ग्याजेट विशेष

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

  नागरिक   2019-09-16

हुवावे र अमेरिका बीचको विवादको टुंगो अझैसम्म पनि लागेको छैन । हुवावेमाथि लगाइएको प्रतिबन्धका अनुसार हुवावेले अमेरिकाका कुनै पनि उत्पादन र सेवाहरू आफ्नो उत्पादनमा प्रयोग गर्न पाउने छैन । यस सेवा र उत्पादन अन्तर्गत गुगलको एन्ड्रोइड र माइक्रोसफ्टको विन्डोज पनि पर्छन ।

हुवावेले गुगलको एन्ड्रोइडलाई प्रतिस्थापन गर्नका लागि भनेर आफ्नै हार्मनी अपरेटिंग सिस्टम निर्माण गरेको छ र अब केही समय पछि रिलिज हुने हुवावेका स्मार्टफोनहरूमा यस अपरेटिंग सिस्टम प्रयोग भएको देख्न सकिने छ । तर ल्यापटप पनि निर्माण गर्दै आएको हुवावेले आफ्नो ल्यापटपका लागि माइक्रोसफ्ट विन्डोजको विकल्प भने निर्माण गरिसकेको छैन ।

माइक्रोसफ्ट विन्डोज बिगतको दुई दशकभन्दा धेरै समय देखि नै संसार कै सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम रहेको हो । नेटएप्लीकेसनका अनुसार माइक्रो विन्डोजको बजार हिस्सा लगभग ८८% को रहेको छ । एप्पलको म्याक अपरेटिंग सिस्टम, गुगलको क्रोम अपरेटिंग सिस्टम र अन्य थुप्रै लिनक्सका वितरणहरूले बाकि १२ % बजार हिस्सा मात्र कब्जा गर्न सफल भएका छन् ।

प्रतिबन्ध अगाडी रिलिज भएका हुवावेका ल्यापटपहरूमा माइक्रोसफ्टको विन्डोज १० इन्स्टल गरिएको थियो । तर प्रतिबन्ध पछि हुवावेले आफ्नो ल्यापटपहरूमा माइक्रोसफ्ट विन्डोजको सट्टा ओपन सोर्स लिनक्स इन्स्टल गरेर वितरण गर्न थालेको छ । हालको लागि लिनक्सको बजार हिस्सा केवल ३ प्रतिशत रहेको छ ।

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गरेको छ जुन लिनक्स कर्नलमा आधारित अपरेटिंग सिस्टमहरू मध्ये प्रचलित अपरेटिंग सिस्टम हो । डेबियन वितरणको चाइनिज संस्करण रहेको डिपिनलाई “सबैभन्दा आकर्षक डेस्कटप अपरेटिंग सिस्टमको” संज्ञा पनि दिईएको छ । हुवावेको मेटबुक १३, मेटबुक १४ र मेटबुक एक्स प्रो मोडलहरूमा यही अपरेटिंग सिस्टम इन्स्टल इन्स्टल गरेर बिक्रि हुन थालेको छ ।

हुवावेले ल्यापटपमा विन्डोज इन्स्टल गरेर वितरण नगरेपनि प्रयोगकर्ताले ल्यापटप खरिद गरेपछि माइक्रोसफ्ट विन्डोज इन्स्टल गर्न सक्नेछन् । माइक्रोसफ्टको विन्डोज १० नि:शुल्क मै माइक्रोसफ्ट कै वेबसाइटबाट डाउनलोड गर्न सकिए पनि आधिकारिक रुपमा विन्डोजलाई एक्टिभेट गरेर प्रयोग गर्नका लागि भने भारी रकम तिर्नु पर्ने हुन्छ ।

हुवावेका ल्यापटपमा इन्स्टल हुने भनिएको अपरेटिंग सिस्टम विन्डोजभन्दा निकै भिन्न अपरेटिंग सिस्टम हो । यसमा विन्डोजका लागि बनेका अधिकांस सफ्टवेयरहरू पनि चल्दैन । उदाहरणका लागि एडोब फोटोशप, माइक्रोसफ्ट अफिस आदि जस्ता सफ्टवेयरहरू यस अपरेटिंग सिस्टमका लागि उपलब्ध छैन । तर यस्ता सफ्टवेयरका विकल्पहरू भने धेरै उपलब्ध छन् र अधिकांस सफ्टवेयरहरू नि:शुल्कमा डाउनलोड गर्न र प्रयोग गर्न सकिन्छ ।

हुवावेले विन्डोज १० इन्स्टल गरेर बिक्री गरेका ल्यापटपहरू भने कुनै पनि समस्या बिना नै चल्नेछन् भने अपडेट गर्न पनि कुनै झन्झट हुने छैन । तर नयाँ हुवावेका ल्यापटपहरूमा विन्डोज कहिलेबाट इन्स्टल हुन्छ भन्ने कुराको भने केही पनि टुंगो छैन ।

स्रोत : एमएसपावरयुजर

 

 

 

 

यसमा तपाईको मत