बजार संक्षेप

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

  नागरिक   2019-10-14

काठमाडौँ- लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । उनले काठमाडौं, ललितपुर, काभ्रेमा २३ अन्तर्राष्ट्रिय ब्रान्डेड कपडाका ३४ आउटलेट सञ्चालन गरेका छन्। पाण्डेले नेतृत्व गरेको आरपी ग्रुपले भारत, इटली, फ्रान्स, अमेरिका, जर्मनलगायत मुुलुकका चर्चित ब्रान्ड यहाँ बिक्री गर्छ। चाडपर्व नजिकिँदै जाँदा बजारमा दसैं तिहार  लक्षित सपिङ पनि सुरु भएको छ। दसैं, तिहारलाई लक्षित गरेर कपडा व्यवसायीले के कस्ता नयाँ–नयाँ डिजाइनका फेसनेबल कपडा ल्याएका छन्, बजारमा कपडाको माग कस्तो छ, नेपाली उपभोक्ताको रुचि, कपडा किन्दा ध्यान दिनुपर्नेलगायतका विषयमा आरपी ग्रुपका प्रबन्ध निर्देशक पाण्डेसँग नागरिक परिवारका लागि गरिएको कुराकानी :-

चाडपर्व सुरु हुँदैछ कपडाको व्यापार कस्तो छ ?
विगतको तुलनामा अहिले कपडाको व्यवसाय राम्रो भएको छ । दसैं, तिहारमा बजार ह्वात्तै बढ्छ । सबैले लत्ताकपडा, सर्ट, पाइन्ट, जुत्ता, ब्याग, साडी, कुर्तालगायत कपडाको सपिङ गर्छन् । दसैं तिहारमा परिवारका सबै सदस्यलाई नयाँ लुगा किन्ने प्रचलन छ। त्यसलाई लक्षित गरेर व्यापारीले सामान ल्याएका छन् । राम्रा समान डिस्प्ले गर्ने, भेराइटी राख्ने गरेका छन् । उपभोक्ताले आफ्नो छनोटअनुसार खरिद गर्छन् ।

यो सिजनमा कस्ता कपडा बढी बिक्री हुन्छन् ?
अहिले जाडो सुरु भएको छैन भने गर्मी पनि छैन । समरमा लगाउने कपडा नै धेरै बिक्री हुन्छ । उपभोक्ताले नयाँ डिजाइनका कपडा खोजिरहेका छन् । कपडा डिस्कलर नहोस्, क्वालिटी होस्, नयाँ डिजाइनको होस् भन्ने प्रयोगकर्ताको चाहना हुन्छ । विभिन्न डिजाइनका कपडाको माग बढी हुन्छ । नेपाली बजारमा ४५–५० अन्तर्राष्ट्रिय ब्रान्डका कपडा बिक्री हुन्छन् । 

उपभोक्ताको रुचि कस्ता कपडामा छ ?
अहिले कपडा लगाउने ट्रेन्ड फेरिएको छ । नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव देखिन्छ । सिन्की, बुडकट पाइन्टको माग बढिरहेको छ । युरोपको बजारमा आएका डिजाइनका कपडा यहाँका उपभोक्ताको छनोटमा परेको देखिन्छ । बडी फिटिङ कपडा रोज्ने गर्छन् । एचएनएम, जरा, सेलियोलगायतका ब्रान्डले नयाँ–नयाँ डिजाइन बजारमा ल्याएका छन् । तीनलाई उपभोक्ताले रुचाएको देखिन्छ । युरोपेली बजारको प्रभाव नेपाली उपभोक्तासम्म आइपुग्छ । महिलाहरुले अहिले हलुका कपडा लगाउन चाहन्छन् । विगतमा लेडिजले हेवी लगाउँथे । अहिले लाइट साडीलगायतका अन्य कपडा लगाउँछन् । पहिला लङ लगाउनेले अहिले छोटो रोजाइमा छ । यहाँ केटीहरुले डब्लु ओरलिया ब्रान्ड धेरै मन पराएका छन् । फ्रेन्च सिफन साडी रोजाइमा छ । कम आम्दानीहरुले सस्ता कपडा किनिरहेका हुन्छन् । 

नेपाली उपभोक्तामा कपडाप्रतिको ट्रेन्ड फेरिएको हो ?
केटा र केटीको कपडा रुचिको ट्रेन्डमा निकै परिवर्तन आएको छ । १८ देखि ४५ वर्ष उमेर समूहका युवायुवती लुगा किन्दा निकै संवेदनशील छन् । हरेकले फेसनेबल र ब्रान्डेड सामान खोजिरहेको छ । ब्रान्ड किनेपछि डिस्कलर नहुने । वासिङ मेसिनमा एकै पटक धेरै कपडा राख्दा एउटाको रंग अर्कोमा नसरोस् भन्ने चाहन्छन् । फिटिङ राम्रो हुनुपर्यो। व्यक्तित्व झल्काउनका लागि नयाँ डिजाइन र ब्रान्ड रोजाइमा छन्। नेपाली उपभोक्ताले ब्याग, जुत्ता, चप्पल, गन्जीदेखि लिएर लगाउने सबै सामानमा ब्राण्डप्रति आकर्षण बढिरहेको छ । ब्रान्डेड सामान टिकाउ, गुणस्तरीय भएकाले डिस्कलर हुँदैन, फिटिङ राम्रो हुने भएकाले सबैको आकर्षण बढेको हो । 

