अटो विशेष

नाडा अटो सोमा ८१ हजार दर्शक

  नागरिक   2019-09-02

काठमाडौं– भदौ १० देखि १५ सम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको नाडा अटो सो २०१९ आइतवार सम्पन्न भएको छ । 
१४औं संस्करणको अटो सो ८१ हजार अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गरेको आयोजकले जानकारी गराएको छ । विगतमा जस्तो यसपटक कति व्यापार तथा कति गाडी बुकिङ भए भन्ने नखुलाइए पनि पहिलेको भन्दा राम्रो व्यापार भएको आयोजकको दाबी छ ।
उक्त अटो सोमा यसपटक विगत जस्तै उत्कृष्ट स्टल तथा उत्कृष्ट चारपांग्रे र दुईपांग्रे सवारीको भने छनोट गरिएकोे छ । 
चारपांग्रेतर्फ युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटा छानिएको छ । दुईपांग्रेतर्फ हुलास चन्द गोल्छाको केटिएम ड्युक बाइक छनोट भएको आयोजकले जनाएकोे छ । त्यस्तै, स्पेयर पार्टसतर्फ उत्कृष्ट स्टल टोटल ल्युब छनोट भएको छ भने उत्कृष्ट स्टलको उपाधि लोटल लुब्रिकेन्टसको अटो कम्पोनेन्ट सपोर्टिङले पाएको छ ।
यसपटकको अटो सोमा भाग लिएका हरेक कारोबारीलाई स्टलबाइज सोध्नुपर्ने भएका कारण कतिको कारोबार भयो भन्ने नखुलाइएको जनाइएको छ । विगतमा भन्दा यो पटकको अटो सोमा प्रर्दशनस्थल बढाइएका कारण अवलोकनकर्ता तथा प्रदर्शकलाई सजिलो भएको आयोजकले जानकारी गराएको छ । प्रशस्त व्यवस्थित पार्किङ सहित आकासे पुलको व्यवस्था गरिएकाले अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकको दाबी छ ।
अटो सोमा नयाँ तथा विद्युतीय सवारीमा अवलोकनकर्ताको विशेष रुचि देखिएको आयोजकले जनाएको छ । अटो सो अटोमोबाइलका ४१ सहित बैंक तथा वित्तीय संस्था गरेर ९५ कम्पनीको सहभागिता थियो । 
 

यसमा तपाईको मत