बजार संक्षेप

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

  नागरिक   2019-12-05

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुस यस क्षेत्रले गरेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध बलियो र दिगो बनाउन सक्छ ।’
उनले यस किसिमको सोचले देशमा औद्योगिक प्रवर्दन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने भन्दै यस सम्बन्धलाई थप बलियो र भरपर्दाे बनाउन थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।
उनले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरुले पनि यही रुपमा व्यवहार गरिरहेको उल्लेख गरे ।
उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुन कार्यान्वयनको चरणमा रहेको बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि बढनुपर्ने उनले बताए ।
उपाध्यक्ष ढकालले भने, ‘श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आइपुगेको हो र विगतको असहज परिस्थिति र अप्ठेराहरु पनि हामीले भोगेकोले आगामी दिनलाई सहज बनाउँदै लैजानुपर्छ ।’
आफूहरु असल श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गर्ने उद्देश्यका साथ निरन्तर सहकार्य गर्दै आएको उनले बताए । ‘श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ हामी सँगै अघि बढ्न तयार छौं,’ उनले भने ।
साथै ढकालले भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरु लागि परेको पनि बताए । विगतमा भएको सहमति र सहकार्यलाई मुलुकको औद्योगिक क्षेत्रले नबिर्सेको उनको भनाइ थियो ।
उनले भने, ‘परिवर्तनलाई आत्मसात गर्न सजिलो हुँदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै बढीभन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौं । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौं ।’
 

यसमा तपाईको मत