भिडियो

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

  बिश्वास खनाल   2020-01-20

काठमाडौं - करिब दुई अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै नेपाल बिल्ड एक्स्पो २०२० आइतबार सकिएको छ। भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले एक्स्पो भव्यतासाथ सम्पन्न भएको दाबी गरे। ‘एक्स्पोले निर्माण व्यवसायीको क्षमता वृद्धि गर्ने काम गरेको छ,’ उनले भने, ‘एक्स्पोले नाफाभन्दा पनि ब्रान्डिङ गर्न सफल भएको छ ।’ महासंघले पहिलो अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सफलता हात पारेकाले आगामी वर्षमा पनि निरन्तरता दिने जनायो। एक्स्पोमा देशभरका ३५ भन्दा धेरै निर्माण व्यवसायीले अवलोकन गरेका थिए। अन्य सर्वसाधारणले अवलोकन गरेका थिए।

‘निर्माण व्यवसायीले एक्स्पोमा निर्माण सामग्री किनमेल गर्ने अवसरको रुपमा उपयोग गरेका थिए,’ उनले भने, ‘एउटै छानोमुनि विभिन्न कम्पनीका निर्माण सामग्री र उपकरणबारे जानकारी लिन पाएका थिए।’ अध्यक्ष सिंहले एक्स्पोले निर्माण व्यवसायीमा सकारात्मक प्रभाव पारेको दाबी गरे। ‘एक्स्पोले निर्माण व्यवसायीमा सकारात्मक ऊर्जा थप्ने काम ग-यो,’ उनले भने, ‘आगामी वर्षमा पनि एक्स्पोलाई अझै बृहत र अन्य धेरै पक्षलाई समावेश गराउने लक्ष्य राखेका छौं।’

अध्यक्ष सिंहले आगामी एक्स्पोमा जलविद्युत्का प्रवद्र्धक कम्पनी, सिमेन्ट उद्योग, क्रसर उद्योग लगायत अन्य धेरै क्षेत्रलाई समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘यो एक्स्पोमा केही कमजोरी भए होलान्,’ उनले भने, ‘कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा आयोजना गर्ने एक्स्पोमा थप परिष्कृत गर्दै अघि बढ्नेछौं।’

महासंघको २१ औं साधारणसभाले ४२ बुँदे भक्तपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। अध्यक्ष सिंहले ४२ बुँदे घोषणापत्रमा सार्वजनिक खरिद ऐन पूर्वाधारमैत्री ल्याउनुपर्ने लगायत माग राख्दै सम्पन्न भएको बताए।

यसमा तपाईको मत