बजार संक्षेप

हिमालय एअरलाइन्सको छोङ्छिङ उडान सुरु

  नागरिक   2020-01-24

काठमाडौ– नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एअरलाइन्सले दक्षिण पश्चिमी चीनको छोङ्छिङ उडान सुरु गरेको छ ।
बिहीबार त्रिभुवन विमानस्थलमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं–छोङ्छिङ सिधा उडानको उद्घाटन गरेका छन् । मन्त्री भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले रिबन काटेर उद्घाटन गरेसँगै हिमालयको एच नाइन ८७८ विमान उक्त गन्तव्यका लागि उडेको हो । 
चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर सिधा उडान सुरु गरेको एअरलाइन्स छोङ्छिङ चियाङ्पेइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
उक्त अवसरमा बोल्दै मन्त्री भट्टराईले नेपाल र चीनको द्विपक्षीय सम्बन्ध विस्तारमा हवाई सम्बन्ध महत्वपूर्ण हुने बताए । उनले गन्तव्य विस्तारबाट दुई देशबीचको पर्यटन क्षेत्रको विकासमा समेत सुधार हुने बताए । ‘हिमालय एअरलाइन्सले सेवा विस्तार गरेको छ । अव नेपाल एअरलाइन्सले पनि चीनको गोन्जाओ उडान भर्दैछ,’ उनले भने, ‘नेपाल र चीनबीचको सिधा हवाई सम्बन्धले थप पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्नेछ ।’ नयाँ बन्दै गरेका विमानस्थलमा समेत उडान भर्न आग्रह गर्दै उनले सेवा सञ्चालनमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
एअरलाइन्सका अध्यक्ष झाउइन योङले गन्तव्य विस्तार चिनियाँ पर्यटकका लागि नयाँ वर्षको उपहार बनेको बताए । ‘एअरलाइन्सले हालसम्म चीनका चार सहरबाट चार हजार दुई सय ४२ जना चिनियाँ यात्रुलाई नेपाल ल्याइसकेको छ । उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिधा उडानमार्फत अझ बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’
एअरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले चीन नेपालको मुख्य पर्यटन बजार रहेको बताउँदै त्यहाँको अन्र्य सहरमा भइरहेको  उडान विस्तारले पर्यटकलाई सिधा उडान मार्फत नेपाल भिœयाउन सजिलो हुने बताए । अबका दिनमा नयाँनयाँ विमान खरिद गरी अझ सेवा विस्तार गर्दै जाने लक्ष्य रहेको उनको भनाइ छ ।
‘थपिन लागेको नयाँ रुटबाट वार्षिक ५० हजार पर्यटक थप नेपाल भित्र्याउन सहयोग पुग्नेछ,’ उनले भने, ‘गन्तव्य विस्तारले सरकारको २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा टेवा पुग्नेछ ।
गत वर्ष अक्टोबरबाट काठमाडौँ –बेइजिङ उडान थालेको एअरलाइन्सले लगत्तै चीनका गुयाङ, चाङ्सा र सेन्जेनमा सेवा विस्तार लागेको थियो । काठमाडौँ –छोङ्छिङ सिधा उडानबाट व्यापारिक भिसामा ओहोरदोहोर गर्ने तथा पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको कम्पनीले जनाएको छ । एअरलाइन्सले सातामा तीन उडानमार्फत सेवा दिने जानकारी गराएको छ । 
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टबाट सञ्चालनमा आएको एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउने निजी वायुसेवा कम्पनी हो । अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाङं, चाङ्ंसा, सेन्जेन र छोडंछिङ विमानस्थलमा उडान भर्दै आएको कम्पनी हाल चीनमा उडान भर्ने एकमात्र नेपाली एअरलाइन्स हो । 

यसमा तपाईको मत