ग्याजेट विशेष

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

  नागरिक   2019-09-21

अमेरिकी प्रतिबन्धका कारण हुवावेले गुगलको एप्सहरू नयाँ स्मार्टफोनमा राख्न नपाउने भएको छ । र, गुगल एप्स बिना नै हुवावेले आफ्नो नयाँ र निकै प्रतिक्षित फ्ल्याग्शिप स्मार्टफोनहरू लन्च गरेको छ । यी स्मार्टफोनका नामहरू हुवावे मेट ३० र हुवावे मेट ३० प्रो रहेको छ ।

हुवावेका यी दुई फ्ल्याग्शिप र फिचरयुक्त स्मार्टफोनहरूमा ओपन सोर्स ( सबैलाई उपलब्ध गराइएको ) एन्ड्रोइड इन्स्टल भएको हुनेछ - यस एन्ड्रोइड संस्करणलाई EMUI १० भनिएको छ । तर, यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् । जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल फोटोज आदिहरू पर्दछन् । यसर्थ, यी स्मार्टफोनहरूमा गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न र गुगलका कुनै पनि सेवाहरू प्रयोग गर्न मिल्ने छैन । यी एपहरूको सट्टा हुवावेले आफ्नै बेग्लै एप्सहरू यी नयाँ स्मार्टफोनमा उपलब्ध गराउने छ ।

यी स्मार्टफोनहरू खरिद गर्ने प्रयोगकर्ताले गुगल प्ले स्टोरको सट्टा हुवावे कै एप ग्यालेरीबाट एप्सहरू डाउनलोड गर्नु पर्ने हुन्छ । प्ले स्टोरको तुलनामा हुवावेको आफ्नै स्टोरमा निकै कम एप्सहरू रहेको छ - हुवावेको स्टोरमा ४५ हजार वटा एप्सहरू रहेका छन् भने प्ले स्टोरमा २५ लाखवटा एप्सहरू रहेका छन् । यसै गरेर इन्टरनेट चलाउनका लागि गुगल क्रोमको सट्टा हुवावे कै आफ्नै हुवावे ब्राउजर वा अन्य कुनै ब्राउजर प्रयोग गर्नु पर्ने हुन्छ । युट्युबमा भिडियो हेर्नका लागि पनि युट्युब एपको प्रयोग गर्न मिल्ने छैन । गुगलका एप्स र सेवाहरूको विकल्प निर्माण गर्नका लागि हुवावेले १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने भएको छ ।

चिनमा गुगलका एप्सहरू पहिलेबाट नै प्रतिबन्धित छन् जसले गर्दा चिनका प्रयोगकर्ताले एप्सहरू बिगतका समय देखि नै अन्य एप स्टोरबाट डाउनलोड गर्दै आएका छन् । चिन बाहेकका अन्य देशहरूमा भने एप्सहरू डाउनलोड गर्नका लागि गुगलको आफ्नै प्ले स्टोर नै सबैभन्दा प्रचलित रहेको छ ।

यी स्मार्टहरूमा के के छन् विशेषता ?

सफ्टवेयर बाहेकको विषयमा हुवावेको मेट ३० र मेट ३० प्रो निकै दमदार हुने जस्तो देखिन्छ । हुवावेले यी दुवै स्मार्टफोनमा लाइक ब्राण्डका तीन र चारवटा क्यामरा सेन्सरहरू राखेको छ । मेट ३० मा तीनवटा मुख्य क्यामरा छ भने मेट ३० प्रो मा तीनवटा क्यामराको साथै एउटा थप थ्री डी सेन्सर पनि राखिएको छ ।  मेट ३० मा ४० मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको जुम लेन्स क्यामरा र १६ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा राखिएको छ । यसै गरेर मेट ३० प्रो मा ४० मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको जुम लेन्स क्यामरा र ४० मेगापिक्सल कै अल्ट्रा वाइड क्यामरा राखिएको छ । सेल्फीका लागि दुवै मोडलमा थ्री डी सेन्सरसँगै ३२ मेगापिक्सलको क्यामरा राखिएको छ ।

मेट ३० प्रो दुई मोडल मध्येमा ठूलो र महँगो मोडल हो । यसमा ६.६२ इन्चको ओलेड डिस्प्ले राखिएको छ । यसै गरेर सानो मेट ३० मा ६.५३ इन्चको उस्तै गुणस्तरको ओलेड डिस्प्ले राखिएको छ । दुवै मोडलहरू हुवावे कै नयाँ र फ्ल्याग्शिप प्रोसेसर हाइसिलिकन किरिन ९९० मा चल्छन् । मेट ३० प्रो ८ जीबी र्यामको मोडलमा उपलब्ध हुने छ भने मेट ३० ६ वा ८ जीबी र्यामको मोडलमा उपलब्ध हुने छ । दुवै मोडलमा हेडफोन ज्याक छैनन् र साधारण प्रकारको मेमोरी कार्ड लाग्दैनन् । १२८ जीबी वा २५६ जीबी आन्तरिक स्टोरेजलाई हुवावे कै आफ्नै मेमोरी कार्ड, न्यानो मेमोरीको सहयताबाट बढाउन सकिन्छ । मेट ३० प्रो मा ४५०० mAh को ब्याट्री राखिएको छ भने मेट ३० मा ४२०० mAh को ब्याट्री राखिएको छ । दुवै मोडलमा ४० वाटको फास्ट चार्जर उपलब्ध गराइने छ ।

 

 

यसमा तपाईको मत