ग्याजेट विशेष

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

  नागरिक   2019-01-11

स्मार्टफोन भन्नु कि ट्याब्लेट, जे बनायो त्यही बन्ने किसिमको स्मार्टफोन अथवा ट्याब्लेट रोयोल नाम गरेको कम्पनीले रिलिज गरेको छ । यस स्मार्टफोनको नाम हो रोयोल फ्लेक्स पाई । यो स्मार्टफोनमा फोल्ड गर्न मिल्ने डिस्प्ले राखिएको छ । फोल्ड गरे पछि यस स्मार्टफोनलाई साधारण स्मार्टफोन जसरी नै चलाउन मिल्छ भने फोल्ड हटाएपछि यस स्मार्टफोनलाई ट्याब्लेट जसरी प्रयोग गर्न पनि मिल्छ ।

यस स्मार्टफोनमा १९२० x १४४० रेजोलुसनको एमोलेड डिस्प्ले प्रयोग गरिएको छ । स्मार्टफोनको पछाडीको बीचको भागमा फोल्ड गर्नलाई हिंज छ जुन हिंजको सहायताबाट स्मार्टफोन फोल्ड अनफोल्ड हुन्छ । ट्याब्लेट मोडमा चलाउदा यो स्मार्टफोनको डिस्प्ले ७.८ इन्चको रहेको छ । फोल्ड गरेर चलाउदा उक्त स्मार्टफोनको साइज घटेर आधा जति हुन्छ । फोल्ड गरे पछि जता पट्टिको डिस्प्लेलाई प्रयोग गरे पनि हुन्छ । प्रयोगकर्ताले प्रयोग गरे अनुसार नै डिस्प्लेलाई सुचारु गरिन्छ । फोल्ड गरेपछि डिस्प्ले पूर्ण रुपमा फ्ल्याट हुँदैन र बीचमा एउटा ठूलो खालि स्थानको सिर्जना हुन्छ जसले गर्दा स्मार्टफोन जसरी चलाउन अलि अफ्ट्यारो हुन सक्छ  ।

यो स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्छ । रोयोलले प्रयोग गरेको सफ्टवेयरको नाम हो वाटर वोएस, जुन एन्ड्रोइड कै परिमार्जित रुप हो । यस स्मार्टफोनको हाल चिनमा मात्र उपलब्ध छ र मूल्य ९ हजार युवान तोकिएको छ - लगभग नेरु १,५०,००० ।

रोयोलले स्मार्टफोनका लागि मात्र नभएर अन्य थुप्रै उपकरण र वस्तुहरुमा प्रयोग गर्न मिल्ने किसिमको फोल्ड गर्ने मिल्ने डिस्प्ले ल्याएको छ । रोयोलका डिस्प्लेहरु निकै पातलो हुनुका साथै लचकता धेरै भएकै कारणले नै उक्त डिस्प्ले फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाउन प्रयोग गरीएको हो । 'कन्जुमर इलेक्ट्रोनिक शो' रोयोलले आफ्नो फोल्ड गर्न मिल्ने डिस्प्लेलाई टि-सर्ट, टोपी आदि कुराहरुमा पनि प्रयोग गरेर देखाएको छ ।

सायोमी, एलजी र सामसंगले पनि फोल्ड गर्न मिल्ने स्मार्टफोन रिलिज गर्ने तयारीमा छन् । तर यी कम्पनीको फोल्ड गर्न मिल्ने स्मार्टफोन कहिले रिलिज हुन्छ भन्ने कुराको चाहिँ केहि टुंगो छैन ।

तस्विर: ‘द भर्ज’बाट

 

यसमा तपाईको मत