चाडपर्वमा कपडा किन्ने उपभोक्तालाई अफरहरु छन् ?
यो सिजनमा कम्पनीहरुले सेल अफर बन्द गर्छन् । चाडपर्वका बेला नयाँ डिजाइनका नयाँ प्रोडक्ट आउँछन् । व्यापारीले आफ्नो व्यापार बढाउनका लागि १० देखि २० प्रतिशतसम्म छुट त दिन्छन् । तर, अहिले नयाँ कपडा डिस्प्ले गरेका हुनाले खासै छुट दिँदैनन् ।

चाडपर्वमा कपडा धेरै बिक्री हुन्छ । उपभोक्ता मूल्यमा ठगिएको गुनासो गर्छन्, किन ?
ब्राण्डेड कपडाका आउटलेटमा त्यस्तो समस्या हुँदैन । खुल्ला बजारमा त्यस्तो गुनासो सुनिन्छ । पहिला नेपालको बजारमा पाँच सय रुपैयाँमा लिभाइज ब्रान्डको पाइन्ट पाइन्थ्यो । अहिले काठमाडौंमा त्यही पाइन्टलाई दुई हजार रुपैयाँ पर्छ । विगतमा विदेशी बजारमा बिक्री नभएर डम्प भएका सामान नेपाल आउँथे । अहिले त्यो बन्द भएको छ । त्यसैले उपभोक्तालाई त्यस्तो लागेको हो । डुब्लिकेट सामानलाई झुक्काएर बेचेका थिए । अहिले ओर्जिनल सामान मात्र आउने भएकाले उचित मूल्य तिर्दा महँगो लागेको हुनसक्छ । खुल्ला बजारमा डुब्लिकेट सामानलाई पनि चर्को मूल्य लिने प्रवृत्ति पनि छ । त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमन गर्नुपर्छ । ब्रान्डेड सामानमा उपभोक्ता ठगिने अवस्था छैन । किनकि अनलाइनमा मूल्य, कलर सबै हेरेर सामान किन्न आउटलेटमा आउँछन् ।

नेपाली बजारमा विदेशी कपडाको वर्चस्व छ किन ?
अन्तर्राष्ट्रिय बजारले ब्रान्डको विकास गर्छ । भारतजस्तो ठूलो अर्थतन्त्र भएको मुलुकले त धेरै आफ्नो ब्रान्ड बनाउन सकेको छैन । फेसनका लागि युरोप नै अग्रपङ्क्तिमा छ । हामी कहाँ पनि युरोपेली ब्रान्ड कै कपडा आउँछन् । नेपालमा उत्पादन गरेर यहाँको बजारले धान्न सक्दैन । निर्यात गर्नुपर्छ । छुट्टै ब्रान्ड तयार गर्नका लागि सजिलो छैन । नर्थ फेस अमेरिकी ब्रान्डको यहाँ डुब्लिकेट उत्पादन हुँदो रैछ । केही दिन अघि उसले बन्द गराएर गयो । उपभोक्ता सचेत भएका छन् ।

विदेशबाट डुब्लिकेट सामान ल्याएर बिक्री गरेको पनि सुनिन्छ नि ?
अहिले विदेशबाट सामान आयात गर्दा भन्सारले ओर्जिन सर्टिफिकेट मागिरहेको छ । सबै कागजात पेस गरेपछि मात्र भन्सार पास हुन्छ । विगतमा भन्सारबाट न्यून बिजिकीकरण, चोरबाटोबाट सामान आउँथ्यो । भन्सारमा कडाइ गरेपछि अब उपभोक्ताले ओर्जिनल सामान मात्र पाउँछन् । विगतमा चीनबाट डुब्लिकेट सामान नेपालमा ल्याएर थुपार्ने ट्रेन्ड थियो अहिले यस्तो काम बन्द भएको छ । उपभोक्ताले सुपथ मूल्यमा उच्चस्तरीय सामान पाएका छन् । अहिले ब्रान्डेड कपडाको व्यवसाय फस्टाएको छ ।

उपभोक्ताले कपडा किन्दा के कुरामा ध्यान दिनुपर्छ ?
दैनिक उपभोग्य वस्तु जस्तो कपडा दिनहुँ किन्ने वस्तु होइन । त्यही भएर कपडा किन्दा धेरै पक्षमा ध्यान दिनुपर्छ । फिटिङ, ब्रान्डेड कपडालाई प्राथमिकता दिनुपर्छ । ब्रान्डको बारकोड, मूल्य अनलाइनमा चेक गरेर खरिद गर्नुपर्छ ।

पछिल्लो समय अनलाइन सपिङ बढिरहेको छ । यसको प्रभाव कस्तो छ ?
उपभोक्ता काममा व्यस्त भएकाले आउटलेटमा पुग्न पनि समय छैन । त्यही भएर अनलाइनमा अर्डर गरेर अनलाइन सपिङ सेन्टरबाट सामान खरिद गर्छ । अनलाइनहरुले हामी जस्तै पसलबाट खरिद गरेर लगेर बिक्री गर्ने भएकाले कुनै असर भएको छैन । होमडेलिभरी हुने भएकाले प्रयोगकर्ताले घरमै बसेर सामान पाएका छन् ।

ब्रान्डेड सामानमा न्यून आम्दानी हुनेको पहुँच पुग्न सकेको छैन किन ?
हरेक क्षेत्रमा मूल्यवृद्धि भएको छ । ब्रान्डेड सामान धेरै महँगो मान्नुपर्ने अवस्था छैन । सस्तो कपडा किनेर छिटो फाट्ने भएकाले ब्रान्डेड कपडा टिकाउ पनि हुन्छ । आफैँ कपडा किनेर सिलाउँदा पनि महँगो भएकाले रेडिमेटमा सिलाउने खर्च पनि जोगिन्छ ।  अहिले नेपाली बजारमा सबैले किन्न सक्ने ब्रान्डका कपडा छन् । 

यसमा तपाईको मत