ग्याजेट विशेष

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

  नागरिक   2019-05-20

 

विश्वको दोस्रो ठूलो एन्ड्रोइड स्मार्टफोन निर्माता हुवावे माथि एन्ड्रोइडको निर्माता गुगलले प्रतिबन्ध लगाउने भएको छ । गुगलले हुवावेसँगको गुगल प्ले स्टोर र अन्य सेवा प्रयोग सम्बन्धि सम्झौता खारेज गर्ने भएको छ ।  उक्त प्रतिबन्ध अन्तर्गत हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको स्वामित्वमा रहेको कुनै पनि सेवा र एपहरूको प्रयोग गर्न पाउने छैन । गुगलले ओपन सोर्स बनाएर राखेको सेवा र एपहरू मात्र हुवावेले प्रयोग गर्न सक्नेछ । 

 

हालै संचालनमा आएका हुवावेका स्मार्टफोनहरूले गुगलको सेवाहरू प्रयोग गर्न पाउनेछन् तर उक्त स्मार्टफोनमा एन्ड्रोइडको नयाँ संस्करण आउने नआउने निश्चित छैन । यसबाट हुवावेले गुगलका कुनै पनि सेवा र सुविधाहरू प्रयोग गर्न पाउनेछैन । यस सेवा अन्तर्गत गुगलको प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् । हुवावेको नयाँ स्मार्टफोनहरूमा ओपन सोर्स संस्करणको एन्ड्रोइड मात्र चल्न पाउनेछन् - उक्त संस्करणमा गुगलको कुनै पनि सेवा समावेश गरिएको छैन । गुगलले हुवावेलाई आफ्नो स्वामित्वमा रहेको एपहरू प्रयोग सम्बन्धि कुनै पनि प्रकारको प्राविधिक सेवा र सहयोग प्रदान गर्ने छैन ।

 

हुवावेले अहिलेसम्म चिनमा गुगल प्ले स्टोर र अन्य एप्सहरू नभएको स्मार्टफोनहरू बिक्रि वितरण गर्दै आइरहेको छ । तर चिन बाहेक अन्य देशहरूका हुवावे र अन्य एन्ड्रोइड स्मार्टफोनहरूले गुगल कै सेवा प्रयोग गर्छन् । हुवावेले एन्ड्रोइड र विन्डोजको प्रतिस्थापनका लागि पनि आफ्नो बेग्लै अपरेटिंग सिस्टम पनि बनाएको छ जुन हालसम्म चिन बाहेकका बजारमा उपलब्ध स्मार्टफोनहरूमा प्रयोगमा आएको छैन ।

 

स्रोत: रिउटर्स




 

यसमा तपाईको मत