घरेलु उपकरण विशेष

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

  नागरिक   2018-04-09

विभिन्न उपकरणहरुले हाम्रो घरेलु कामहरु धेरै सजिलो बनाइदिएको छ । यस कै प्रयोगबाट हामीले धेरै समय, मिहिनेत र पैसा पनि बचाउन सकेका छौं । तर घरेलु उपकरणहरुको बेठीक प्रयोगले गर्दा दुर्घटना हुन सक्छ जसबाट जनधनको क्षति हुन्छ । यस्तो दुर्घटना हुन नदिन हामीले घरेलु उपकरणहरुको प्रयोगमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । तल यस्तै केही घरेलु उपकरणको सुरक्षा टिप्सहरुको बारेमा जानकारी दिईएको छ:

 

फ्रिज

फ्रिजमा सबैभन्दा बढी डर आगलागी र सट सर्किटको हुन्छ । ठीक शैलीमा प्रयोग नगरेमा फ्रिजले सट सर्किट गराउन सक्छ। यस्तो हुन नदिन फ्रिजमा सधै भोल्टेज स्टेबलाइजरको प्रयोग गर्नुपर्छ। फ्रिजलाई कहिल्यै पनि पानीको सिधा स्रोतको नजिकै राख्नु हुदैन। फ्रिजको क्वाइललाई कहिल्यै पनि नाङ्गो हातले छुनु हुदैन र क्वाइललाई नियमित सफाइ गर्नु पर्छ । फ्रिजको सफाइ गर्नु परेमा सधै फ्रिजलाई विद्युतको सम्पर्कबाट छुटाउनु पर्छ । फ्रिजको ढोका कहिल्यै पनि खुल्लै छाड्नु हुदैन। 

 

ए. सी.

 

ए. सी.बाट असामान्य किसिमको आवाज आएमा, सामान्यभन्दा बढी कम्पन भएमा वा केहि अनौठो बास्ना आएमा ए. सी.को प्रयोग तुरन्तै रोक्नु पर्छ। ए. सी.लाई पनि बेग्लै भोल्टेज स्टेबलाइजरको आवश्यकता पर्छ र कुनै अन्य धेरै वाटको विद्युतीय उपकरण, जस्तै फ्रिज, संगै एकै प्लगमा जोड्नु हुदैन, सट सर्किटको जोखिम हुन्छ। ए. सी. को भेन्टिलेसन प्वालहरुमा केहि पनि हाल्नु हुदैन। ए. सी. लाई ओसिलो भित्तामा फिट गर्नु हुदैन । नियमित रुपमा ए. सी. को हावा फिल्टरलाई सफा गरिरहनु पर्छ।  

 

माइक्रोवेभ

माइक्रोवेभ प्रयोगमा आएको समयमा ढोकालाई खुल्ला राख्नु हुदैन । रित्तो माइक्रोवेभ कहिल्यै पनि प्रयोग गर्नु हुदैन । यदि ढोका बांगीएको छ भने मर्मत नगरी माइक्रोवेभ चलाउनु हुदैन । यसमा झोल कुराहरुलाई धेरै बेरसम्म उमाल्नु हुदैन । चलिरहेको बेलामा माइक्रोवेभको अगाडी उभिनु पनि उचित हुदैन । माइक्रोवेभमा धातुको भाँडाहरु प्रयोग गर्नु हुदैन । माइक्रोवेभको भित्री भाग नियमित रुपमा सफा गरिरहनु पर्छ, सानो फोहरले पनि धेरै समस्या पैदा गर्न सक्छ । माइक्रोवेभमा लिकेजको समस्या देखिएमा तुरुन्तै मर्मत गर्नुपर्छ ।

 

चुल्हो

चुल्हो, मुख्यतः ग्यास चुल्हो, प्रयोग गर्दा अति धेरै शतर्कता अपनाउनु पर्छ । यी चुल्होहरुलाई बालबच्चाको पहुँचबाट टाढा राख्नु पर्छ । चुल्हो प्रयोगमा नहुदा रेगुलेटर बन्द गर्नु पर्छ । भान्सा कोठामा हावाको संचालन राम्रो भएको हुनुपर्छ । चुल्होमा खाना बनाउदा पोलिस्टर जस्ता आगो चाडै टिप्ने कपडाहरु लगाउनु हुदैन ।  ग्यास चुल्होमा सबैभन्दा बढी डर ग्यास लिकको हुन्छ, त्यसैले नियमित रुपमा यसको जांचगरिरहनु पर्छ। आगो चाडै टिप्ने पदार्थ र वस्तुहरु, जस्तै पेट्रोल, मट्टीतेल, स्टाइरोफम आदि, चुल्होको नजिक ल्याउनु हुदैन । इण्डक्सन चुल्हो प्रयोग गर्नुहुन्छ भने विद्युतको तारमा विशेष ध्यान दिनु पर्छ । यसका लागि पनि बेग्लै भोल्टेज स्टेबलाइजरको प्रयोग गर्नु उचित हुन्छ ।

 

लाइट बल्ब

लाइट बल्ब फ्यूज हुनु सामान्य कुरा हो । कहिले र कतिबेला फ्यूज हुन्छ भन्ने कुरा थाह नहुने भएकाले घरमा १-२ वटा अतिरिक्त बल्बहरु राख्नु राम्रो हुन्छ । फ्यूज भएको बल्ब परिवर्तन गर्दा चाहिँ सो लाइटको स्विच अफ गरिदिनु पर्छ । भिजेको हातले कहिल्यै पनि बल्ब परिवर्तन गर्न तिर लाग्नु हुदैन । लाइट बल्बहरु पानी पस्न सक्ने स्थानमा राख्नु हुदैन । सी. एफ. एल. बल्ब भित्र मानव शरीरलाई हानि गर्ने मर्क्युरी हुन्छ, त्यसैले  सी. एफ. एल. बल्ब प्रयोग हुदाँ हुदैं फुटेको छ भने त्यो कोठाको झ्याल ढोका खुल्लै राख्नु पर्छ र ३० मिनटसम्म उक्त कोठामा जानु हुदैन । फुटेका बल्बका टुक्राहरु सफा गरिहाल्नु पर्छ । फ्यूज भएका लाइट बल्बहरु सुरक्षित स्थानमा व्यवस्थापन गर्नु पर्छ ।

यसमा तपाईको मत