल भएको छ । यसै गरेर दोस्रो स्थानमा एचपी, तेस्रोमा डेल र चौथोमा एप्पल रहेको छ । एसुसले यस त्रैमासिकमा गत वर्षको तुलनामा १% बजार हिस्सा गुमाएको छ । 

एप्पलको ल्यापटप बिक्री पनि ३.७ प्रतिशतले घटेको छ यसर्थ गत वर्षको यही त्रैमासिकमा ७.९ प्रतिशत बजार हिस्स कब्जा गर्न सकेको एप्पलले यस वर्ष ७.५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । 

माइक्रोसफ्टको भने अमेरिका बाहिरका स्थानमा खासै राम्रो उपस्थिति रहेको छैन। विश्व बजारमा माइक्रोसफ्ट ७ औं स्थानमा परेको छ  । अमेरिकामा मात्र माइक्रोसफ्टले गएको त्रैमासिकमा ६ लाखवटाभन्दा बढी कम्प्युटर बेच्न सफल भएको छ- जुन गत वर्षको यही त्रैमासिकको तुलनामा १.४ प्रतिशतले बढी हो ।

मुख्य कम्प्युटर निर्माताहरूले पनि आफ्नो फाइदालाई केही हदले बढाउन सफल भएका छन् । यसको पछाडी कम्प्युटर पार्ट पुर्जाको घट्दो मूल्य रहेको छ ।

 

स्रोत: गार्टनर 


 

यसमा तपाईको मत