ग्याजेट विशेष

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

  नागरिक   2019-10-19

अहिलेको सबैभन्दा प्रचलित ब्राउजर अर्थात् गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ । उक्त निकायको नाम जर्मन फेडेरल अफिस फर इन्फर्मेसन सेक्युरिटी रहेको छ अर्थात् BSI रहेको छ ।

BSI ले फायरफक्स, गुगल क्रोम, माइक्रोसफ्ट एज र माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोररको परिक्षण गरेर यस्तो निष्कर्ष निकालेको हो । परिक्षणमा गुगल क्रोमको ७६ संस्करण, फायरफक्सको ६८ संस्करण, इन्टरनेट एक्सप्लोररको ११ संस्करण र माइक्रोसफ्ट एजको ४४ औं संस्करण प्रयोग गरिएको छ ।

यस परिक्षणमा एप्पलको सफारी, ओपेरा, भिभाल्डी र ब्रेभ जस्ता ब्राउजर समावेश गरिएका छैनन् । तर, ओपेरा, भिभाल्डी र ब्रेभ ब्राउजरले गुगल क्रोम कै क्रोमियम इन्जिन प्रयोग गर्ने भएकाले यिनीहरू पनि उतिकै नै असुरक्षित हुन सक्ने सम्भावना रहेको छ ।

परिक्षण गर्ने निकायले फायरफक्स निकै सुरक्षित ब्राउजर रहेको निष्कर्ष निकालेको छ । फायरफक्स एक नि:शुल्क र ओपन सोर्स ब्राउजर हो जुन विन्डोज, म्याक ओएस, एन्ड्रोइड, आइ ओएस र लिनक्समा डाउनलोडका लागि उपलब्ध छ । प्रयोगकर्ताले कम्प्युटरबाट Firefox फायरफक्सको वेबसाइटमा गएर वा स्मार्टफोनको एप स्टोरमा गएर फायरफक्सलाई डाउनलोड गर्न सक्नेछन् ।

BSI ले नयाँ ब्राउजरलाई सुरक्षित मानिनका लागि उक्त ब्राउजरमा २१ वटा सुरक्षाका फिचरहरू हुनु पर्ने बताएको छ । निकायले उल्लेख गरेको २१ वटै सुरक्षाका फिचरहरू पूरा गर्न सक्ने एक मात्र ब्राउजरमा फायरफक्स रहेको छ । अन्य ब्राउजरहरूले दुई देखि पाँचवटासम्म सुरक्षाका फिचरहरूमा सम्झौता गरिएको भेटिएको छ । माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोररमा पनि धेरै सुरक्षाका फिचरहरू नभएता पनि यो ब्राउजर खासै प्रचलित ब्राउजर होइन ।

अहिले ८० प्रतिशत जति ब्राउजर हिस्सा कब्जा गर्न सफल क्रोम ब्राउजरमा आवश्यक पर्ने जति सुरक्षाका फिचर नहुनाले अधिकांस इन्टरनेट प्रयोगकर्ताहरू असुरक्षित रहेका छन् । इन्टरनेटमा आफ्नो सुरक्षा रुचाउनेले गुगल क्रोमको सट्टा फायरफक्स ब्राउजर प्रयोग गर्नु उचित हुने निष्कर्ष BSI ले निकालेको छ ।

 

यसमा तपाईको मत