अटो विशेष

भारतमा फोर्डको उत्पादन हुने

  नागरिक   2021-09-10

फोर्डले भारतमा आफ्नो उत्पादन बन्द गर्ने भएको छ। केही समय अघिदेखि नै अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भारतमा उत्पादन बन्द गर्ने हल्ला चलेको थियो। बिहिबार भने कम्पनीले भारतमा आधिकारिक रुपमै आफ्नो सवारी साधन उत्पादन सेवा बन्द गर्ने घोषणा गरेको हो। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले सन् २०२२ को दोस्रो त्रैमासिकसम्ममा भारतमा हुँदै आएको आफ्नो सम्पूर्ण उत्पादन काम बन्द गर्नेछ।

फोर्डको फिगो, इकोस्पोर्ट, फ्रिस्टाइल र इन्डेभोर गाडीहरूको सम्पूर्ण उत्पादन काम रोकिनेछ। यसर्थ कम्पनीले यी गाडीहरूको स्टक सकेसँगै बिक्री बन्द गर्नेछ।  सन् २०२१ को अन्त्यबाट गाडीको निर्यात पनि बन्द हुनेछ। भारतबाट फोर्डको उत्पादन र निर्यात बन्द भएपनि भारतीय बजारमा भने फोर्डका सवारी उपलब्ध हुने बताइएको छ। यसको लागि कम्पनीले अन्य राष्ट्रहरूबाट सिबियू मोडलमा गाडी आयात गर्नेछ। 

त्यस्तै फोर्ड इन्डियाले आफ्नो हालको ग्राहकहरूमा सेवा यथावत प्रदान गर्नेमा प्रतिबद्धता जनाएको छ। ‘फोर्डले अहिले भएका ग्राहकहरूमा सेवा पुर्याउनेछ। यसको लागि फोर्डको नजिकका डिलरहरूसँग काम गर्नेछौं, फोर्ड मोटर कम्पनीका अध्यक्ष एवम् सिइओ जिम फ्यार्लेले भने, भारतमा उल्लेखनीय लगानीको बावजुद विगत १० बर्षमा हामीलाई २ अरब डलरभन्दा बढी रकम घाटा भएको छ।

त्यस्तै नयाँ सवारी साधनको माग पनि पूर्वानुमानभन्दा धेरै कमजोर छ। भारतमा फोर्डको वार्षिक ४ लाख गाडी उत्पादन गर्न सक्ने क्षमता भएको दुईवटा प्लान्ट छन्। तर कम्पनीले सोचेजति बजारमा फोर्डको माग भएन। त्यस्तै उत्पादन कम भयो। धेरै लगानी गरेपनि त्यसबाट कम्पनीले राम्रो प्रतिफल पाएन। उल्टो २ अर्बभन्दा बढी रकम नोक्सान भयो। त्यसै कारण पनि कम्पनीले भारतमा आफ्नो उत्पादन काम बन्द गर्न बाध्य भएको बताइएको छ।

भारतमा फोर्डको उत्पादन काम बन्द भएसँगै झन्डै ४ हजार कर्मचारीलाई प्रतक्क्ष असर देखिनेछ। हाल फोर्ड इन्डियामा ११ हजारभन्दा बढी कर्मचारीहरू छन्। 

फोर्ड भारतीय बजारमा सन् १९९५ मा प्रवेश गरेको हो। सुरुमा यसले महिन्द्रासँग साझेदारी भारत प्रवेश गरेको थियो। तीन वर्ष पछि भने फोर्डले एकल रुपमा उत्पादन र अन्य काम सुरू गरेको हो।
एजेन्सी

यसमा तपाईको मत